© २०२३
बुटवल, १० फागुन ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको कृषि मेलाले फरकपन दिन सकेको छैन । कृषि मेला भनिए पनि नगदे बालीलाई स्थान दिइएको छैन । मेलामा नयाँपन नहुँदा किसानको उपस्थिति हुन नसकेको चर्चा चलेको छ । संघले मेलास्थल निःशुल्क लिइ संचालन गरेको हो । सहभागी ८८ वटा स्टल मध्ये केही निःशुल्क गरिए पनि खाजा तथा नास्ताका स्टलबाट भने शुल्क उठाइएको छ । संघ र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । बिहीवार मेलामा किसान तथा अवलोकनकर्ताको उपस्थिति पातलो देखिएको छ । उद्घाटनका बेला किसानभन्दा विद्यार्थी बढी देखिएपछि आयोजकको आलोचना भएको थियो ।
मेलामा उत्पादन प्रवद्र्धन गर्ने खालका कार्यक्रम नदेखिदा आगामी दिनमा मेलाको आकर्षण नहुने डर बढेर गएको छ । मेला आयोजक बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, विभिन्न स्थानीय सरकार र संघसंस्थाले मेलाका लागि आर्थिक सहयोग गरेको बताए । “करिव १५ लाख रुपियाँ आर्थिक सहयोग उठ्ने देखिएको छ, कतिपयबाट आश्वासन प्राप्त भएको छ”–उनले भने ।
यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले गरेका थिए । मेलाको उद्घाटन गर्दै मन्त्री अहिरले नीति निर्माता, कर्मचारी र किसान विचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए । उनले त्यसमाथि पनि दुःखले काम गरेका किसानलाई हुनुपर्ने भुक्तानी रोकिनु दुःखद रहेको बताए । मन्त्री अहिरले कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेको बताउदै किसानलाई सम्मान भएन भने देशको लागि कृषि क्षेत्रको योगदान बढ्नुको साटो घट्दै जाने बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणको लागि मेला आयोजना गरिएको बताए । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिमा प्रशस्त सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले त्यसबाट लाभ लिन नसकेको बताए ।
बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रूपमा विशिष्टिकृतको नाममा कृषि मेला गर्दै आएको छ । मेलामा सहभागी एक स्टलधनीले आफू जवर्जस्ती सहभागी भएको बताए । “मलाई आउने रुची थिएन, आयोजकले जसरी भएपनि आइदिनु पर्यो, मान्छे जुटाइदिने र उत्पादनको बजारीकरणमा हामीले सहयोग गर्छौं भनेर धेरैपटक अनुरोध गरेकाले सहभागी भएका हौं”–ती स्टलधनी कृषकले भने । प्रदेश स्तरीय कृषिमेलामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका कृषक तथा उत्पादन को प्रर्वद्धन गर्ने भनिए पनि वागमती, गण्डकी प्रदेशका जिल्लाबाट सहभागि रहेका छन ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलाको पहिलो दिन विभिन्न स्कुलका विद्यार्थीलाई सहभागी गराइएको थियो । मेलामा उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना जगाउने गरी कुनै योजना नदेखिएको अर्का स्टलधनी कृषकले बताए । कृषि मेलाका लागि मेला आयोजक बुटवल उद्योग बाणिज्य संघले लुम्बिनी प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघसंस्था तथा कार्यालयहरूबाट २२ लाख बजेट सहयोग र अनुदान लिएको बताइन्छ । लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले कृषि मेलाका लागि ५ लाख बजेट छुट्टयाएको छ भने बुटवल उपमहानगरपालिकाले पनि ५ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै रूपन्देहीका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले पनि आर्थिक सहयोग गरेका छन् । मेलामा मुख्य प्रायोजन गरेको राष्ट्रिय बाणिज्य बैंकले २ लाख रुपियाँ सहयोग गरेको छ ।