© २०२३
कर्मयोग शब्द हामीले धेरै सुन्दै र पढ्दै आएको शब्द हो, यद्यपि ’योग’ शब्द भन्ने बित्तिकै हामीहरू शारीरिक व्यायामका विभिन्न स्थितिहरूको कल्पना गर्न थाल्दछौं तर योग शब्द कुन प्रसङ्गमा प्रयोग भएको छ, त्यस अनुसार योगको सही अर्थ बुझ्न सके यस्तो द्विविधा अर्थात् भ्रम निवारण हुनसक्छ । योग शब्द ‘युज्’ धातुबाट बनेको शब्द हो । यसको अर्थ जोड्नु भन्ने हुन्छ । सामान्य अर्थमा भन्दा शरीर र मनलाई जोड्नु नै योग हो । श्रीमद्भगवत् गीतामा कर्मबाट फल प्राप्तिको लागि पाँचवटा कारण अर्थात् साधनको आवश्यकता पर्दछ भनेर व्याख्या गरिएको छ ।
अधिष्ठानं तथा कर्ता करणं च पृथक् विधम् ।
विविधाश्च पृथक् चेष्टा दैवं चैवात्र पञ्चमम् ।।
–श्रीमद्भगवद्गीता १८.१४
अर्थात् अधिष्ठान (स्थान) कर्ता करण (साधन) चेष्टा (प्रयत्न) र दैव । काम गर्न चाहिने मानिसको भौतिक उपस्थिति, काम गर्न सक्ने क्षमता तथा कामको बारेमा राम्रो ज्ञान र काम गर्ने मानिसको शारीरिक मानसिक अवस्था, काम सम्बन्धी आवश्यक सूचना र साधनको सहज उपलब्धता, काम गर्ने क्रममा विभिन्न चरणमा गर्नुपर्ने प्रयासका क्रियाकलापहरू जसले काम गर्ने मानिसलाई समयानुसार सुसुचित गर्दछ । यी पाँचमध्ये चारवटा कारण व्यक्तिगत प्रयत्नको सेरोफेरोमा हुन्छन् भने पाँचौं कारण मानिसको नियन्त्रण भन्दा बाहिर हुन्छ जसलाई दैवी कारण भनिन्छ ।
कर्म योगमा धर्म, दर्शन, आध्यात्मिकता, नैतिकता, जीवन र समाजको सम्बन्ध रहेको छ । कर्म योग भनेको कर्ममार्फत ईश्वर प्राप्ति गर्ने एक योग विधि हो । यसमा साधकले आफ्नो कर्तव्य निष्काम भावले गर्दछन् र फलको आशा राख्दैनन् । यसले साधकलाई आत्मज्ञान, समता, भक्ति र मुक्ति दिन्छ । कर्म योगको विस्तृत वर्णन गीतामा गरिएको छ । गीतामा कर्म योगको चार अंग बताइएका छनः निष्काम कर्म, समत्व भाव, ईश्वरार्पण र आत्मशुद्धि ।
निष्काम कर्मः यसको अर्थ हो कि साधकले कर्म गर्दा फलको आकांक्षा नराख्नु । फलको आकांक्षा राख्दा मन आसक्ति, लोभ, मोह, इष्र्या, द्वेष आदि दुष्ट भावनाहरूबाट पिल्सिन पुग्दछ । यसले मानव मनलाई अशान्त र अस्थिर बनाउँछ । त्यसैले साधकले कर्म गर्दा फलमा आसक्त हुनु हुँदैन, बरु कर्ममा आसक्त हुनु्पर्छ ।
समत्व भावः यसको अर्थ हो कि साधकले कर्म गर्दा सुख र दुःख, लाभ र हानी, जय र पराजय, मित्र र शत्रु आदिमा समान भाव राख्नुपर्छ । यस्ता द्वन्द्वहरूले मनलाई विकृत तुल्याउछन् । यसले मनलाई उतार–चढ़ाउ, आनन्द–दुःख, राग– द्वेष आदि भावनाहरूमा बदल्छ । त्यसैले साधकले कर्म गर्दा द्वन्द्वहरूमा उदासीन रहनु पर्छ ।
