ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

कृषि उत्पादन बढाउन गह्रा सुधार

२४ श्रावण २०८१, बिहीबार
२४ श्रावण २०८१, बिहीबार

सल्यान, २४ साउन ।
गह्रा सुधारले के भूक्षय रोक्न र कृषि उत्पादन बढाउन योगदान गर्दछ ? यसले जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न सक्दछ ? सल्यानमा किसानका भिरालो जमिनहरूको भिरालोपना घटाएर खेती गर्नको लागि उपयुक्त जमिन बनाउन भन्दै गह्रा सुधार गरिएको छ । भिरालो जमिनमा मलिलो माटो बगेर गइरहने कुरा यहाँका कृषकहरूले अनुभूति गरिरहेकै विषय हो । माटो र पानीको उचित व्यवस्थापनका लागि गह्रा सुधार गर्नाले कृषियोग्य जमिनबाट उचित उत्पादन लिन सकिने अनुभव सल्यानका किसानहरूले गरिरहेका छन् ।
एकातिर परम्परागत खेती प्रणाली र अर्काेतर्फ जलवायु परिवर्तनका समेत असरहरूका कारण कृषि उत्पादन घट्दै गइरहेको विज्ञहरूको भनाइ छ । यस्तो अवस्थामा जलवायुमैत्री कृषि अभ्यास अवलम्बन गर्न जरुरी छ । सल्यानमा गह्रा सुधार प्रविधिलाई एक प्रभावकारी विकल्पको रूपमा लिइएको छ । स्थानीय स्तरमा पुगेर सम्बन्धित कृषक तथा जनप्रतिनिधि एवम् पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाका प्रतिनिधीहरूसँग विवरणहरू संकलन गर्दा जलवायु अनुकुलनका लागि भिरालो जमिनमा गह्रा सुधारले विभिन्न तरिकामा काम गरेको र यसले किसानहरूका लागि आयआर्जन बृद्धि गर्नमा समेत निकै टेवा पुर्याएको पाइयो । किसानहरूको अनुभव र भनाई छ, ‘भिरालो बारीमा पहिले कुनै पनि बाली राम्रो हुँदैनथ्यो, गह्रा सुधार गरेपछि उत्पादन बढ्दै गएको छ र भुक्षय पनि नियन्त्रण भएको छ ।’

वर्षेनी कडा मिहेनतको साथ काम गर्दा पनि निकै कम कृषि उत्पादन
माटो र पानीको उचित व्यवस्थापनको कमीले गर्दा कृषियोग्य जमीनबाट वर्षेनी मलिलो माटो बगेर खेर गइरहेको हुन्छ । भिरालो जमीनको व्यवस्थापन गर्न सकिएमा मात्रै पनि खेतीयोग्य जमीनमा उत्पादन बढाउन सकिन्छ ।किसानहरूले भिरालो जमीनका कान्ला र खोरियामा वर्षेनी कडा मिहेनतको साथ काम गर्दा पनि निकै कम कृषि उत्पादन हुनेगरेको अनुभव रहेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ ज्यामीरेका कृषक हिरा पुनले विगतमा गरेको दुःख र भिरालो जमिनमा खियाएका हातखुट्टाका नङ्ग्रा अनि बगाएका पसिनाले उचित प्रतिफल पाउन नसकेको बताउँछिन् । ‘भिरालो बारीमा सबै मल माटो बगेर जान्थ्यो । मकै, कोदो, गहुँ खेती गरेपनि राम्रोसंग फल्दैनथ्यो’, उनी भन्छिन्, ‘दुई वटा भिरालो बारीमा गह्रा सुधार गरेपछि धेरै फाइदा भएको छ । पोहोर साल कोदो राम्रो फल्यो, यस वर्ष मकै रहरलाग्दा भएका छन् ।’
गह्रा सुधारले माटोको संरचना र गुणस्तरलाई सुधार्न मद्दत गर्दछ, जसले पानीको धारण क्षमता बढाउँछ र माटोको उर्वरता सुधार्छ । यसले भिरालो जमिनमा पानीको सञ्चयमा मद्दत गर्दछ । यसका साथै भिरालो जमिनमा गह्रा सुधारले पानीको प्रवाहलाई नियन्त्रण गर्न र माटोको कटानलाई रोक्न मद्दत गर्दछ । यसले जलवायु परिवर्तनका कारण हुने अत्यधिक वर्षा र सुख्खा अवस्थाहरूमा अनुकुलन गर्न सहयोग पुर्याउँछ ।

