© २०२३
नवलपुर, १२ पुस ।
पुर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं.१२ का कृषकहरु अहिले समूह नै बनाएर ब्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरुको जीवनस्तर नै उकासिन थालेको छ ।
गैंडाकोट नगरपालिका भेडाबारीको सडक छेउँसंगै कृषकले घाँस खेती शुरु गरेका छन् । जसका कारण पशु किसानहरुको रोजाईमा यहाँको घाँस परेपछि घाँस बिक्री गर्न भ्याई नभ्याई रहेको श्री स्वस्थानी घाँस श्रोत केन्द्र तथा बाख्राफार्मका सञ्चालक बिष्णु भट्ट बताउँछन् ।
पशुलाई चाहिने पौष्टिक तत्व प्रशत पाइने हुँदा भट्टले लगाएको घाँस अहिले जिल्लामा धेरैको रोजाईमा परेको छ भने यो घाँस बिक्री गर्न भटट्लाई भ्याई नभ्याई छ । झट्ट हेर्दा ऊखु बारी जस्तै देखिने सुपर नेपियर जातको घाँसको माग अहिले जिल्लामा अत्यधिक बढेको र जस्तोसुकै हावा पानीमा पनि राम्रोसँग बढ्ने हुँदा पशु किसानहरुको रोजाईमा परेको भट्ट बताउँछन् ।
अहिले फार्मबाटै प्रतिकिलो नौ देखि दश रुपैयाँका दरले हरियो घाँस बिक्री हुने गरेको छ भने आठ विघा क्षेत्रफलमा सुरु गरिएको घाँस खेतीमा घाँससंगै अन्य बिरुवाहरु पनि लगाइृएको छ । भट्टले अघिल्लो बर्ष ७४ लाख भन्दा बढीको घाँस र वीउ बिक्री गरी आम्दानी गरेको र यो बर्ष एक करोडको हाराहारीमा घाँस बिक्री हुने बताए ।
यहाँको घाँस श्रोत केन्द्रबाट अहिले दैनिक ३० देखि ४० हजार बराबरको घाँस र यसका वीउको बिक्री हुने गरेको भट्टको भनाई छ । पाँच बर्ष अघिबाट सुरु भएको फार्ममा २२ बढी प्रजातिका घाँसहरु रहेका छन् भने यो फार्ममा दैनिक दर्जन बढी समूहहरु अध्ययन अबलोकनका लागि आउने गरेको फार्म संचालक भट्ट बताउँछन् ।
अहिले पशुलाई खुवाइने दानाको मूल्य आकाशिरहेको छ भने पशुको दाना किन्न खोज्दा पनि भनेको समयमा पाउन नसकिने समस्याले किसानलाई पिरोल्न थालेपछि छोटो समयमै प्रतिफल दिनसक्ने पशुलाई आवश्यक पर्ने पोषण भएको घाँस उत्पादन गर्ने सकियो भने त्यसले बढी लाभ दिन्छ भन्ने भएर नै आफुले घाँस खेती गरेको उनले बताए ।
भट्टका अनुसार जुनसुकै भौगोलिक क्षेत्र र हावापानीमा पनि यो घाँस बढ्न सक्छ र सुपर नेपियर जातको घाँसका हाँगालाई रोपिएको छ महिनापछि अर्को बिरुवा बनाउनका लागि तयार हुन्छ भने पशु आहारका लागि रोपेको एकमहिना पछि नै काट्न शुरु गर्न सकिन्छ ।
हेर्दा उखुका घारो जस्तै देखिने एउटा हाँगोलाई पाँच टुक्रा बनाइन्छ र ती टुक्राहरुलाई बोरामा भरेर माग भएका स्थानमा पठाउँदै आएको उनी बताउँछन् । अहिले यो घाँस प्रतिबोरा दुई हजार पाँच सयका दरले बिक्री हुदै आएको छ ।
कृषक भट्टले बिषादी रहित उत्पादनलाई अभियानकै रुपमा लैजाने र पशुलाई चाहिने आहारमा आत्मनिर्भर बन्ने बाटोमा लाग्ने गरी काम गरेको दाबी गर्छन् ।