© २०२३
यतिखेर माघी मेलाको माहोल बढदै छ । हरेक बर्ष माघे सक्रान्तीमा नेपालका बिभिन्न धार्मिक क्षेत्र जस्तै रिँडी, त्रिवेणी, देबघाट, राम्दी जस्ता तीर्थस्थलहरूमा तिर्थालुहरूको भीड लाग्ने गर्छ । कतिपय तिर्थस्थलहरूमा त सक्रान्तीको दिनमा मात्र नभएर पाँच दिनसम्म मेला लाग्ने गरेको छ । मेला लागेका ठाउँहरूमा देशका बिभिन्न ठाउँहरूमा उत्पादित बस्तुहरू बिक्री गर्न लगिन्छ । हुम्ला, जुम्ला, मुस्ताड. जस्ता जिल्लाहरूमा निर्माण गरिएका काम्ला, नाम्ला, डोका, सोली, डालाडाली, सुपा, अनि खाने कुराहरूमा घाजी, ओखर, सिलादी, बिरेनुन जस्ता सामानहरू ल्याएर बिक्री गर्ने गरिन्छ । यो अवसरमा बिभिन्न साँस्कृतिक नाचगान गर्नेदेखि विभिन्न मनोरन्जन दिने लगायत नदी किनारमा स्नान गर्ने र मठ मन्दिरहरूमा पुजा आजा गर्नेदेखि आ–आफ्ना धार्मिक माहोल झल्किने गरेको देख्न सकिन्छ । परापूर्व कालदेखि परम्पराका रूपमा धार्मिक तथा सामाजिक रूपमा माघे सक्रान्ती मनाउने चलन चल्दै आएको छ । यो पर्व मनाउने पनि आ–आफ्ना तरिका छन । जातजातीका प्रचलन तथा भेषभुषाको आधारमा यो माघे सक्रान्ती मनाउने गरिएको छ ।
बिशेषगरेर देशको तराईका थारु जातीले माघे सक्रान्तीलाई सबैभन्दा ठूलो चाडको रूपमा मनाउदै आएका छन । यो चाडमा काम बिशेषले टाढा टाढा छरिएर रहेका आफन्तजन तथा परिवारका सदस्य घरमा फर्केर आउने गर्दछन । नाचगान गरेर मिठामिठा परिकार बनाएर खाने र ठाउँठाउँमा मेला लगाएर निकै रमाइलो गरेर यो पर्व मनाउने गरिन्छ । थारु समुदायमा माघी पर्व कसरी मनाइन्छ भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । माघीमा गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँट गर्ने, गएको वर्षभरिको कामको समिक्षा र नयाँ नीति नियम बनाउने आदि काम पनि थारु जातीले यसैबेला गर्ने गर्छन । वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारु समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको उनीहरू बताउँछन । आदिवासी जनजाती अन्र्तगत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० थियो । २०७८ सालमा लिइएको जनगणनाको पूर्णरूपमा तथ्यांक सार्वजनिक हुन बाँकी छ । तथापी नेपालको पूर्व, मध्य र पश्चिमी तराईमा यो समुदायको ठूलो बसोबास रहेको पाइन्छ । झापा, मोरड., सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिराहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड., बाँके, बर्दिया, सुर्खेत, कैलाली र कन्चनपुर गरी २२ जिल्लामा आदिकालदेखि नै थारु जातिको बसोबास रहेको पाइन्छ ।
बसाइसराईका कारण काठमाण्डौ उपत्यका लगायत अन्यत्र जिल्लाहरूमा पनि थारुहरूको बसोबास बाक्लिँदै गएको छ । तर, जहांँसुकै बस्दै आएपनि थारु समुदायका लागि माघी सबैभन्दा महत्वपूर्ण चाडका रूपमा रहेको पाइन्छ । कन्चनपुर र कैलालीको थारु समुदायमा पनि माघीका अवसरमा विशेष चहलपहल हुने गरेको पाइन्छ । सबैतिरका थारुहरूले माघी मनाउने तरिकामा लगभग समानता नै रहेको उनीहरू बताउँछन । माघीका दिन बिहानै उठेर नजिकैको खोलामा नुहाएर चेलीबेटीलाई चामल, दाल, नुन र दक्षिणाको रूपमा दिने चलन छ जसलाई मिस्राउ भनिन्छ । नयाँ लुगा लगाउने, ढिकरी भनिने थारु समुदायको विशेष परिकार जुन पिठोबाट बनाएर मम जस्तै बाफमा पकाएर खाने गरिन्छ तर त्यसमा मासु वा तरकारीको सट्टा गुलियो वस्तु राख्ने गरिन्छ । माछा, घोँंगी, गंगटा र सुँगुर बँगुरको मासु लगायत खानेकुरा खाएर, परिवारका अग्रज सदस्यहरूबाट आर्शिवाद लिने र आफुभन्दा सानालाई दक्षिणा सहित आशिर्वाद दिएर माघी मनाउने गरिन्छ । माघे सक्रान्तीको दिन बिहानै थारु समुदायका बच्चादेखि वृद्धसम्मले नदी तलाउ नजिकै भए त्यहीँं गएर नत्र घरमै नुहाउने चलन रहेको छ र यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास रहेको छ । कतै कतै अघिल्लो दिन चोकमा धुनी बाल्ने, रातभर भेला भएर जाग्राम बस्ने र बिहान भएपछि नुहाउन जाने गरिन्छ । नुहाएर आइसकेपछि चामलको सेतो टिका लगाएर चामल, नुन, दाल र दक्षिणाको मिश्राउ छुटयाउने चलन छ । छुटयाएको मिश्राउ सोही दिन वा भोलीपल्ट आफ्ना दिदीबैनी या चेलिवेटीलाई दिने गरिन्छ । मिश्राउलाई कतैकतै निसराउ पनि भनिन्छ । यसरी रमाइलो गरेर थारु जातीले माघी पर्व मनाउने गर्दछन् ।
थारु जातीले विभिन्न तरिकाले यो पर्व मनाउँछन भने हिन्दु धर्म मान्ने ब्राहमण क्षेत्री तथा अन्य जातीले मनाउने तरिका आफ्नै खाले छ । नेपालीहरूले परम्पराका रूपमा मनाउदै आएको माघे सक्रान्तिलाई जाती अनुसार बिभिन्न नामले पुकार्ने गरिन्छ– जस्तै मकर सक्रान्ती, माघी, माघे सक्रान्ती र खिचडी आदि छन । उक्त दिनमा नेपालमा सार्वजनिक विदा दिने चलन छ । माघे सक्रान्तीका दिन नेपालमा विभिन्न नदीनाला, तलाउ तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पुजाआजा गर्ने प्रचलन रहेको छ । माघे सक्रान्तीका दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर सक्रान्ती भनिएको हो भन्ने भनाई रहँदैआएको छ । सोही दिनदेखि सुर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हँुदा दिन लम्बिँदै जाने र रात छोटिँदै जाने बिश्वास गरिन्छ । माघे सक्रान्तीका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, सखरखण्ड, आदी खाने चलन रहेको छ ।
यो दिनमा हिन्दु धर्म मान्ने सबै जातीमा चेलीवेटी बोलाउने, सखरखण्ड, तरुल, चाकु खिचडी आदी खान दिने र आफूहरूले पनि खाने चलन रहेको छ । जेहोस यो पर्वमा सबैको भेटघाट हुने, आफन्तको भेट हुने, चेलीबेटीहरूको भेट हुने, भान्जा भान्जी मावलीमा रमाउन पाउने आदीले गर्दा पनि यो माघी सबै नेपालीको एउटा पर्वका रूपमा रहेको छ । यो पर्बलाई बिभिन्न जातजातीले आ–आफ्नै तरिकाले मनाएपनि प्रायः सबै देशबासीले आफ्नै पर्बको रूपमा लिनुलाई राम्रो पक्ष मान्नुपर्छ । हाम्रो देशमा पर्यटन क्षेत्रलाई उकास्न पनि बेलाबखत मेला महोत्सव हुनु जरुरी छ । कसैले यो पर्ब अथवा कुनैपनि पर्बमा बिकृतीको रूपमा मदिरा सेवन गर्ने र मात्तिने गरेको पनि देखिन्छ । यस्तो गर्नु कुनैपनि हालतमा राम्रो होइन । सभ्य तरिकाले मितव्ययी भएर यो पर्व मनाउनु पर्छ । आफ्नो आर्थिक अवस्था हेरेर कुनै पनि चाडपर्व मनाउनु पर्छ । भनिन्छ– आयो चाड ढोलक बजाई, गयो चाड ऋण बोकाई भन्ने हुनुहुदैन । सबैले यो माघीलाई रमाइलो गरेर मनाउँ । परिवारमा खुसी भित्र्याउँ ।