© २०२३
शिक्षण एउटा गतिशील पेशा हो । पछिल्ला वर्षमा खासगरी सूचना सञ्चार प्रविधिमा भएको द्रूततर विकासका कारण परम्परागत ब्याख्यान विधि र पढाइ–लेखाइमा सिमित कार्यको विकल्पका रूपमा धेरै तरिकाका शिक्षण विधि प्रविधिको प्रयोग बढिरहेको छ । तसर्थ हरेक शिक्षकले आफूलाई समय सान्दर्भिक सिप विकास गरेर सक्षम पेशाकर्मी बनाउनु पर्ने भएको छ । उदाहरणका लागि कम्प्युटर चलाउने ज्ञान नभएको जुनसुकै पेशावाला ब्यक्तिलाई डाइनोसरसँग तुलना गर्न थालिएको छ । अर्थात् प्रकृतिसँग चल्न नसकेका कारण डाइनोसर लोप भयो । अब पनि सूचना प्रविधिको प्रयोग गर्न नसक्ने ब्यक्तिको अवस्था डाइनोसरकै जस्तै हुने देखिन्छ । शिक्षण, निजामति सेवा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, उद्योग ब्यवसाय आदि क्षेत्रमा ब्यापक परिवर्तन देखापरिरहेका सन्दर्भमा प्राथमिकता प्राप्त शिक्षण सिपहरूको चर्चा निम्नानुसार गरिन्छ ।
१. डिजिटल रूपान्तरण र मिश्रित सिकाइ पद्धतिः अब हामीले विद्यालय, कक्षाकोठामा डिजिटल प्रविधिको जडान, शिक्षक एवम् विद्यार्थीहरूलाई आवश्यक ग्याजेट्स्को उपलब्धता र सूचना प्रविधिको उपयोग कक्षा शिक्षणमा गर्ने सिप विकास गर्नु आवश्यक छ । बढी अन्तरक्रिया बढाउने डिजिटल माध्यमहरू, मोबाइल सिकाई एप्स् र कक्षाकोठामा भच्र्युअल सिकाइ संस्कृति विकास गरी सिकारुको सहभागिता र वैयक्तिक क्षमता रुची र आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने भएको छ । वास्तवमा अहिले विद्यार्थीहरूले अन्य अनौपचारिक माध्यमबाट प्रविधिको प्रयोग गरिरहेका छन् तर विद्यार्थीलाई बाटो देखाउने अधिकांश शिक्षकहरू र शिक्षालयहरू भने अहिलेपनि परम्परागत चक र टक पद्धतिमै सिमित रहेका छन् । सूचना प्रविधि सिप विकास गरी त्यसको उपयोग शिक्षण कार्यमा नगर्ने शिक्षकहरू नयाँ युगका डाइनोसर भएका र शिक्षण कार्यमा परिवर्तन आइरहेको छ भन्ने तथ्यलाई शिक्षक, प्रशासक र नीति निर्माता समेतले स्वीकार गरी सहजीकरण गर्नुपर्ने विद्वान ओे सुलिभानले भनेका छन् ।
अब डिजिटल अनलाइन शिक्षा र परम्परागत रूपमा शिक्षक–विद्यार्थी आमनेसामने भएर सञ्चालन हुने प्रत्यक्ष कक्षाको मिश्रित पद्धति अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । एउटा सानो पुस्तकमा भरिएका विषयवस्तुलाई सिमित कक्षा समयमा शिक्षकको सिमित शिक्षण सिपका आधारमा अबका बालबालिकाको ज्ञानको रहरलाई पूरा गर्न सक्ने देखिदैन । तसर्थ कक्षामा हुने शिक्षण सिकाइ प्रक्रियाका अतिरिक्त विभिन्न वेवसाइट, वेवटुल्स् र आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) का