© २०२३
बर्दिया, ०९ मंसिर ।
राजापुर नगरपालिकामा रहेको किसान माविमा शौचालयको अभाव हुँदा पठनपाठन प्रभावित भएको पाइएको छ । राजापुर नगरपालिका ५, खल्लाजयपुर स्थित उक्त माविमा शौचालय जान पालो कुनुपर्छ । विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी दैनिक करिब ५ सय जनाले दैनिक शौचालयको प्रयोग गर्दै आएको छन् । तर विद्यालयका एउटै भवनमा छात्राछात्र र शिक्षक÷कर्मचारीको शौचालय रहेको हुँदा पालो पालो शौचालय जानुपर्ने बाध्यता रहेको छ ।
किसान माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत शान्ति चौधरीले विद्यालयमा रहेको शौचालयमा एउटै भवन र सबै शौचालयको ढोका एकैतिर भएको हुँदा शौचालय भित्र सजिलै देखिने समस्या भएकोले छात्रा र छात्र पालो पालो शौचालयमा जानुपर्ने बाध्यता रहेको बताईन । उनले भनिन – ‘शौचालय जाँदा पाँचदेखि १० मिनेट पर्खिनु पर्छ । छात्रहरू शौचालय गएका रहेछन् भने हामी शौचालय बाहिर कुनुपर्छ ।’ शौचालयको पालो पर्खिंदा १० मिनेटभन्दा बढी समय लाग्ने र उता सरले पढाइ रहेको समयमा कक्षामा जानुपर्ने बाध्यता रहेको चौधरीले बताईन । कक्षामा जाँदा सरले पढाइको विषय बस्तु छुट्ने र छुटेको विषय बस्तु बुझ्न समस्या हुने चौधरीको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक देविराम अधिकारीले विद्यालयमा शौचालयको व्यवस्था रहे पनि छात्रा, छात्र र शिक्षकको शौचालय एकै ठाउँमा भएकोले छात्राहरू जाँदा छात्रहरू जान नसक्ने र छात्रहरू जाँदा छात्राहरू जान नसक्ने भएकोले विद्यायलको पठनपाठन प्रभावित भएको बताए । उनेले भने – ‘कक्षामा पढाइ भइरहेको हुन्छ । शौचालयमा पालो पर्खँदा विद्यार्थीहरू कक्षामा १०/१५ मिनेट ढिलो पुग्ने गरेका छन् ।
पढाइ भइरहँदा विद्यार्थीहरू कक्षामा प्रवेश गर्दा पठनपाठनमा प्रभावित हुने गरेको छ ।’
विद्यालयमा शौचालयको प्रमुख समस्या रहेको विषयमा सरोकार निकायलाई समेत जानकारी गराएको भए पनि खासै समस्याको सामधान नभएको प्रधानाध्यापक अधिकारी बताए । उनले छात्रा, छात्र कर्मचारीको लागि छुट्टाछुट्टै शौचालय आवश्यक भएको बताए । उनलेले भने – ‘स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापन गरेको छ । विद्यालयको आफ्नो स्रोत छैन । त्यसकारण विद्यालयको छुट्टाछुट्टै शौचालय बनाउने चाहना भए पनि विद्यालयले शौचालय निर्माण गर्न सक्दैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरीले विद्यालयमा शौचालय भएर पनि असहज भएको बताए । उनले विद्यालयमा पढ्न आउने छात्राछात्रलाई एकै पटक शौचालय जान परेमा छात्र वा छात्रा मात्र जान सक्ने अवस्था रहेको बताए । विद्यालयमा आउने आगन्तुक पाहुना र कर्मचारीलाई पनि शौचालय जान समस्या भएको अध्यक्ष चौधरी बताए ।
उनलेले भने – ‘विद्यालयको विद्यार्थी संख्याको आधारमा विद्यालयको पर्खालभित्र वा पर्खाल बाहिर एउटा छात्राहरूको लागि शौचालय छुट्टै बनाउने सोंच रहेको छ । म अध्यक्ष भएको दुई वर्ष भयो । यो दुई वर्षको अवधीमा स्थानीय तह लगायत विभिन्न निकायसँग पनि माग गरेको छु । तर कतैबाट सुनुवाइ हुन सकेको छैन ।’ खास गरी वडा र स्थानीय सरकारसँग शौचालयको विषयमा कुरा भएको छ । तर भने अनुसार सुनुवाइ नभएको अध्यक्ष चौधरी बताए ।
राजापुर नगरपालिका –५ का वडा अध्यक्ष रमेश चौधरीले विद्यालयमा शौचालयको समस्या भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले विद्यालयमा शौचालय समस्या भएको भएमा तत्काल कुनै उपाय खोजेर शौचालयको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।राजापुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दलबहादुर चौधरीले विद्यालयमा शौचालयको अभाव भएको विषयमा विद्यालयले जानकारी गराए पनि बजेट अभाव भएकोले थप शौचालय निर्माण गर्न नसकिएको जानकारी दिए ।