© २०२३
विश्वमा बढ्दै गरेको मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमा जनचेतना बढाउन र ऐक्यबद्धता प्रदर्शन गर्न सन् १९९५ देखि हरेक वर्षको जुन १७ लाई विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । विश्व खडेरीविरुद्धको दिवसले वातावरण संरक्षण गर्न र दीर्घकालीन भूमि ब्यस्थापन गर्न महत्वपूर्ण योगदान पु¥याउने आशा गर्दै यो दिवसलाई विश्वव्यापी गरिएको हो । यो दिवस मनाईरहँदा नेपालले साँच्चै नै अहिले खडेरीको सामना गरिरहेको छ । लामो समयदेखि पानी नपर्दा जनजीवन आकुलब्याकुल भएको छ । गर्मी बढ्दै गएको छ । तराईमा मात्रै होइन काठमाण्डौंमा समेत तापमान ३५ डिग्री माथि पुग्नु साँच्चै चुनौतिको बिषय हो । त्यसमाथि काठमाण्डौंमा समेत पानी पर्ने क्रममा धेरै कमी आएको छ । जसका कारण खडेरीको समस्या उत्पन्न भएको छ । खडेरीकै कारण बोटविरुवामाथि ठूलो असर पुगेको छ । चुरेको विनास, वातावरण विनास, वातावरण संरक्षणमा बेवास्ता, जथाभावी जंगल फडानीकै कारण अहिले विश्व मरुभूमिकरणको मारमा छ । त्यसमाथि त्यही कारण आज खडेरीको अवस्था उत्पन्न भएको छ । बढ्दो कार्बनको उत्सर्जन, औद्योगिकरण त्यसका सहायक हुन । पछिल्लोसमय मानव जनसंख्या वृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै टुक्रा टुक्रा पारेर क्षयीकरण भएको छ । त्यो भनेको दुःखदायी अवस्था हो ।
खडेरीको बर्तमान अवस्था आउनु भनेको निश्चितरूपमा चिन्ताको कुरा हो । तराईमा यो बर्ष पुस माघमा समेत राम्रोगरि पानी आउन सकेन । लामो समय खडेरी पर्ने क्रम सुरु भैसकेको छ । कि खडेरी पर्ने, पानी बर्षिए क्षति सम्हाल्नै गाह्रो हुने अवस्था आएको छ । अतिबृष्टि र अनाबृद्धि हाम्रो मूख्य चुनौति पनि हो । वर्षेनी दोहोरिने भीषण बर्षा र त्यसपछिको पहिरोले साँच्चै चुनौति बढाएको छ । यी सवै नेपालमा जलवायु परिवर्तनका असरको परिणाम हुन । खासगरी बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीका दिनहरू बढ्दै गएका छन् । बाली पाक्ने र भित्राउने बेलामा झरी र असिना पानीले वर्षेनी बालीनाली खेतमै नष्ट हुन थालेको छ । वातावरणबीदहरूले वर्षाचक्रमा सानो परिवर्तन आउनासाथ सिचाईमा ठूलो समस्या आउने गरेको समेत बताएका छन । विश्वब्यापी उष्णीकरणको कारणले खडेरीका दिनहरू बढ्दै गएका छन् । जमिनमा सुख्खापन बढ्न थालेका विवरणहरू सार्वजनिक भैरहेका छन् । खडेरीले गर्दा समयमा धान रोप्न नपाएको, खडेरीले धानखेतमा धाँजा परेको, बालीहरू खेतमा डढेका दुखद दृष्यहरू वर्षेनी बढ्दै गएका छन । त्यसो त प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जगेर्नातर्फ अहिलेदेखि प्रयास भएन भने भावी पुस्ताका लागि ठूलो चुनौति सिर्जना हुनेछ । बर्षाले निम्त्याउने बाढी पहिरो जस्तै खडेरीको कारण उत्पादनमा भारी असर पर्ने निश्चित छ । त्यसका कारण विश्वले आगामी दिनमा खाद्यान्न समस्याको चुनौति सामना गर्नुपर्ने अवस्था छ । अवको दिनमा विश्वले खडेरी विरुद्ध लड्न ऐक्यबद्धता प्रदर्शन गर्नुका साथै खडेरी न्यूनिकरणको दिशामा रणनीति तय गर्नु आवश्यक भैसकेको छ । यो दिवस सोमबार नेपालमा पनि मनाइएको छ । तर, बन्द कोठामा र सीमित व्यक्तिको घेरामा मनाईने दिवसले सार्थक उपलब्धि दिदैन । तसर्थ यस्ता कार्यक्रम आम जनसमुदायको बढी भन्दा बढी सहभागितामा मनाउन सकियो भने त्यसले खडेरीविरुद्ध ऐक्यवद्धतामात्रै प्रदर्शन हुँदैन, वातावरण संरक्षण गरेर खडेरीको भयावह अवस्था नियन्त्रणमा पनि सहयोगी सावित हुनेछ । खडेरीको प्रकोप बढ्दै गरेको विद्यमान अवस्थामा दिवसले सार्थक निचोडका साथ विश्व समुदायलाई खडेरीविरुद्ध संघर्ष गर्न ऐक्यबद्धता जनाउन पहल गरोस् ।