कृषिका लागि माटो र पानीको संरक्षण
पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाका सल्यान जिल्ला आयोजना संयोजक डाक्टर दिगम्बर सिंह दाहालका अनुसार गह्रा सुधारले भिरालो जमिनमा वनस्पति र वृक्षारोपणलाई समेत प्रोत्साहन गर्दछ, जसले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सहयोग पुर्याउँछ । गह्रा सुधारले स्थानीय समुदायहरूको जीवनस्तरमा सुधार ल्याएर उनीहरूलाई जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने र यसले कृषि उत्पादनमा वृद्धि तथा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने उनको बुझाई छ ।
दाहाल भन्छन्, ‘जलवायुमैत्री कृषि अभ्यासहरू अपनाउनाले भिरालो जमिनमा दीर्घकालीन अनुकुलनको लागि आधार तयार पार्छ । यसरी, भिरालो जमिनमा गह्रा सुधारले जलवायु अनुकुलनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, जसले दीर्घकालीन स्थिरता र विकासमा योगदान पुर्याउँछ ।’ यसले कृषिका लागि माटो र पानीको संरक्षण गर्ने उनको भनाइ छ ।
गह्रा सुधारको परिणाम देखिन थाल्यो
पछिल्लो वर्षहरूमा जमीन बाँझो र अर्धबाँझो राख्ने क्रम बढ्दै गएको छ भने हाम्रा मौलिक कृषि प्रणालीहरू लोप हुँदै जाँदा खाद्यान्नमा परनिर्भरता र खाद्य असुरक्षा मुख्य समस्याको रूपमा देखा परेका छन् । जमीन बाँँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा पहाडी साना किसानहरूमा जलवायु परिवर्तनबाट परेका प्रभावहरूको व्यवहारिक व्यवस्थापन गर्नको लागि गह्रा सुधारलाई प्रभावकारी माध्यम मान्न सकिने स्थानीय तहका जनप्रतिनिधीहरूको विश्वास छ । भिरालोमा भन्दा गह्रामा खेती गर्न सजिलो हुने भन्दै वनगाड कुपिण्डे नगरपालिका वडा नं.७ का वडा अध्यक्ष जीवन सिंह ठकुरीले गैरिकटेरी र पाखापानी गाउँमा गह्रा सुधारले सकारात्मक परिणाम दिएको बताउँछन् । ‘खेतबारीको मलिलो माटो बगेर जानबाट बचाउने रहेछ, जमिनमा चिस्यान कायम राख्न पनि यसले फाइदा गर्दाेरहेछ’, उनले भने, ‘अन्य किसानले पनि यो कार्य गर्न जरुरी देखिन्छ । किनकी एकपटक अलि लगानी वा मिहेन बढी हुने भएपनि वर्षाैँसम्म फाइदा लिन सकिन्छ ।’ पहाडी जिल्लामा अधिकांश खेती गर्ने जमिनहरू भिरालो हुने भएको र त्यही जमिनमा खेती गर्नु किसानको वाध्यता भएकाले त्यस्ता क्षेत्रहरूमा गह्रा सुधार गर्नु आवश्यक हुने वडा नम्बर १ का वडा अध्यक्ष थुम बहादुर विसी बताउँछन् । ‘हरेक वर्ष बारीमा मल हाल्यो, खनजोत गर्याे, तर मलमाटो सबै बगेर जाने समस्यालाई समाधान गर्न अनी उत्पादन बढाउन गह्रा सुधार उपयोगी देखिएको छ,’ उनले भने ।

