© २०२३
नवलपुर, ९ मंसिर ।
पुर्वी नवलपरासीका किसानले बर्सेनि खेतिको उत्पादकत्व घट्दै गएका कारण धेरै समस्या भोग्नु परेको बताएका छन् । कावासोती वडा नं. ९ का यम बहादुर महतो चार – पाँच बिगाहाभन्दा बढी क्षेत्रफलमा व्यवशायिक कृषि गरिरहेका छन । तर उही मात्रामा मलको प्रयोग गर्दा पनि निरन्तर उत्पादन घटिरहेको छ । कावासोती ८ का हिमाल कुँवरको समस्या पनि महतोकै जस्तो छ ।
उनीहरुकै जस्तो समस्या नवलपुरको कावासोतीका हरेक किसानले भोगिरहेका छन । उत्पादन घटेपछि किसानले युरिया र डीएपीको मात्र बढाउँदै लगेको कुँवरले बताए । तर उत्पादन बढ्नुको सट्टा हरेक वर्ष घट्दै गएको छ । जति गर्दा पनि उत्पादन नबढेपछि निरास बनेका किसानले माटोमा समस्या आएको हुन सक्ने भन्दै नगरपालिकालाई गुनासो गरेका थिए ।
किसानको गुनासो सम्बोध गर्दै नगरपालिकाले गण्डकी प्रदेशको माटो तथा मल परीक्षण केन्द्र पोखरालाई कावासोतीमै बोलाएर तीन दिनसम्म माटो परीक्षण गरिएको थियो । त्यसपछि थाहा भयो किसानले प्रयोग गरेको रसायनीक मल र बाली जोत्न प्रयोग गरिएको ट्रयाक्टरका कारण माटोको उर्बरा शक्तिमा निराशाजनक तरिकाले ह्रास आएको देखियो ।
गण्डकी प्रदेश पोखराका माटो तथा मल परीक्षण अधिकृत कोबराज बरालका अनुसार हरेक वर्ष झण्डै २० प्रतिशतले अम्लियपना बढ्दै जाँदा उर्वराशक्तिमा ह्रास आएको र तीन वर्षअघि गरिएको परीक्षणमा ५० प्रतिशत माटोमा अम्लियपन देखिएको थियो बरालले बताए । अहिले गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी अम्लिएपना देखिएको अधिकृत बरालको भनाइ छ ।
किसानले अज्ञानतावस नाइट्रोजनयुक्त मलको अत्याधिक प्रयोग गर्नु, विगतमा जस्तो गोरु र राँगाको सट्टा ट्रयाक्टरले खेतवारी जोत्नु, विषादीको प्रयोग गर्नु र अम्लिय वर्षाका कारण पनि माटोको उर्बराशक्तिमा ह्रास आएको बरालको भनाइ छ ।
माटोको उर्बराशक्ति थप नबिगार्नका लागि कृषि चुनको प्रयोग गर्न किसानलाई उनले सुझाव दिएका छन् । जुन प्रदेश सरकारले २५ प्रतिशत अनुदानमा एक लाख ३२ हजार किलो कृषि चुन नवलपुरमा वितरण गर्न लागेको उनले जानकारी दिए ।
तीन दिनको अवधिमा कासावोतीका झण्डै पाँच सय किसानले नगरपालिकामा नमूना ल्याएर माटो परीक्षण गरेका नगरपालिकाका कृषि प्राविधिक शिव नारायण कुमालले जानकारी दिए । किसानले हरेक वर्ष युरिया, डीएपी र पोटास अत्याधिक प्रयोग गर्दा उत्पादनमा ह्रास आएपछि किसानकै आग्रहमा पोखराबाट प्राविधिक टोलि बोलाएर परीक्षण गरिएको उनले बताए ।