इश्वरार्पणः यसको अर्थ साधकले कर्म गर्दा त्यो कर्म ईश्वरको लागि अर्पण गर्नुपर्छ । ईश्वरको लागि कर्म गर्दा मनमा भक्ति, श्रद्धा, नम्रता, विनम्रता आदि गुण सहजै उत्पन्न हुन्छन् । यसले मनलाई शुद्ध र सात्विक बनाउँछ । त्यसैले साधकले कर्म गर्दा त्यो कर्म ईश्वरको लागि भनेर सम्झनु पर्दछ ।
आत्मशुद्धिः
यसको अर्थ साधकले कर्म गर्दा त्यो कर्मले आफ्नो आत्मा र मनको शुद्धि गर्नुपर्छ । आत्मा र मनको शुद्धि गर्दा मात्र साधकले आत्मज्ञान प्राप्त गर्न सक्छन् । आत्मज्ञान प्राप्त गर्दा मात्र साधकले मुक्ति पाउन सक्छन् । त्यसैले साधकले कर्म गर्दा त्यो कर्मले आफ्नो आत्मा र मनको शुद्धि गर्ने उद्देश्य राख्नुपर्छ ।
कुनैपनि कर्म गर्दा फलको सुनिश्चितता आफ्नो अधीनमा छैन भनेर कर्म नगर्ने भन्ने चाहिँ हुँदैन । कर्म गर्दै गरिएन भने प्रायः सबै सम्भावना स्वतः निस्क्रिय भइदिन्छन् ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।
–श्रीमद्भगवद्गीता २.४७
अर्थात् हाम्रो अधिकार केवल कर्म गर्नुमा छ । न कि फलमा । कर्मको फलको हेतु पनि नबन र काम नगर्न खोज्नुमा पनि तिम्रो आसक्ति नहोस् । कर्मको फल पाउनै पर्छ भन्ने आशक्तिबाट जब काम थालिन्छ तब मानिस त्यो फल प्राप्तिको साधन वा हेतु बन्न पुग्दछ । कामको हेतु वा साधन बन्न खोजियो भने मानिस अरूबाट सञ्चालित उपकरण जस्तो बन्न पुग्दछ । कर्मयोगी त्यो हो जसले समान विचार, भावना र बुद्धिका साथमा कर्महरू सम्पादन गर्ने काम गर्दछ । त्यस्तो कर्मयोगी कुनै पनि कर्मका राम्रा नराम्रा, धेरै थोरै, आदि इत्यादि फलका विषयलाई लिएर हर्ष र द्वेष गर्ने काम गर्दैन । चाहे काम गर्दै जाँदा अपेक्षा गरिए अनुसार प्राप्ति होस्, चाहे अपेक्षा गरिए अनुसार थोरै प्राप्त होस्, कुनैपनि अवस्थामा आफ्ना दृष्टिलाई समान राख्ने व्यक्तिलाई कर्मयोगी भनेर गीताले बताएको छ । यसै प्रसङ्गमा जब अर्जुनले कर्मसन्न्यास र कर्मयोगको श्रेष्ठताका बारेमा प्रश्न गरे, जवाफमा श्रीकृष्णले भन्नुभयो, ‘कर्मसन्न्यास र कर्मयोग यी दुवै उत्तिकै महत्वपूर्ण र परम कल्याणकारी छन् । तापनि कर्मसन्न्यास अलि गाह्रो हुन्छ । सहज, सरल र स्वाभाविक हुने हुनाले गृहस्थहरूका लागि कर्मयोग साधनादिका दृष्टिले पनि श्रेष्ठ छ ।’ यसको अर्थ अर्जुन सांसारिक थिए, गृहस्थ थिए । उनले कर्मसन्न्यासीहरूले जस्तै कर्मलाई त्याग गर्न सक्दैनथे । त्यसैले, भगवान् श्रीकृष्णले कर्मयोग गृहस्थहरूका लागि श्रेष्ठ हुने कुरा बताएका छन् । हामी जस्तो कर्म गर्छौं त्यस्तै फल प्राप्त पाउँछौं । राम्रो कर्मको राम्रो फल र नराम्रो कर्मको नराम्रो फल प्राप्त हुन्छ । मानिसलाई इश्वरले विवेक र बुद्धि दिएर कर्म गर्ने पूर्ण स्वतन्त्रता दिएका छन् । मानिसले चाहेमा सत्कर्म गरेर खुशी, शान्ति, सफल र आनन्दको मार्गमा अगाडि बढ्न पनि सक्छ र दुष्कर्म गरेर महादुःखमा पनि जानसक्छ । कर्म