© २०२३
बर्दिया, २९ चैत ।
बर्दियामा पछिल्लो समय केही परिवारहरूले बेपत्ता भएका आफन्तहरू नफर्कने भएपछि परम्परा अनुसार दाहसंस्कार गर्न थालेका छन् । २०५८ साल चैत २६ गते ठाकुरबाबा नगरपालिका वडा नंं. १ निवासी रामदास थारुलाई कार्यरत स्थानबाटै तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । त्यतिबेला देखि अहिले सम्मै उनको अवस्था बारे कुनै जानकारी भएको छैन् । परिवार थुप्रै बर्ष आशामा बसे, विभिन्न निकायमा धाइरहे र आयोगहरूमा निवेदन दिए तरपनि कतैबाट रामदास थारुको बारेमा कुनै खबर आएन । कुनै खबर नआएपछि परिवारले अन्ततः अब फर्कने अवस्था छैन् भनेर परम्परा अनुसार उनको बुधवार दाहसंस्कार गरिएको छ ।
रामदासकी छोरी अस्मिता कुस्माले भनिन–‘हामीले बाबाको अवस्था थाहा पाउन धेरै बर्ष लाग्यौं, तर अहिले त्यो आशा पनि मरेको छ । अब बाबा फर्किनु हुन्न भनेर हामीले काजकिरिया गर्यौँ । उनी भन्छिन, बाबा नभएको पीडा मैले र आमाले प्रत्यक्ष भोग्यौँ । आमाले मजदुरी गरेर हामीलाई पढाउनु भयो । त्यो संघर्ष भोग्नेलाई मात्र थाहा हुन्छ । गाँउघरमा पनि धेरै कुरा उठ्ने गरेको थियो, नातागोता र समाजले अब त अन्त्य गरौँ भन्ने सुझाव दिँदै आएका थिए । अन्ततः हामीले यो निर्णय लिएका हौँ ।
द्वन्द्व पीडित समिति बर्दियाका संयोजक मानबहादुर चौधरीले भने, “हामी दर्जनौँ परिवार सँग कुराकानी गरिरहेका छौँ ।
अधिकांशले अब आशा मरेको बताएका छन् । राज्यले बेपत्ता व्यक्तिहरूको अवस्थाबारे केही पत्ता लगाउन सकेको छैन् । उनीहरू अहिले सम्म जिवित छन कि मृत्यु भयो कुनै पुष्टि हुनु सकेको छैन । यस्तो अनिश्चितताले पीडितहरूलाई थप पीडामा राखेको छ ।’ चौधरीका अनुसार, बर्दियामा करिब ४५ जना बेपत्ता मानिसहरूका परिवारले अब परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिसकेको छन् ।
द्वन्द्वको बलिदानबाटै आज परिवर्तन सम्भव भएको बेपत्ता रामदासकी छोरी अस्मिता कुस्माले बताइन । उनले भनिन, हामीले परिवारको सदस्य गुमाएका छौं तर पनि न कुनै निकायले न सरकारले पीडा बुझेको छ तर हाम्रो पीडा सरकारले बुझ्नु पर्छ । उनने भनिन् शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सम्मानमा समेत राज्यको तर्फबाट बेपत्ता परिवारलाई प्राथमिकता दिनुपर्ने माग राखिन । बर्दिया जिल्ला द्वन्द्वकालमा सबैभन्दा प्रभावित भएको जिल्ला हो । द्वन्द्वकालमा सयौँ परिवारहरूले आफ्नो परिवारका सदस्य गुमाएका छन् । यिनीहरूको न त मनको मलहम लागेको छ न त न्याय पाएका छन् ।
सशस्त्र द्वन्द्व सकिएको दुई दशक बितिसक्दा पनि द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन । राज्य पक्ष र ततकालीन विद्रोही पक्ष दुबै क्रियाकलापबाट प्रभावित नागरिकहरू अझै पीडामा छन । बर्दियामा पछिल्लो समय केही परिवाले आफ्नो वेपत्ता आफन्तहरू अब कहिल्यै नफर्कने निश्चित गर्दै परम्परा अनुसार काजकिरिया तथा अन्तिम संस्कार गर्न थालेका छन् ।