© २०२३
यो बर्षको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएपछि आम सर्वसाधारणमा चिन्ता उत्पन्न हुनु स्वाभाविक छ । यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्का अनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्दछ । यो बर्ष मनसुनमा औसतभन्दा बढी पानी पर्ने भएपछि प्राकृतिक प्रकोपको जोखिम बढ्ने सम्भावना छ । पानी धेरे पर्दा हिमाली र पहाडी भेगमा पहिरो जाने तथा तराईमा बाढीको उच्च जोखिम हुने मौसमबीदहरूले चेतावनी दिएका छन । यसैपनि सामान्यभन्दा बढी पानी पर्न सक्ने मौसमविद्को प्रक्षेपणले बाढी पहिरोको चुनौती बढ्ने खतरा छ भने केही समयअघि डढेलोले नाङ्गो बनाएका डाँडा पखेरामा पहिरोको जोखिम उत्तिकै छ ।
बढी पानी पर्ने प्रक्षेपण गरिएपछि सरकारले बर्षाबाट हुने जोखिम न्यूनिकरण गर्न पूर्व तयारी गर्नुपर्ने हो तर अहिलेसम्म त्यसतर्फ कुनै छनकसम्म छैन । बर्षा धेरै भए विपदका घटना बढ्ने जोखिम रहँदा प्रभावित क्षेत्रमा पर्न सक्ने असर र हुनसक्ने क्षतिको आंकलन गरेर पूर्व तयारीमा जुट्ने बेला भईसकेको छ । यसअघि मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्वतयारी गर्न नसक्दा प्राकृतिक विपदका घटनाका कारण धेरै जनधनको क्षति भएको विर्सन सकिदैन । अहिलेसम्म वर्षायाममा हुन सक्ने विपद्को लागि पूर्वतयारी केही भएको छैन । मनसुनी प्रकोपको पूर्वतयारी गरेर विपद् सामना गर्न संघीय, प्रदेश र पालिकाहरूले तयारी गर्नुपर्ने हो । तर, अहिलेसम्मको तीन तहमध्ये कुनैपनि सरकारले त्यसतर्फ ध्यान दिएको देखिएको छैन । त्यसो त अहिले बिपदजन्य घटनाको पूर्वानुमान धेरै मिल्न थालेको छ । त्यसकारण बाढी, पहिरो लगायतको प्राकृतिक प्रकोपबाट बच्न धेरै हदसम्म सजिलो पनि छ तर पूर्व तयारी गरिएन भने जोखिम कायमै रहने हुनाले प्राकृतिक जोखिम पूर्व तयारीमा ध्यान दिनु जरुरी छ । विगतमा पनि विपतजन्य घटनाबाट हुनसक्ने क्षति कम गर्न पूर्व सूचना प्रणालीको अभ्यासले सहयोग पु¥याएको हो । त्यसैले मौसम पूर्वानुमान विश्लेषण अध्ययन गरी जोखिम क्षेत्रका पालिकालाई सहभागी गराएर सूचना प्रवाहको दायरा बढाउँदै लग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको योजना छ । त्यसैपनि नेपालमा हरेक बर्ष बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नयाँ कुरा होइन । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको बुटवलको उदाहरण काफी छ । पूर्वी पहाडी जिल्लामा प्रकोपजन्य जोखिम सुरु भैसकेको छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।
हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरूपमा न्यूनीकरण गर्दै जानुपर्ने भएतापनि उक्त कार्यमा अपेक्षित प्रगति हुन नसकेको व्यवस्थापिका संसद्को विकास समितिले समेत निष्कर्ष निकालेको छ । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरू) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्वतयारी एवं पूर्व सावधानीसहितको कार्ययोजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नुपर्ने जरुरी छ । अतः प्राकृतिक प्रकोपवाट हुने क्षति न्यूनीकरणको लागि अव पूर्व तयारीमा ध्यान दिन ढिलाई गर्नु हुँदैन । त्यसै त यो बर्ष आम नेपाली नागरिकलाई मौसम पूर्वानुमान शाखाले झस्काईदिएको छ । अत तीनै तहका सरकार र स्थानीय जनताले पनि प्राकृतिक प्रकोपको जोखिम कम गर्नेतर्फ काम गर्नुपर्दछ ।