गरेपछि कर्मफल स्वतः आउने भएकोले कर्म गर्दा कर्ममा राम्रोसँग ध्यान लगाएर होसपूर्वक कुशलतम् तरिकाले कर्म गर्नु हाम्रो हातमा छ र त्यसबाट प्राप्त हुने फललाई अहोभावका साथ स्वीकार्नु पर्छ । राम्रो कर्म गर्नु हाम्रो हातमा छ र कर्म गर्न हामी स्वतन्त्र छौँ तर कर्म गरिसकेपछि प्राप्त हुने फलमा हाम्रो हात हुँदैन र कर्मफलमा हामी स्वतन्त्र हुँदैनौँ । त्यसकारणले कर्मबाट प्राप्त हुने फलमा आसक्त नभइकन कर्ममा ध्यान दिएर कुशलतापूर्वक कर्म गर्नुपर्छ, यो नै हाम्रा लागि कर्मयोग हो ।
कर्मलाई तीन तरिकाबाट सम्पादन गर्न सकिन्छ । कर्मलाई कर्तव्य सम्झेर फलको कुनैपनि आसक्ति नगरेर गर्ने कर्मलाई सत्वगुण भनिन्छ । कर्मबाट कसैलाई प्रभावित गर्नको लागि वा कर्म गरेबापत कुनै इच्छा वा उद्देश्य पूरा हुन्छ भने अर्थात् लोकको मनोकामनाका साथ कर्म गरिन्छ भने त्यो रजोगुण प्रवृत्ति हो । त्यस्तै कर्मलाई राम्ररी नबुझी वा लापरवाही तरिकाले गर्नु तामसिक कर्म हो । जसरी कुनैपनि सफलता स–सानो समयको सदुपयोगबाट मात्रै हुन्छ । त्यसैगरी जीवनको सफलता पनि हरेक क्षण–क्षणको सदुपयोगबाट मात्रै सम्भव छ । समय खेर फाल्नु भनेको आफ्नो जीवनको अमूल्य अंश खेर फाल्नु जस्तै हो । किनभने त्यो समय पुनः फर्केर आउँदैन । मानिसमा प्रकृतिजनित सत्व, रज र तमोगुण जन्मजात रूपमा नै आएका हुन्छन् । अर्थात् कुनै व्यक्तिले काम नगरी बस्नै सक्दैन र स्वतन्त्र रूपमा काम गर्दा जन्मदेखिको प्राकृतिक गुणका आधारमा गर्दछ । अतः त्यस्तो कामको फल कस्तो हुने भन्ने निर्णय सो काम गर्ने मानिसको सत्व रज तमो आदि गुणमा निर्भर रहन्छ ।
जुनसुकै कर्मलाई जबसम्म नैष्क्रम्य भावबाट गर्न सकिँदैन, तबसम्म त्यो कर्म बोझ बनिरहन्छ । बोझले अगाडि हिँड्नुपर्ने मानिसलाई उल्टो दिशामा धकेल्न थाल्दछ अर्थात् लक्ष्य प्राप्तिमा वाधा उत्पन्न गराउँछ । यस्तो अवस्थामा अगाडि तान्ने र पछाडि धकेल्ने विपरीत बलको मारमा मानिस पिल्सिन थाल्दछ, फलस्वरूप त्यो दुःख, पीडा मानसिक वा शारीरिक रोगका रूपमा देखापर्न थाल्दछ अर्थात् नैष्क्रम्य भाव बिना गरिने कामले उल्टो फल दिन्छ । कामलाई कुशल तरिकाले अथवा नैष्क्रम्य भावबाट किन गर्ने भन्ने द्विविधा पनि हुन सक्दछ । यसको प्रमुख कारण हो काम र जीवनमा सन्तुलन ल्याउनु । यसका लागि नैष्क्रम्य भाव एक उत्कृष्ट साधन हो । किनभने एउटा सन्तुलित मानिसले मात्र जीवनको सार्थकता वा उद्देश्यको बाटो पहिल्याउन सक्दछ । जीवनको उद्देश्य अथवा पुरुषार्थलाई धर्म अर्थ काम र मोक्षको क्रममा लिइन्छ । यसरी कर्म योग एक उच्च र उत्तम योग हो, जसले साधकलाई आत्मज्ञान र मुक्ति दिन सक्छ । कर्म योगले साधकलाई जीवनमा सफलता, सन्तुष्टी, शान्ति र आनन्द प्रदान गर्दछ ।