© २०२३
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नेपालमा पनि महिला हिंसाको अन्त्य गरौं, समाजलाई समुन्नत बनाऔं भन्ने नाराका साथ यो दिवस मनाईने भएको छ । नेपालमामात्रै होइन बिश्वभर नै प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । यो अभियान सुरु हुँदै गर्दा अहिलेपनि महिलाहरूमाथिका अनेक प्रकारको हिंसा रोकिएको छैन । महिलाहरूले अनेक हिंसाको ताण्डब सहनु परेको छ । नेपालमा अहिलेपनि एक बर्षमा करिव २० हजार महिला तथा बालबालिकामाथि हिंसा नेपाल सरकारले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लोसमय नेपालमा महिलामाथि अनेक प्रकारका विभेदका घटना रोकिएको छैन बरु झनै बृद्धि भैरहेको छ । हाम्रो सनातन धर्म संस्कृतिले नारी सदैव पुज्यते भनेको छ तर नारीमाथि नै विभेद र यातनाको श्रृंखला जारी छ । यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता । अर्थात जहाँ नारीको सम्मान पुजा हुन्छ, त्यस स्थानमा देवताको बास हुन्छ भनिएको छ । बिडम्बना मनुस्मृतिको यो कथन अहिलेको परिस्थितिमा ठिक उल्टो हँुदैछ । यो दिवस मनाउँदै गर्दा नारी सम्मानित हुन नसकेको, हिंसामुक्त हुन नसकेको अवस्था चिन्ताजनक बिषय हो । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एसियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् ।
नेपालको संविधानले लैंगिक भेदभाव नगर्ने व्यवस्था गरेको छ । तर पनि देशमा कुरीति, कुप्रथा, बोक्सी, छाउपडी, दाइजो, बालविबाह, बलात्कार, हत्या, एसिड आक्रमण लगायतका धेरै घटना भैरहेका छन । हरेक दिनजसो महिलामाथि कुनै न कुनै प्रकारको विभेद भैरहेको छ । महिला विरुद्ध हुने हिंसा रोक्न सरकारले विभिन्न पहल गर्दै नगरेको होइन । यसका लागि कानुनी तथा नीतिगत व्यवस्था, संरचनात्मक तथा संस्थागत व्यवस्थाका साथै चेतना अभिवृद्धि विस्तारका नीतिहरू व्यवस्था गरिएका छन् तर महिला हिंसाका घटनामा कमी होइन झनै बढिरहेको छ । प्रहरीको तथ्याँक अनुसार एक वर्षमा देशभर लैङ्गिक हिंसाका करिव २१ हजार घटना भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै सन्दर्भमा महिलामाथि घरेलु हिंसाका घटना सुन्नु परिरहेको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । अहिलेपनि हाम्रो समाज पुरुष प्रधान छ । पुरुष प्रधान समाज भएकै कारण महिलामाथिको यातना र विभेदका घटना बढिरहेको छ । महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूपमा पछिल्लोसमय परिवर्तन आईरहेका छन । महिलामाथि क्रुर यातना दिने गरिएका प्रशस्त उदाहरण हाम्रै समाजमा छन । जबसम्म महिलामाथि सम्मानको वातावरण तयार हुँदैन, तबसम्म महिला हिंसाका घटनाले निरन्तरता पाईनै रहने छ । यद्यपि पछिल्लोसमय लैंगिक हिंसा न्यूनिकरणका लागि प्रयास भने नभएको होइन् । अवको दिनमा हिंसा न्यूनीकरणमा हामी सवैको ऐक्यबद्धता जरुरी छ । फेरिपनि हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सवैको ऐक्यबद्धताको खाँचो छ । लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानमा मात्रै होइन, सदैब यसविरुद्धको सकृयता र सजगता आवश्यक छ । विश्व समुदायले महिला हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन अव ढिलाई गर्नु हुँदैन ।