© २०२३
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ८, साविक विसुनपुर गाविस खुल्ला दिसामुक्त वडा घोषणा भएको छ । वडामा रहेका कूल ७०२ घरधुरीमा शौचालय निर्माण भएपछि मंगलबार वृहत कार्यक्रमका बीच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । यो सँगै शिवराज नगरपालिकाको ११ वटा वडामध्ये ९ वटा वडा खुल्ला दिसामुक्त वडा घोषणा भइसकेका छन् । बाँकी रहेका वडा नं. ६ र ७ लाई पनि छिट्टै खुल्ला दिसामुक्त घोषाण गर्ने लक्ष्य अनुरूप अभियानलाई तीब्र रूपमा अगाडि बढाइएको नगर उपप्रमुख शिवकुमारी थारुले बताइन् ।
वडा नं. ८लाई खुल्ला दिसामुक्त घोषण सँगै आगामी दिनमा शौचालयको नियमित प्रयोग हुनुपर्ने, शौचालयको सही प्रयोग भए नभएको अनुगमन गरिने र अब खुला ठाउँमा दिसा गरेको पाइए कारबाही समेत हुने नगर उपप्रमुख थारुले चेतावनी दिइन् । कार्यक्रममा बोल्दै थारुले सबैले आफ्नो आनीबानीमा परिवर्तन ल्याई शौचालयको प्रयोग गर्नुपर्नेमा सुझाव दिइन् । कार्यक्रममा वडासचिव शंकर अहिरले शौचालय निर्माण भएको प्रतिबेदन प्रस्तुत गर्दै वडा नं. ८ लाई खुल्ला दिसामुक्त वडा घोषाण बनाउन सहयोग पु¥याउने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिए । अब शौचालयमा नै गएर दिसा गर्ने बानी बसाल्नु पर्ने अध्यक्ष अहिरले वडाबासीलाई अनुरोध पनि गरे ।
कार्यक्रममा शिवराज नगरपालिका सरसफाई दुत महादेव पोखरेलले लामो प्रयासपछि वडालाई खुल्ला दिसा मुक्त बनाउन सकिएकोमा खुशी व्यक्त गरे । सरसफाई र आनीबानीमा परिवर्तन गर्दै अब पूर्ण सरसफाई घोषणातर्फ लाग्नुपर्नेमा पोखरेलले जोड दिए ।
नगरपालिकाका सम्पूर्ण वडासहित सिंगो नगरपालिकालाई छिट्टै खुल्ला दिसामुक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले जोड दिए । कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं. ६ का अध्यक्ष सन्तरीप्रसाद कुर्मी, वडा नं. ७ का अध्यक्ष अनुप कुमार चौधरी, वास अफिसर राजेश चौधरी, स्वास्थ्य स्वयम् सेविका, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडाबासी, संचारकर्मी लगायतको उपस्थितिमा वडालाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको हो । नेपाललाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य अनुरूप शिवराज नगरपालिकाले अभियानलाई सशक्त रूपमा अंगाडि बढाउँदै आएको छ ।