© २०२३
सुन्दै आश्चर्य लाग्ने तर जीवनमा केही सिक्ने र केही उपमा दिन सहज हुने घटना हाम्रा विभिन्न पुराणहरूमा प्रसस्त पाइन्छन् । पुराणका घटनाहरूलाई मिथकको रूपमा लिने गरिन्छ । तर पुराणहरूमा वर्णन गरिए अनुसार सबै घटना यथार्थरूपमा भएका हुन भनिको छ तर कतिपय घटनहरू सम्भवका छन् भने कतिपय घटनाहरू असम्भव जस्ता पनि लाग्दछन् । आज स्रोत साधन प्राप्तिको समयमा ती सबै पुराणका घटनाहरू अभिनयका रूपमा आएका छन् । यो चलचित्रको विकासको परिणाम हो भन्ने लाग्दछ । आज धेरै पुराणका धेरै घटना श्रब्य दृश्यमा आएका छन् । जसलाई हेर्न वा सुन्न सकिन्छ । मिथ्या लाग्ने भए पनि मानव जीवनमा हुन सक्ने घटना रहेको हुनाले पनि केही घटना हिँजोका दिनमा र केही घटना आजका दिनमा भइरहेका जस्ता लाग्दछन् । मिथक वास्तवमा जो यथार्थ होइन जसलाई मिथ्या भनिन्छ । हुन त मिथक भन्नाले लोकले मानेको पनि भनिन्छ । पुराणमा भएका धेरै घटनालाई लोकले मानेको छ । चाहे राम चरित्रका कुरा होउन चाहे कृष्ण चरित्रका कुरा होउन । हरेक मानव जीवनमा केही कामलाग्दा कुरा रहेका छन् । यसकारण लोकले मानेको छ । रामायणमा रहेको रामको आदर्शको कुरा र कृष्ण चरित्रमा रहेको कृष्णको सत्यको जीत हुने कुरा सबैलाई मनमा लाग्ने कुरा हुन् । रावणको अत्याचारको अन्त्य रामबाट भएको हो भने विभिन्न असुरहरूको नाश कृष्णबाट भएका कथाहरूले सत्यको पक्षमा लाग्नुपर्छ भन्ने सन्देश दिएको छ । त्यसभित्रका केही हुन नसक्ने घटनालाई छोडेर समग्र मूल्यांकन गर्ने हो भने अहिलेपनि ती घटना वा कथाहरू विभिन्न परिवेशमा कामलाग्दा रहेका छन् । हामीले ती धर्मग्रन्थ वा पुराणमा भएका कुरालाई यो हो र यो होइन भनेर वहस गर्नुको साटो सारमा हेर्ने र व्यवहारमा खोज्नेगर्दा वेश हुन्छ भन्ने लाग्दछ । यसरी अर्को अर्थमा हेर्ने हो भने हिंजो प्रजातन्त्रका निमित्त लडेका प्रजातन्त्रवादीहरू र जनवादका निम्ति लडेका लोकतन्त्रवादी वा जनवादीहरू आज के उनीहरू प्रजातन्त्रवादी जस्ता र लोकतन्त्रवादी जस्ता देखिन्छन् ? जसले जतिसुकै भनेपनि अवस्था त्यस्तो देखिदैन । सबैभन्दा मिथक हिंजो उनीहरूले बोलेका कुरा थिए भन्ने लाग्दछ । किनकी हिंजो बोल्ने ठाउँमा थिए बोले, उनीहरूको हातमा सत्ता थिएन । आज उनीहरू गर्ने स्थानमा छन् तर गर्नुपर्ने जति गरेनन् यसकारण उनीहरूका बोली बचन मिथ्या हुन् भन्नुपर्दछ । यदि सिद्धान्त त्यही हो र व्यवस्था परिवर्तन भएपछि अवस्थामा पनि सुधार ल्याउनु पर्नेमा अवस्था झन खस्किदो छ भने हिंजो प्रजातन्त्रवादीले बोलेका, लोकतन्त्रवादी वा गणतन्त्रवादीले बोलेका सबै मिथ्या थिए किन नभन्ने ? यी सबै कुरा मिथकमा परिणत भएका छन् । हामीले हिंजोका पुराणका कुरा मिथक मान्यो र प्रजातन्त्रवादी र लोकतन्त्रवादीका कुरा अति सत्य मान्यौं तर कुरा ठिक उल्टो हुनगयो । यो प्रसंगलाई यही बिट मारौं । आज उठाउन खोजेको प्रसंग अलिक वेग्लै छ ।
केही समय पहिले रामायण र महाभारतका केही जनउपयोगी कुराको प्रसंग जोडेका थियौं । आज शिवसंगका केही टुक्राहरू जोडने विचार आएको छ । शिवजीका विभिन्न रूप, काम र व्यवहार शिवपुराणका अतिरिक्त अन्य विभिन्न पुराणमा वर्णन गरेको पाइन्छ । उनलाई कैलाश वासी भनिन्छ । जसलाई शिवलोक पनि भनिन्छ । हिन्दूहरूले मानी आएका तिन देवता ब्रह्मा, विष्णु र महादेव मध्यक एक देवताको रूपमा पुजिन्छन् । शिव थिए थिएनन्का वारेमा वहस छलफल हुँदैन । शिव कैलाशवासीको रूपमा लोकले मानेको छ । यिनको महिमा धेरैजनाले गाउने