© २०२३
उपभोक्ताहरूको सचेतनाको अभावका कारण उपभोक्ताहरू गुणस्तर र परिमाणमा ठगिने गरेको एक कार्यक्रममा सहभागीले बताएका छन ।
उपभोक्ताहरू सचेत नहुँदा सम्म उद्योगी र व्यवसायी स्वयं जिम्मेवार र जवाफदेही बन्नु पर्ने उनीहरुको भनाई छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उपभोक्ता संरक्षण विभागको आयोजनामा सोमवार रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा आयोजित उपभोक्त सचेतना सम्बन्धी गोष्ठीमा सहभागीहरूले उद्योगी र व्यवसायी पनि स्वयं उपभोक्ता भएकाले अरूलाई सामान बिक्री गर्दा पनि इमान्दारीता देखाउनु पर्ने सहभागीले जोड दिए ।
गोष्ठीको उद्घाटन गर्दे प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले प्रदेश मन्त्रालयले कानुनको अभावमा बजार अनुगमन नगरेको स्वीकार गर्दै व्यापारमा इमान्दारिता देखाउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
उद्योगी व्यवसायीहरूले आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको पनि ध्यान दिनु पर्ने मन्त्री गिरीको भनाई छ । फरक प्रसंगमा मन्त्रि गिरीले उद्योगी व्यवसायीको समस्याको विषयमा प्रदेश सरकारको ध्यानकर्षण भएको बताउँदै नविकरणको लागि सहज वातावरण वनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले उपभोक्ताहरू पुरै सचेत हुन २० वर्ष लाग्ने बताउँदै गुणस्तरको लागि उत्पादक र विक्रेता सचेत हुनु पर्ने बताए । औषधी, खाद्य पदार्थ, पेय पदार्थ जस्तो संवेदनशिल खाद्यवस्तुको उपभोग्य म्याद नाघे पनि विक्रि वितरण भएको अनुगमनको क्रममा भेटिएको बताउँदै तिनिहरूलाई कारवाहीको दायरामा ल्याउन खोज्दा व्यवसायी संघ संस्थाबाट छाकछोप हुन गरेको पनि बताए ।
कार्यक्रममा विभागका उपनिर्देशक भगवानलाल श्रेष्ठले पुरानो उपभोक्ता संरक्षण ऐन २०५४ खारेज भएको अवस्था र नया ऐन कार्यान्वयको पहिलो चरणमै रहेकाले केही समस्या रहेको बताए ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले कानुनी संक्रमणले बजार अनुगमन र कारवाही प्रकृयालाई प्रभावकारी बनाउन नसकिएको बताए । राष्ट्रिय उद्योग व्यापार संगठन भैरहवाका अध्यक्ष नारायण प्रसाद भण्डारीले गलत काम गर्ने उद्योगी व्यवसायीलाई आफूहरूले संरक्षण नगरेको बताउँदै नविकरणको मयाद सकिएका फमलाई नविकरणको लागि पहल गरिदिन मन्त्रि र विभागका अधिकारीहरूलाई आग्रह गरे ।
कार्यक्रममा वाणिज्य कार्यालय भैरहवाका कार्यालयका प्रमुख वेद प्रकास उपाध्यायले उपभोक्ताहरूको सचेतनाको लागि कार्यक्रम गरेको बताए । उपभोक्ता हित संरक्षण मन्च रूपन्देहीका अध्यक्ष नर्बु लामाले कार्यपत्र प्रस्तुत गर्दै दोषीलाई कारवाही नहुँदा उद्योगी व्यवसायीहरूले गर्न नहुने काम पटकपटक गरेको बताए । गोष्ठीमा विभागका शाखा अधिकृत हरि प्रसाद दाहालले उपभोक्ता अधिकार संरक्षणको लागि संस्थागत व्यवस्था, अर्का शाखा अधिकृत रमेश प्रसाद रिजाले उपभोक्ता संरक्षण ऐन २०७५ को वारेमा कार्यपत्र प्रस्तु गरेका थिए । à