Butwal Today

हवाई भाडा अनधिकृत वृद्धि गर्ने कम्पनीलाई कारबाही गर्छौं : मन्त्री पाण्डे

२ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई भाडा अनावश्यक रुपमा वृद्धि गरी यात्रुहरुलाई आर्थिक ढङ्गले प्रताडित गर्ने वायुसेवा कम्पनीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पाण्डेका अनुसार, यदि कम्पनीहरुले उपभोक्ताको हक अधिकारको उल्लङ्घन गरी बढी भाडा लिए भने उनीहरुलाई कानूनी दायरामा ल्याइनेछ।

गत शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० घण्टासम्मको बन्दीको कारण वायुसेवा कम्पनीहरुले हवाई भाडामा अनधिकृत वृद्धि गरेको गुनासो बढेको छ। यस विषयमा मन्त्री पाण्डेले स्पष्ट पारेका छन् कि उनले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेर बढेको भाडा तुरुन्तै कम गर्न निर्देशन दिएका छन्।

यात्रुको पीडासँगै, मन्त्री पाण्डेले भने, ‘तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालन गर्ने कम्पनीहरूसँग कडा वार्ता गरी भाडा वृद्धि नगर्न निर्देशन दिइसकेको छ।’ उनले हवाई भाडा बढ्ने विषयमा कडा निगरानी राख्न र ट्राभल एजेन्सीहरूले टिकटको मूल्य निर्धारणलाई मापदण्डअनुसार गर्न निर्देशन दिएको पनि जानकारी दिए। साथै, उनले क्यानलाई टिकटहरूको मूल्य विवरण सार्वजनिक गर्न पनि आदेश दिएका छन्।

हवाई भाडा अब क्रमिक रुपमा पूर्ववत मूल्यमा फर्किएको र सस्तो र महँगो टिकटको विवरण जनतालाई जानकारी दिन क्यानलाई जिम्मेवारी दिइएको मन्त्री पाण्डेले बताए।

यात्रुहरुलाई सहज यात्रा सुविधा प्रदान गर्नका लागि मन्त्री पाण्डेले भैरहवामा उडानको संख्या बढाउने र पोखरामा पनि थप उडान विस्तार गर्ने योजनाबद्ध कार्ययोजना अघि बढाएको जानकारी दिए। वर्तमानमा भैरहवाबाट ५ वटा एयरलाइन्स उडान गर्दैछन् र उक्त संख्या १० मा पुर्‍याउने योजना छ। पोखरामा पर्यटनसँग सम्बन्धित उडानलाई प्रोत्साहित गर्ने उद्देश्यले मन्त्रालयले विशेष योजना बनाएको पनि उनले बताए।