© २०२३
बुटवल —
रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले हस्ताक्षर गरेको चेकबाट बुटवलको सुप्रिम सहकारीमा रकम जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा ४० लाख ४२ हजार रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेको पाइएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रहरीले लामिछानेसँग बयान लिने क्रममा ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ४२ हजार रुपैयाँ जम्मा भएको रहेछ, त्यो के हो ?’ भनेर सोधेको थियो । प्रहरीको त्यो प्रश्नपछि उनी आक्रोशित बनेका थिए । त्यही क्रममा अत्तालिएका उनले बिनाप्रमाणको प्रश्न किन सोधियो भन्दै प्रतिप्रश्न गरेका थिए । ‘त्यसपछि उनको हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइयो,’ स्रोतले भन्यो, ‘त्यो देखेपछि उहाँ झनै हतोत्साहित हुनुभयो । आफ्ना कानुन व्यवसायीसँग बुझ्न पाउनुपर्ने प्रस्ताव गर्नुभयो, अनुसन्धानका क्रममा त्यो नमिल्ने बताएपछि बरन्डामा गएर घोरिएर बस्नुभयो ।’ धेरै समयपछि आएर ‘मैले हस्ताक्षर गरेर राखेको चेकमा कसैले रकम र अन्य विवरण भरेर बुझाएको हुनसक्छ’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा ल्याइएको थियो । पर्सिपल्ट कात्तिक २९ मा दिउँसो २ बजे बयान सकेर ३:४० को जहाजबाट उनलाई पोखरा फिर्ता पठाउने प्रहरीको तयारी थियो । त्यही तयारीअनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । अन्तिममा हस्ताक्षरसहितको चेकबाट सुप्रिममा रकम जम्मा भएको प्रश्न गरेपछि लामिछानेको बयान साँझ ७ बजेसम्म लम्बिएको थियो । ‘त्यस क्रममा प्रहरीसँग उहाँले धेरै सवालजवाफ गर्नुभयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अन्त्यमा इन्कारी बयान दिनुभयो ।’ प्रहरीले कात्तिक ३० मा मात्र लामिछानेलाई पोखरा पठायो ।
बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २०७७ चैत १८ मा नियमविपरीत २ करोड ऋण प्रवाह भएको अनुसन्धानबाट खुलिसकेको छ । ऋण लैजाँदा उनी गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाकै तत्कालीन उपाध्यक्ष छविलाल जोशीका नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । लामिछाने र जोशी दुवैका नाममा लगिएको ऋण ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको अनुसन्धानले देखाएको छ ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये झन्डै ७८ करोड रकम अपचलन भएको देखिएको छ । त्यसमध्ये १४ करोड २९ लाख ३६ हजार रुपैयाँ लामिछाने, जोशी, कुमार रम्तेलसहितका नामबाट गोर्खा मिडियामा लगेर खर्च गरेको अनुसन्धानमा पाइएको छ ।