© २०२३
बुटवल, १० मंसिर । बन्यजन्तु बाघको छाला ( अखेटो पहार) सहित प्रहरीले एक जनालाई कपिलबस्तुको होटलबाट पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुदै गरेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलबस्तुबाट खटिएको प्रहरी निरिक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकमा प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ का ४१ वर्षिय विष्णु प्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।
लजको काउन्टरमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई खान तलासी गर्दा सेतो प्लाष्टिकको बोरामा लुकाई राखेको पाटे बाघको छाला भेटिएको प्रहरीले बताएको छ । उक्त छालालाई टाउको देखी पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चारवटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखीने ३ वटा सानो प्वाल रहेको अवस्थामा भेटिएको प्रहरी निरिक्षक शाहको बताए ।
उक्त छालालाई रितपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि उक्त बन्य जन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरको मोटरसाईकल सहित निज बिष्णु प्रसाद भट्टराईलाई डिभिजन बन कार्यालय, चन्द्रौटा कपिलवस्तु पठाईएको छ ।