© २०२३
चन्द्रौटा (कपिलवस्तु), २० फागुन । महिलालाई महिनावारी हुँदा र रातको समयमा जोखिम मोलेर शौचालय जानुपर्ने बाध्यता छ । एक किशोरीले कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापासँग गुनासो गर्दै भनिन् । कोहि शौचालय भएर पनि प्रयोग गदैनन्, आफूहरू नभएर खुला शौच गर्नु परेको दुःखेसो पोखिन् । देश खुला दिसा मुक्त गर्ने अभियान सञ्चालन भएसँगै कपिलवस्तु जिल्ला २०७६ सालमा खुला दिसामुक्त घोषणा भएको थियो । शौचालय नभएपछि पालिकाले पछिल्लो ३ वर्ष देखि शौचालय निर्माणको अभियान सुरु गरेको थियो । केहि साता पहिले कपिलवस्तुको गाउँपालिका अध्यक्ष थापा र कर्मचारीसहितको एक टोली वडा नम्बर–५ पिपरीमा पुग्यो ।
टोलीले शौचालय भए नभएको अवलोकन गर्दै थियो । केही शौचालय प्रयोग हुने गरेका थिए, केही प्रयोग बिहिन । अवलोकनका क्रममा ८ घर शौचालय भएको भेटियो । शौचालय नहुनेले पालिका अध्यक्ष थापासँग शौचालय निर्माण गरिदिन आग्रह गरेका थिए । कागजमा मात्र शौचालय निर्माण हुने र निर्माण भएका तर प्रयोग नभएपछि गाउँपालिकाले पुनः पूर्ण सरसफाई पालिका बनाउने योजना अघि सारेको छ ।
अनुगमन पश्चात् अभियानलाई पुनः तिव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले शौचालय नभएका घरधुरीको लगत तयार गरी शौचालय निर्माणमा जोड दिएको छ । शौचालय निर्माण नगर्ने जनप्रतिनिधि तथा कर्मचारीको सुविधा रोक्का गरी कारवाहीको दायरामा ल्याएको छ । शौचालय बनाउन अटेरी गर्ने जनप्रतिनिधि र कर्मचारीको सेवा सुबिधा बन्चित गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । कर्मचारी र जनप्रतिनिधिले शौचालय नबनाएकोलाई कारबाही गरिएको जनाइएको छ ।
‘पछिल्लो ३ वर्षमा विपन्न, अपाङ्गता भएका तथा एकल महिलाका घरमा शौचालय निर्माण गरिएको छ । संघीय सरकारको अनुदानमा ९ सय १३ घर धुरीमा नया शौचालय निर्माण भएको छ । वडा नम्बर ७ ले शौचालय नबनाउनेलाई कडाई गर्दा १ सय बढी घरधुरीमा आफैले शौचालय बनाएका छन् । यो वर्ष थप ७ सय शौचालय निर्माण हुने छ ।’ सरसफाई अधिकृत अर्जुन बेल्बासेले बताए । शौचालय बनाउन अटेरी गर्ने ८ जनप्रतिनिधि र २० कर्मचारीलाई कारवाही गरिएको उनको भनाई छ ।
हैसियत भएका तर शौचालय बनाउन अटेरी गर्नेलाई कडाई गरिएको छ । आगामी बैशाखसम्म अनिवार्य शौचालय बनाउन निर्देशन दिइएको छ । शौचालय भएकालाई सरसफाई कार्डको व्यवस्था छ । कार्ड नहुनेलाई पालिकाले उपलब्ध गराउने सबै सेवाबाट बन्चित गरिने तयारी गरिएको छ । २०७८ को जनगणना अनुसार गाउँपालिकामा ७ हजार ५९ घरधुरी मध्ये ३ हजार १ सय १९ घरधुरीमा शौचालय नभएको तथ्यांक छ । गाउँपालिकामा अझै करिब १ हजार बढी घरधुरी शौचालय बिहिन छ ।