© २०२३
सुनवल ५ माघ । सुनवल–२ का लोकनाथ भण्डारी गत वर्ष आलुको बीउ राख्न छिमेकी रूपन्देहीका शीत भण्डारमा भौतारिए, तर उनले ठाउँ नपाएपछि ६ क्वीन्टल आलुको बीउ कुहिएर खेर गयो । भण्डारी भन्छन्, ‘रूपन्देहीमा पुगेर पनि ठाउँ पाईएन अनि घरमै १२ ओटा बोरामा राखेको आलुको बीउ कुहिएर खेर गयो ।’
जिल्लामा शीत भण्डार नहँुदा धेरै किसानको उत्पादन खेर जाने गरेको थियो तर सुनवलमै अहिले शीत भण्डार निर्माण भएपछि भण्डारी सहितका व्यवसायिक खेती गर्ने किसान उत्साहित भएका छन् । भण्डारीले भने ‘अब कमसेकम केही उपज बढि भए राखौँ भन्नका लागि कोल्ड स्टोर छ म खुसी छु ।’
भण्डारी मात्रै होईन यस वर्षदेखि शीत भण्डार सञ्चालनमा आएपछि धेरै किसान खुसी भएका छन् । कृषि सहकारीहरूले समेत ठूलो क्षेत्रफलमा खेती गर्न थालेका छन् । सुनवलमै रहेको समावेशी कृषि सहकारी संस्था लिमिटेडले सामूहिक आलु खेती गरेको छ । ‘हामी कृषि सहकारी हो त्यसैले खेती गर्नुपर्छ र उत्पादन बढाउनुपर्छ भन्ने थियो, अहिले शीतभण्डार बनेपछि हामीले पनि दुई विगाहामा आलु खेती गरेका छौ’ समावेशी कृषि सहकारी संस्थाकी अध्यक्ष धनमाया गौतम क्षेत्रीले भनिन् । सहकारीका सबै सदस्यहरू उत्साहित भएको बताउँदै क्षेत्रीले उत्पादित आलु यस वर्ष शीतभण्डारमा भण्डारण गरेर बेमौसममा बेच्ने र सहकारीको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको बताईन् ।
जिल्लामै पहिलो पटक आधुनिक प्रविधि सहितको शीत भण्डार निर्माण भएर सञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी संघको अगुवाईमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको साझेदारी लगानीमा २१ करोडको लागतमा आधुनिक प्रविधि सहितको ३ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको हो । भर्खरै सञ्चालनमा आएको छुट्टाछुट्टै चेम्बर सहितको तिन तले शीत भण्डार अहिले खाली छ । ठूलो क्षमताको शीतभण्डार भएकाले उत्पादनमा वृद्धि गर्न अभियानको रूपमा कार्यक्रम संञ्चालन गर्ने योजना सहकारी संघको छ । ‘शीत भण्डार सबै ठाउँमा बनाउन पनि सकिदैन्, कुनै ठाउँ विशेषमा बनाएर सबैको साझा प्रयोग गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले भने ।’ शीतभण्डार निर्माण भएपनि अझै दुई करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
एकातर्फ सञ्चालन खर्च र अर्कोतर्फ कृषि उपजको अभावले शीत भण्डार संञ्चालन चुनौतीपूर्ण बनेको छ । पाल्पा–रूपन्देही लगायतका जिल्लाका उत्पादनलाई पनि समेट्ने गरी अभियान संञ्चालन गर्ने पौडेलले बताए । ‘पहाडी जिल्लाका उत्पादन पनि सुनवल सम्म झार्ने र स्थानिय उद्योगहरू संग पनि सम्र्पक गरी उनीहरूका समान पनि शीत भण्डारमा राख्ने गरि योजना बनाउँदै छौं, पौडेलले भने ।’
शीत भण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी संघको योजना रहेको छ । जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अली मोमिनले स्थानीय तहदेखि तिनै तहका सरकार कृषिमैत्री नबन्दा शीतभण्डार सञ्चालनमा चुनौती थपिएको तर्क गर्छन् ।
‘जिल्लाका सात स्थानीय तह कोही पनि कृषि र किसान प्रति जिम्मेवार छैनन्, व्यवसायिक कृषिमा जोड दिएर उत्पादन बढाउने तर्फ उनीहरूको ध्यान नै छैन् मोमिनले भने ।’
नवलपरासीका सात स्थानिय तहले चालु आर्थिक वर्षमा संघिय र प्रदेश सरकारको शर्सत अनुदान सहित १६ करोड बढि रकम कृषिमा छुट्टाएका छन् । तर योजनावद्ध कार्यक्रम नआउँदा बजेट बालुवामा पानी सरह भएको सरोकारवालाहरूको गुनासो छ । छिमेकी जिल्लाका उत्पादन समेत भण्डार गर्ने क्षमता रहेको शीतभण्डारलाई लक्षित गरेर उत्पादन वृद्धि गर्न सके किसानले मनग्य लाभ लिन सक्नेमा दुईमत छैन् । तर तिनै तहका सरकारको किसानमैत्रि कार्यक्रम नहँुदा र व्यवसायिक कृषिको बढवा नहुदा सम्म शित भण्डारको उपयोगिता माथि प्रश्न उठेको छ । जिल्लाको सुस्तामा गत वर्षनै शितभण्डार निर्माण सम्पन्न भएपनि अझै संञ्चालनमा आउन सकेको छैन् ।