© २०२३
बुटवल, २४ बैशाख ।
नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या भने ५२ वटा रहेको छ ।
नेपालमा आन्तरिक उडानतर्फ नौवटा वायुसेवा (फिक्स्ड विङ) कम्पनी र १२ वटा हेलिकोप्टर (रोटर विङ) रहेका छन् । बुद्ध एयरसँग १४ वटा एटिआर–७२ र एटिआर–४५२ तथा दुईवटा साना जहाज छन् । श्री एयरलाइन्ससँग ठूला आठवटा जहाज छन् भने यती एयरलाइन्ससँग पाँचवटा एटिआर–७२, सौर्यसँग तीनवटा जहाज छन् । यतीका ६ जहाजमध्ये एउटा पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
यस्तै, दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने साना जहाजहरू समिट एयरसँग चार, तारा एयरसँग तीन, सीता एयरसँग चार, गुण एयरलाइन्ससँग सात र नेपाल वायुसेवा निगमसँग दुईवटा जहाज छन् । तारासँग चारवटा साना जहाज रहेकामा एउटा जहाज १५ जेठमा मुस्ताङमा दुर्घटनाग्रस्त भयो । नेपाल एयरलाइन्ससँग रहेका पाँचवटा चिनियाँ जहाजहरू अहिले घाम तापेर बसिरहेका छन् ।
नयाँ–नयाँ विमानस्थल निर्माण गर्न नयाँ मन्त्री आएपछि सँधै प्राथमिकतामा पर्ने गरेको छ । कतै आवश्कयता पर्ने स्थानमा वर्षौंसम्म पनि विमानस्थल निर्माण र संचालन नहुने तर आवश्यकता नै नपर्ने स्थानमा भने धमाधम विमानस्थल निर्माण गर्ने संस्कृतिको विकास हुँदै गएको छ ।
नेपालमा यात्रु संख्याका हिसावले तराई भेगका विमानस्थलमा अधिक भीडभाड छ । यसबाहेक पर्यटकीय क्षेत्रमा रहेका विमानस्थल बढी व्यस्त छन् । नेपालमा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययन नै नगरी मतदाता रिझाउन नेताको दबाबमा धमाधम एयरपोर्ट निर्माण गरिएका छन् । हरेकजसो मन्त्री वा सांसदले आफ्नो जिल्लामा विमानस्थल लैजान तीव्र लबिङ गर्ने गरेका छन् । तर, राजनीतिक शक्तिका भरमा एयरपोर्ट निर्माण गरेर सञ्चालनमा ल्याइए पनि त्यसको सञ्चालन, संरक्षण र हवाई सुरक्षामा भने त्यति चासो दिएको पाइँदैन ।
देशमा बनाइएका ११ विमानस्थलको लगानी खेर जाने महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा औँल्याएको छ । नेपालमा हिमाली र पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल दूरीमा विमानस्थल हुनुपर्छ । तर, डोल्पाको जुफाल र मसिनेचौर, गुल्मी, ओखलढुंगाको खिजी र चण्डेश्वरी, रामेछाप, फाप्लु, कागेलडाँडा, रुम्जाटार, कालिकोट र साँफेबगर विमानस्थलले मापदण्ड पूरा नगर्ने हुँदा नियमित उडान–अवतरणमा समस्या हुने महालेखाको जिकिर छ ।
बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार, गुल्मी, जिरी, कमल बजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनोचौर (डोल्पा), मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे र टीकापुर विमानस्थलमा उडान हुँदैन । अर्घाखाँची र कालीकोटमा पनि प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन नगरी विमानस्थल निर्माण सुरु गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, नेपालगन्ज, बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा (जुफाल), डोटी, फाल्गुनन्द सुकिलुम्बा (इलाम), जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, लुक्ला, थामखर्क र तुम्लिङटार विमानस्थल मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका विमानस्थल पनि धेरैमा निकै न्यून मात्र उडान हुने गरेको छ । कतिपय विमानस्थलमा सातामा एक–दुईवटा मात्र उडान हुने गरेका छन् ।
नेताहरूले आफ्नो जिल्लामा एयरपोर्ट आयोजना लागेको विषयलाई नकारात्मक रूपमा लिन नहुने भए पनि एयरपोर्ट निर्माणपछि सञ्चालन, संरक्षण र हवाई सुरक्षामा उनीहरूले उल्लेखनीय चासो नदिनु चिन्ताको विषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम बताउँछन् ।