© २०२३
जनचेतना र कानुनी ज्ञानको अभावले विपन्न, सीमान्तकृत नागरिक र महिलाहरूको न्यायमा पहुँच पुग्न नसकेको सरोकारवालाले बताएका छन् । सुरक्षा र न्यायको पहुँचमा सीमित मानिस पुगेपछि नागरिकको ठूलो हिस्सा अझै न्यायको पहुँचबाट बाहिर रहेको उनीहरूको भनाइ छ । नेपाल पत्रकार महासंघ रूपन्देही र सर्च फर कमन ग्राउन्डले आइतबार मणिग्राममा आयोजना गरेको “सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीबीच संवाद” कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
दुर्गम क्षेत्रका सामान्य मानिस पनि न्यायको पहुँचमा पुग्न नसकेको पैसाका कारण मात्रै होइन, अदालतमा प्रवेश गरेपछि या सरकारवादी मुद्दामा प्रवेश गरेपछि सरकारी वकिलकोमा पुगेर फैसला हुँदासम्म वर्षौं लाग्ने स्थिति रहेको जस्ता कारणले नागरिकले सही ढंगले न्याय पाउन नसकेको पनि उनीहरूको भनाइ छ । उनीहरूले स्थानीय तहमा न्यायिक समिति भएपनि उनीहरूप्रति नागरिकमा विश्वास नभएको उल्लेख गर्दै जनप्रतिनिधिले नागरिकको विश्वास जितेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जनप्रतिनिधि कुनै दल विशेषको नहुने भएकाले न्याय प्राप्त गर्ने मामिलामा नागरिक पनि दलीय भावनाबाट मुक्त हुनुपर्ने बताए । “जनप्रतिनिधि सबैका हुन् भन्ने भावनाको विकास नागरिकमा हुन जरुरी छ, जनप्रतिनिधिले पनि सबैलाई समान दृष्टिले हेर्नुपर्छ”–उनले भने ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त भै न्याय सम्पादन गरिरहेको जानकारी दिइन् । उनले अझै पनि नागरिकमा कुन विषयको उजुरी कहाँ गर्ने भन्ने ज्ञानको अभाव रहेकाले यसबारे जनचेतना जगाउनुपर्ने खाँचो औंल्याइन् । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन चापागाईले न्याय र सुरक्षा अदालत र प्रहरीसँग जोडिने विषय भएकाले यसप्रति दुवै निकाय गम्भीर र संवेदनशील बन्नुपर्नेमा जोड दिए । उच्च अदालत तुलसीपुर बुटवल इजलाशका उपरजिष्ट्रार नेत्र प्रसाद भुसालले सुरक्षाका कारण पनि जनता न्यायको पहुँचसम्म नपुगेको उल्लेख गर्दै अझै पनि ८५ प्रतिशत नागरिक न्यायको पहुँचबाट बाहिर रहेको बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कंडेल, सेलर्ड रूपन्देहीकी अध्यक्ष राधा भट्टराई, लेखक युवराज कंडेल, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, सदस्य विनोद परियार, सर्च फर कमन ग्राउन्डका फिल्ड को–अर्डिनेटर रुकया खातुन लगायतले सुरक्षा र न्यायमा सीमान्तकृत नागरिक र महिलाहरूको पहुँच पु¥याउन सञ्चारकर्मीले प्रमुख भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
à