गर्दछन् । शिवारात्री फागुन कृष्ण चतुर्दशी तिथिका दिन मनाइने एउटा पर्व हो । यस दिन शिवको पूजा आराधना गरिन्छ । शिवका विभिन्न रूपको वर्णन गरिन्छ र उनको चरित्रको वारेमा पनि चर्चा गर्ने गरिन्छ । शिव पुराणभित्र पनि विभिन्न क्रियाकलापहरू रहेका छन् । शिवलाई उच्च देवताको रूपमा मानिने वा पूजिने हुनाले नेपालीहरूलाई शिवरात्रीको दिनमा नेपाल सरकारले विगत लामो समयदेखि विदा दिंदै आएको छ । शिवको महिमा त अन्य स्थानमा भन्दा समुन्द्र मन्थनमा बढता गाइन्छ । समुन्द्र मन्थनको समयमा शिव उपस्थित नभएको भए समुन्द्र मन्थन गर्दाको समयमा उत्पन्न विषले संसार भष्म हुन सक्ने थियो भनिन्छ । यस्तो विषलाई उनले पान गरेर आफ्नो घाँटी नै निलो बनाए भनिन्छ । आजभोली देखिने उनको तस्विर पनि घाँटी निलो भएको देखाइन्छ ।
शिवको आराधना गरेर धेरै देवता तथा दानवहरूले फाइदा उठाएको पढ्न पाइन्छ । एक दिनको कुरा हो भष्मासुर नाम गरेको एउटा दैत्यले शिवलाई प्रसन्न बनाएर केही वर माग्ने विचारले घोर तपस्यामा लाग्यो । उसको तपस्याले शिवजी प्रसन्न भएर उसलाई दर्शन दिए । जव भष्मासुरले शिवको दर्शन पाए उसलाई वर माग्न लगाए । भष्मासुरले शिवजीसंग “आफूले जसको शिरमा हात राख्यो उ तत्काल भष्म होओस” भनेर वर मागे । शिवले सोंच विचार नगरी तथास्तु भनिदिएछन् । भष्मासुरले गजवको वर पायो । उसल सबैभन्दा पहिले शिवले दिएको वर पूरा हो कि होइन जान्नका लागि शिवको शिरमा हात राख्न चाह्यो । यहीनेर विचार गर्नुपर्ने कुरा छ– जसले त्यस्तो शक्तिशाली वर दिए उसलाई खत्तम गर्नेगरी उनैका शिरमा हात राख्न चाह्यो । वर दिंदा विचार गर्नुपर्ने एउटा तर्क आउँछ भने अर्काेतर्फ जसले त्यस्तो शक्ति प्रदान गरेको हो उसलाई नै खत्तम पार्ने कस्तो खालको पटमुर्ख रहेछ भन्ने तर्कपनि आउँछ । जे होस शिवले वर दिएपछि उसले शिवको टाउकोमा आफ्नो हात राखेर परीक्षण गर्न चाहेकाले शिवजी उसबाट बच्नका लागि भागदौड गर्न लागे । उनी निकै लामो बाटो पारगरे तर भष्मासुरले उनको पिछा गर्न छोडेन । यो कुरा विष्णु कहाँ पुग्यो । विष्णुले यस घटनाबाट शिवलाई पार लगाउनु पर्छ भनेर एउटा सुन्दर स्त्रीको रूपधारण गरेर भष्मासुरको बाटो अवरोध गर्न पुगे । सुन्दर स्त्रीलाई देखेर भष्मासुर मोहित भयो । शिवजीको पिछा छोडेर सुन्दरीसंग भुल्न लाग्यो । सुन्दरीले भष्मासुरसंग विवाह गर्ने प्रस्ताव गरिन तर एउटा सर्तमा, सर्त के थियो भने ती सुन्दरीसंग नृत्य गर्नुपर्ने । सुन्दरीले आफू जे जस्तो गरेर नृत्य गर्छु त्यसैगरी नृत्य गर्नुपर्ने भनिन । भष्मासुर सुन्दरीप्रति मोहित भएको हुनाले उनको सर्त मान्न तयार भयो । यति रसमा डुवेर दुबैजना नाच्न लागे । यही मौका छोपेर सुन्दरीले आफ्नो हात शिरमा राखिन । त्यही सिको गर्ने क्रममा भष्मासुरले पनि आफ्नो हात शिरमा राख्यो तत्काल भष्मासुर भष्म भयो । शिवजीको ज्यान बच्यो । कथासार यही हो ।
पाठक वृन्द ! आज पनि हाम्रो मुलुकमा स्वदेशी र विदेशी भष्मासुर घुमिरहेका छन् र स्वदेशी विदेशी शिवसंग शिरमा हात राखेर भष्म गर्ने क्षमताका लागि वर मागिरहेछन् । सत्ता ढलाउने र उठाउने यसैको एउटा रूप हो । कहिले कता लहसिने र कहिले कता लहसिएर सत्तामा हालीमुहाली चलाउने भष्मासुरहरू अहिलेपनि त्यही दाउ र खेलमा छन् । हेरौ शिवजी भेटेर उनको शिरमा आफ्नो हात राख्न पाउँछन् कि बीच बाटोमा विष्णु भेटिएर नृत्य देखाएर भष्मासुरहरूलाई आफै भष्म हुने जगमा लैजान्छन् । यो भने केही समय पर्खेर हेर्न बाँकी छ ।