© २०२३
रूपन्देहीको देवदह –७ शित्तलनगरमा स्वर्णिम श्रीमद् देवी भागवतपाठ, श्रीमद्भागवत भक्ति महायज्ञ २०७५ शुरु भएको छ । महायज्ञको एक कार्यक्रमका बीच प्रदेश ५ का पर्यटन वन तथा बातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन् ।
सोही अवसरमा बोल्दै मन्त्री गिरीले धर्मको माध्यमबाट कुरिती र कु–संस्कार न्युनिकरण सकिने हुदा समयसापेक्ष गरिने कर्मकाण्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । मन्त्री गिरीले देवदह अध्यात्मिक नगरीको रूपमा परिचित भइसकेको अवस्थामा बेलामौकामा गरिने यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
उनले दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिले चालेको धर्मशाला बनाउने अभियानलाई प्रदेश ५ ले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुर्गापञ्चायतन मन्दिर देवदहको आयोजनामा भएको महायज्ञ कार्तिक १ गतेसम्म संचालन हुनेछ ।
मन्दिर परिषरमा धर्मशाला तथा मन्दिरको भौतिक निमार्ण गर्ने उद्धेश्यले उक्त यज्ञ संचालन गरेको यज्ञ सम्पादन मुल समितिका संयोजक रमेशचन्द्र रेग्मीले बताए । कार्यक्रममा प्रदेश ५ प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरप्रमुख हिराबहादुर खत्री, देवदह ७ का वडा अध्यक्ष पदम थापा लगायतले आ–आफ्ना भनाई राखेका थिए । यज्ञको अवसरमा कलशयात्रा पनि सम्पन्न भएको छ ।
शित्तलनगर देखि शुरु भएको कलशयात्रा खैरेनीको लोकेश्वर मन्दिर हुदै पुन महायज्ञमा गएर सभामा परिणत भएको थियो । कलशयात्रामा स्थानिय महिला समुह, क्लब, टोलसुधार समिति, बिभिन्न संघसस्थाहरू गरी ३३ वटा समुहहरूको सहभागिता रहेको कलशयात्रा समितिका संयोजक कमला न्यौपानले बताइन् । ९ दिनसम्म संचालन हुने महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजीको मुखार विन्दबाट कथा प्रवचन हुनेछ ।
महायज्ञमा १ करोड उठाउने लक्ष्य रहेको हुँदा २० लाख अनुमानित खर्च हुने र बाँकी रकम भौतिक संरचनामा खर्च गरिने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराज मरासिनीले बताए । महायज्ञ गर्नको लागि ५६ वटा उपसमितिहरू निर्माण गरी कामको थालनी गरिएको सम्मान एवं प्रमाणपत्र व्यवस्थापन उपसमितिका संयोजक कृष्ण न्यौपानेले बताए ।