© २०२३
सल्यान, १५ साउन ।
सात वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका सल्यान त्रिवेणी गाउँपालिका वडा नं.४ का युवा कृषक भोला प्रसाद बुढाथोकी भन्छन्, ‘वर्षमा ५/७ लाख कमाउन विदेश जान पर्दैन ।’ यो बर्ष उनले साढे ८ रोपनी भन्दा बढी क्षेत्रमा तरकारी खेती गरेका छन् ।
टमाटर, काउली, बन्दागोभी लगायतका तरकारी खेती गर्दै आएका भोला प्रसादको खेतबारीमा हिजोआज लटरम्म टमाटर फलेका छन् । उत्पादीत तरकारीले राम्रो मुल्य पाएमा आम्दानी मनग्ये हुने उनको भनाइ छ ।
परम्परागत रूपमा धान, मकैँ, गहुँ लगायतका बाली लगाउदैँ आएका त्रिवेणीका किसानहरू पछिल्लो समय तरकारी खेतितर्फ आकर्षित भएका छन् । व्यवसायिक तरकारी खेतिबाटै मनग्ये आम्दानी हुन थालेपछि यसतर्फ किसानहरू आकर्षित भएका हुन । आफूहरूले गर्दै आईरहेको तरकारी खेतीबाट आर्थिक उपार्जनमा टेवा पुगिरहेको किसानहरूको भनाइ छ ।
त्रिवेणी ६ सल्लेखोलाका ललित सिंह रावतले पनि तरकारी खेति गर्न लागेको ५ वर्ष भयो । एक सिजनमा ३ देखि ४ लाख रूपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउनका साथै बचत समेत हुने गरेको किसान बताउँछन् । परम्परागत खेतीले परिवारका सबै सदस्यलाई साँझ–बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका किसानहरूले तरकारी खेति गर्न थालेपछि राम्रो आम्दानी गर्न सफल भएका हुन ।
यस्तै त्रिवेणी ४ कै लिलावती रानाले ३ रोपनी क्षेत्रफलमा टमाटरसँगै बन्दागोभी, सिमि लगायतका तरकारी खेती गरेकी छिन् । गहुँ, धान, मकै खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ ।
किसानहरूको कृषि कर्मलाई थप हौसला प्रदान गर्न त्रिवेणी गाउँपालिकाले विभिन्न किसीमका पुरस्कार र अनुदान प्रदान गर्नेगरेको छ । जसले गर्दा व्यवसायिक कृषि पेशा अंगालेका किसानहरूलाई थप हौषला मिलेको देखिन्छ । कृषि सामग्री, बीउविजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालीम दिइरहेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जनाए । किसानलाई व्यवसायीक बनाउन र उत्पादीत कृषिजन्य उत्पादन बजारिकरणका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाई छ । माटोको उर्वरा शक्तिमा ह्रास आएको कुरालाई मध्येनजर गर्दै जिल्लामै पहिलो माटो परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको त्रिवेणी गाउँपालिकाका कृषि अधिकृत रमेश बुढाथोकीले जानकारी दिए ।