उत्पादन बृद्धि भएको किसानहरूको अनुभव
जिल्लाको कुमाख गाउँपालिकाको वडा नम्बर २ संगै बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ५, १, ४, ७, ६ का किसानहरूले इबीए कार्यक्रमको सहयोगमा गह्रा सुधारका कार्यहरू गरेका छन् । आफूले खेती गर्ने बालीको आवश्यकता अनुसार गोरुले जोत्न मिल्ने तरिकाले प्राविधिकहरूको सल्लाह अनुसार गह्रा सुधार गरिएको किसानहरू बताउँछन् । कुमाख, २ का किसानहरूले आफुहरू समूहमा आवद्ध भएर गाउँमै पाइने श्रोत र सामग्रीहरू प्रयोग गरेर गह्रा सुधार गरिएको बताए । कुमाख २ खारखोला निवासी कृषक अस्मीता बुढा रानाले आफुहरू समूहमा आवद्ध भएर गह्रा सुधारको काम गर्दा पारिश्रमिक प्राप्त भइ आर्थिक टेवा पनि पुगेको र गह्रा सुधारको ज्ञान, सीप पनि प्राप्त भएको बताउँछिन् । यस्तै बनगाड कुपिण्डे नगरपालिका ५ का किसान राम बहादुर खत्रीले आफ्नो एउटा भिरालो बारीमा गह्रा सुधार गरिएको भन्दै गह्रा सुधार गरिएको बारीमा मकै राम्रो फलेको र गह्राको ढिक तथा काल्नातिर टिमुर हुर्कदै गरेको बताए । आफू जस्तै गाउँका अरू किसानहरू नरबीर खत्री, नन्दे बुढा, देव बहादुर खत्री, मान बहादुर खत्री लगाएतले पनि गह्रा सुधार गरेको सुनाउँदै उनले सबै किसानले गह्रा सुधारको फाइदा लिइरहेको बताए ।
पहाडी क्षेत्रमा धेरैजसो माथिल्लो भागमा वन, तल खेतबारी हुने र वर्षामा वनबाट पानी बग्दै तल झर्ने गर्दछ । वर्षाको पहिलो भेलले वनको मलिलो पात पतिङ्गर तथा माटो बगाई ल्याउने र उक्त पानी खेतबारीमा लगाउँदा माटो मलिलो भई उत्पादन बढ्छ । पहाडी क्षेत्रमा माटो संरक्षण तथा सुधारका लागि विभिन्न उपायहरू मध्ये गह्रा सुधारको कार्य किसानका लागि अनुकूलनको महत्वपूर्ण विधि हो । यसबाट स्थानीय किसानहरूको जीविकोपार्जनमा महत्वपूर्ण सुधार आएको देखिन्छ ।

कृषि उपज बढाउने कार्यक्रम, निरन्तरताको माग
गह्रा सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमनलाई पनि प्रभावकारी बनाइएको थियो । बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख तथा नगरस्तरिय अनुगमन समितिका संयोजक पुरुषोत्तम आचार्यले गह्रा सुधार गरिएको जमिनमा माटो जम्मा भएको छ भने नियमित काट्न र माटो बगाएको छ भने गह्रा भर्नका लागि सुझाव पनि दिएको बताउँछन् । ‘गह्राको ढिक काल्नामा घाँस तथा जडिबुटीको विरुवा पनि रोपन गरिएको छ । यस कार्यक्रममा आएको सबै बजेट गाउँमै रहने भएकाले आर्थिक अवस्थामा समेट टेवा पुर्याएको छ’, उनले भने, ‘निकै प्रभावकारी मानिएको इबीए कार्यक्रम निरन्तर बढाउन पाएमा सुनमा सुगन्ध हुन्थ्यो । यदी भएन भने पनि बाँकी भएका काम नगरपालिकाको तर्फबाट अगाडी बढाउने हाम्रो प्रतिबद्धता छ ।’
गह्रा सुधारले माटोको संरचना र पोषण स्तरलाई सुधार गरेर माटोको स्वास्थ्यलाई बलियो बनाउँछ । जल निकासी र हावाको प्रवाहलाई सुधार गरेर माटोमा पानीको भण्डारण क्षमतामा वृद्धि गर्ने भएकाले इबीए कार्यक्रम अन्तर्गत सुख्खा तथा भिरालो क्षेत्रमा गह्रा सुधारका कार्य गरिएको पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक टोप बहादुर खत्रीको भनाई छ । ‘हाम्रो देशको मध्य पहाडी भागहरू सल्यान, अछाम लगाएतका क्षेत्रमा बारीहरू साघुरो, सुर्का परेका हुन्छन्,’ उनले भने, ‘यी क्षेत्रमा पानीको कम वृष्टी हुने भएकाले सुख्खा र भिरालो जग्गालाई गह्रा सुधार मार्फत कृषिको उपज बढाउने उद्देश्य हो ।’ जमिनमा भएको उर्वर माटो बगेर नजाओस् भनेर र बारीमा आएको पानी लामो समयसम्म रहिरहोस्, चिस्यान कायम भइरहोस् भनेर गह्रा सुधार गरिने राष्ट्रिय कार्यक्रम व्यवस्थापक खत्रीको भनाई छ । ‘माथिल्लो तहमा पानी भयो भने तल्लो गह्रामा चिस्यान बढोत्तरी भएर कृषिमा आधारित जुन समूदाय छ, उहाँहरूलाई फाइदा पुग्छ’, उनले भने, ‘गह्रा सुधार मात्रै होइन त्यसको छेउँछाउँमा घाँस तथा कोसे बाली लगाउने गरिन्छ ।’

