© २०२३
किशोरीहरूलाई अपांगता अधिकार र लागू औषध नियन्त्रणबारे सचेतीकरण गरिएको छ । किशोरीहरूका माध्यमबाट अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिताका लागि कार्यक्रम गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिका १, चैनपुरका श्रृजनशील किशोरी सम्बाद केन्द्रका किशोरीहरूलाई अपांगता भएका व्यक्तिहरूले पाउने सेवा सुविधा, नीति नियम कार्यान्वयनका बारेमा सचेतीकरण गरिएको थियो ।सम्बोधन गर्दै शिवराज नगरपालिका १ का वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले हरेक निकाय अपांगमैत्री हुनुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरूका लागि राज्यले कानुन बनाउँछ तर कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्तिहरू अधिकारबाट बन्चित हुनुपरेको गुनासो गरे । वडाध्यक्ष घर्तीक्षेत्रीले स्थानीय निकायबाट हुने हरेक किसिमको सेवा सुविधा अपांगमैत्री बनाउन भरपूर कोशिस गर्ने प्रतिबद्धता जाहेर गरे । यसैगरी शिवराज नगर नगरकार्यपालिका सदस्य लक्ष्मी हमालले सबैले आ आफ्नो ठाउँबाट आवाज उठाएमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमको अवसरमा अपांगता पुनस्र्थापना केन्द्र शिवराजका अध्यक्ष दिपक खडकाले अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा, नीति, नियमबारे सहजीकरण गरेका थिए । दिगो तथा मर्यादित, सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत किशोरीहरूमार्फत समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गरिएको खडकाले बताए ।कार्यक्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक शेर बहादुर थापाले लागू औषधका बारेमा जानकारी दिंदै नियन्त्रणका किशोरीहरूले स्थानीय स्तरबाट आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । किर्डाक नेपाल, स्ट्रोम फाउण्डेसनको आयोजना तथा शिवराज नगरपालिका र वडा प्रहरी कार्यालय चन्द्रौटाको सहयोगमा सम्पन्न भएको थियो ।