© २०२३
बुटवल उप–महानगरपालिकाले उपभोक्ता समितिहरूलाई अभिुखिकरण प्रदान गरेको छ । उपमहानगरका १९ वटा वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई छुट्टाछुट्टै भेला गरेर दिगो विकासमा ध्यान दिन निर्देशन दिएको हो । उपमहानगरले योजना छनौट देखि त्यसको कार्यान्वयन र प्रतिवेदन तयार पार्ने सम्मका कामहरूलाई व्यापक छलफल गरेर मात्रै अगाडि बढाउन समेत आग्रह गरेको छ । उपभोक्ता समितिहरूका लागि उपमहानगरपालिकाले नयाँ प्रावधानका बारेमा अभिमुखीकरण पनि गराउन सुरु गरेको छ ।
नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, योजना तथा लेखा शाखाका अधिकृत तथा प्राविधिकहरूले विभिन्न विषयमा अभिमुखीकरण गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । नगर र वडा स्तरीय योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको प्रवक्ता रेग्मीले बताए ।
बुटवलका सबै वडाहरूमा गरी हाल छ सय वटा उपभोक्ता समितिहरू गठन भइसकेका छन् । भने ती समितिहरूले पाँच सय भन्दा धेरै योजनाहरू छनौट गरेका छन् । गत भदौ पहिलो सातादेखि नै उपभोक्ता समिति गठन भएका छन् । यी समितिहरूले एक करोड रूपैयाँ सम्मका कामहरू गर्न सक्ने छन् । सार्वजनिक खरिद ऐनको प्रावधानमै रहेर उपमहानगरले योजनाहरूलाई उपभोक्ता समितिमार्फत गराउँदै आएको फरफारक समितिका संयोजक समेत रहनुभएकी उपप्रमुख गुमादेवी आचार्यले बताए ।
योजना निर्माणका प्राविधिक पक्ष, उपभोक्ता समितिको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी सार्वजनिक खरिद ऐन नियमावलीको व्यवस्थाका बारेमा जानकारी गराइने छ । यस्तै विल भरपाई तयारी, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल भुक्तानीसम्मका व्यवस्थाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए । उपभोक्ता समितिलाई योजना फरफारक तथा योजना हस्तान्तरण, समितिको बैठक र सार्वजनिक परीक्षणका बारेमा अभिमुखीकरण गराइएको योजना शाखाका वरिष्ठ अधिकृत डोलराज अर्यालले जानकारी दिए । बिहीबार वडा नं. १, २ र ३ का उपभोक्ता समितिहरूका लागि अभिमुखीकरण गराइएको थियो ।
वडा अध्यक्ष महेन्द्रप्रसमद लिगलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरको दृष्टिकोणका बारेमा प्रमुख र उपप्रमुखले प्रष्ट परेका थिए । कार्यक्रममा लेखा शाखाकी सरस्वती भुर्तेल, प्राविधिक रुक्मागत बस्याल तथा जनप्रतिनिधि सरस्वती कुवँर र अधिकृत एकनारायण खनाललगायतले सहजिकरण गरेका थिए ।