९२ हेक्टर निजी जमिनमा गह्रा सुधार, २५६६ जना लाभान्वित
गत ३ वर्षको अवधिमा सल्यान जिल्लाको करिव ९२ हेक्टर क्षेत्रफल निजी जमिनमा गह्रा सुधार गरिएको छ । ईबीए कार्यक्रम सल्यानका अनुसार ५५५ घरधुरीका २५६६ जनाले गह्रा सुधारबाट लाभ लिइरहेका छन् । कार्यक्रम सुरु भएपछि उक्त कार्यक्रमको अनुदान तथा सम्बन्धीत किसानको लागत साझेदारीमा कुमाख गाउँपालिकाको वडा नं.२ मा ३० हेक्टर भिरालो जमिनमा गह्रा सुधार गरिएको छ भने यसबाट २६८ घरधुरिका १२९२ जना लाभान्वित भएका छन् । यस्तै बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा गरेर जम्मा ६० हेक्टर भिरालो जमिनमा गह्रा सुधारका कार्य सम्पन्न भएका छन् भने यसबाट २८७ घरधुरीका १२७४ जनाले लाभ प्राप्त गरेका छन् । गह्रा सुधारका लागि मात्रै दुई करोड ६० लाख ९० हजार ३९६ रूपैयाँ लगानी भएको देखिन्छ । यसमा सम्बन्धीत किसानको लागत साझेदारी ५० लाख ३६ हजार ७०७ रूपैयाँ रहेको छ भने कार्यक्रमबाट अनुदान रकम दुई करोड ९ लाख २६ हजार ४८९ रूपैयाँ रहेको छ ।

गह्रा सुधारका क्रियाकलापको निरन्तरता र प्रोत्साहन आवश्यक
जलवायु अनुकुलनका क्रियाकलाप इबीए कार्यक्रम सञ्चालन भए वाहेकका वडाहरूमा नगरपालिकाको तर्फबाट सञ्चालन गरिरहेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकी भन्छन्, ‘जलवायु परिवर्तनको प्रभाव हामीले महसुस गरिरहेका छौँ । यसको असर कम गर्न तथा अनुकुलित हुनका लागि किसानहरूको मागको आधारमा इबिए कार्यक्रम अन्तर्गत विभिन्न वडामा गह्रा सुधार गरिएका छन् । यसले किसानहरूले प्रत्यक्ष रोजगारी समेत पाउनुभयो भने, चिस्यान कायम भइ बाली उत्पादन बृद्धि भएको देखिन्छ ।’ यसको दिगोपना र निरन्तरताका लागि आफुहरू प्रतिबद्ध रहेको उनको भनाई छ ।
माटोमा आवश्यक पोषक तत्वहरूको सन्तुलन कायम राख्न, त्पादनशीलता बढाउँन र कृषकहरूको लागि स्थायी कृषि अभ्यासलाई प्रोत्साहित गर्नका लागि गह्रा सुधारको महत्वपूर्ण सहयोग रहन्छ । यसले जलवायु अनुकुलनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै दीर्घकालीन दृष्यमा पनि कृषि प्रणालीलाई बलियो बनाउने भएकाले राज्य स्तरबाट, विशेष गरेर स्थानीय तहहरूबाट भिरालो जमिन भएका प्राय सबै कृषकहरूलाई उनिहरूको जग्गा विकास गर्न तथा गह्रा सुधारका उपयुक्त विधि अपनाउन उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ ।
सम्बन्धीत सबैले कृषकले गरेका गह्रासुधारका क्रियाकलापको प्रोत्साहन गर्नुका साथै यस क्षेत्रका विज्ञहरू, यस विषयमा जानकार भएका सरोकारवालाहरूले गह्रा सुधारको महत्वबारे प्रचारप्रसार संगै श्रम लगानीलाई पनि गह्रा सुधार जस्तै जलवायु अनुकुलनका विविध क्रियाकलापमा जोड्नुपर्दछ । विज्ञहरू तथा प्राविधिकहरूका अनुसार आवश्यकता भन्दा बढी खनजोत गरेर सम्भावित जोखिमको ख्याल नै नगरी गह्रा बनाएमा पहिरो जान सक्ने भएकाले यसतर्फ पनि सचेत बन्न जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?