© २०२३
गाउँपालिका महासंघ प्रदेश ५ को प्रथम भेला तथा अधिवेसनको लागि प्रदेश ५ का सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाका प्रतिनिधिहरु बुटवलमा भेला भएका छन् । स्थानीय तह र प्रदेश सरकार र केन्द्र बीचको साझा अधिकार लगायतका विषयभा साझा एजेन्डा तय गरी अगाडी बढ्नुको साथै अहिले तदर्थ समितिको रुपमा रहेको गाउँपालिका महासंघ प्रदेश ५ नयाँ नेतृत्व समेत गठन गर्ने गरी भेला आयोजना गरिएको हाल महासंघका अध्यक्ष तथा गुल्मी छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
उनका अनुसार ७३ वटा गाउँपालिकाका प्रमुख र उप प्रमुख र वडा स्तरबाट वडा अध्यक्ष र एक जना सदस्य गरी प्रत्येक गाउँपालिका बाट ४ जनाको प्रतिनिधित्व भेलामा हुनेछ । बुटवलको योगीकुटीमा रहेको दरवार लवनमा सोमबार (आज) बिहान ११ बजे आयोजना गरिएको कार्यक्रमको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । गाउँपालिका महासंघ प्रदेश ५ का अध्यक्ष पन्थका अनुसार कुल २ सय ९२ जना जनप्रतिनिधिहरुको जमघट बुटवलमा हुन लागेको हो । स्थानीय तहको पहिलो बर्ष कानुन निर्माण लगायतका विषयमा व्यतित भएको भन्दै गाउँपालिका महासंघ प्रदेश ५ का अध्यक्ष पन्थले अवको बर्ष विकास निर्माणको बर्षको रुपमा विकास गरिने गरी कार्य अगाडी बढाइएको जानकारी दिए । उनका अनुसार उपलब्धी बर्षको रुपमा यो बर्षलाई मनाउने गरी कार्य अगाडि बढाएका छौं’– उनले भने । स्थानीय तहको अवधि अनुसार नै गाउँपालिका महासंघको कार्यकाल रहने गरी नयाँ १७ सदस्यीय कार्य समिति समेत गठन गरिने छ । स्थानीय तहको दिगो व्यवस्थापनको लागि समेत प्रदेश भेलामा छलफल गरिने गाउँपालिका महासंघका सहसचिव तथा गौमुखि गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिए । स्थानीय तहले गरेका कार्यहरुको समेत समिक्षा गरी सोही अनुसारको कार्य अगाडी बढाउनको लागि भेलामा विशेष छलफल सहित बुटवल घोषणा पत्र समेत तयार गरिने उनको भनाई रहेको छ । à