आधारमा बालबालिकालाई विशाल ज्ञानसागरमा विचरण गर्ने अवसर दिनुपर्ने आवश्यकता छ । उदाहरणका लागि संयुक्त राष्ट्र संघका कार्यहरू सम्बन्धी पाठ शिक्षण गर्ने क्रममा सामाजिक अध्ययन विषय शिक्षकले पुस्तकमा भएका विभिन्न बुँदाका बारेमा गर्ने ब्याख्या र यदि एउटा माध्यमिक तहको विद्यार्थीले संयुक्त राष्ट्रसंघका कार्यहरू संयुक्त राष्ट्रसंघको अफिसियल वेवसाइटमा हेर्न पुग्यो भने पक्कै पनि विस्तृत ज्ञान पाउन सक्छ । त्यसैगरी कक्षामा शिक्षण गरिने विषयवस्तुसँग सम्बन्धि तथ्य विषयवस्तुलाई गुगल क्लासरुममा राखिदिने र विद्यार्थीले घरमा उपलब्ध हुने मोबाइल वा कम्प्युटरमा हेर्न पाउने स्थिति बनाउनु आवश्यक छ । अधिकांश विद्यालय वा उच्च शिक्षासँग सम्बन्धित विषयवस्तु शिक्षण गरिएका अनलाइन कक्षा (मूक) उपलब्ध छन् । विद्यार्थीले यी अनलाइन कक्षामार्फत औपचारिक शिक्षाका विषयवस्तुलाई सहायक हुने कोर्सहरू लिन सक्दछन् । तसर्थ अब कक्षाकोठामा हुने शिक्षाका साथै अनलाइन शिक्षाको माध्यमबाट समेत ज्ञान प्राप्त गर्ने मिश्रित शिक्षा पद्धतिमा विद्यार्थीलाई अभ्यस्त गराउनु पर्ने बेला आएको छ ।
२. विषयवस्तु समायोजनः विद्यार्थीहरूमा पूर्व सिकाई अनुभव, भौगोलिक एवम् साँस्कृतिक पृष्ठभूमि, रुची जस्ता वैयक्तिक विविधता रहने भएको र सिकाई क्षमता वा गति पनि विविध हुने भएकोले एकै प्रकारको सामग्री सबै विद्यार्थीका लागि उत्तिकै उपयोगी हुन सक्दैन । तसर्थ कुन सामग्री कति मात्रामा कसलाई प्रदान गर्ने र त्यस प्रकारको सामग्री विषयवस्तुको पर्याप्तता कुन पुस्तकमा छ भन्ने निक्र्योल गर्ने काम शिक्षकको हो । त्यसक्रममा आवश्यकता अनुसार अध्ययन सामग्री वा पाठ्यपुस्तक सिंगै वा कुनै अंश समायोजन गर्ने, परिमार्जन वा परिवर्तन गर्न कार्य शिक्षकको हो । राज्यले तोकेको पाठ्यपुस्तक वा पाठ्यसामग्रीमै भर पर्ने जमाना गयो । अध्ययन सामग्री छापा वा अनलाइनप्रति हुनसक्छ । आजकल विद्युतीय सामग्री ब्यापक रूपमा निःशुल्क प्राप्त गर्न सकिने र मोबाइलमा कैद गरी प्रयोग गर्न सकिने मात्र होइन अब सामग्री धेरै समयसम्म राख्नपनि नपर्ने भएको छ । किनभने अनलाईन माध्यममा हरेक क्षणमा नयाँ नयाँ ज्ञानको सम्प्रेषण भैरहेको हुन्छ । तसर्थ धेरै बासी विषयवस्तुमा भर पर्नु शिक्षक स्वयम् नवीन ज्ञानसँग अद्यावधिक नभएको अर्थ लाग्दछ । यसरी विविध सामग्री संकलन गर्ने र आवश्यकता अनुसार पाठ्यांश उपयोग गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता छ । विषयवस्तु छनोटका क्रममा विज्ञान, प्रविधि सामग्री, ब्यवसायिक सिप विकास गर्ने सामग्री र भाषिक तथा अन्तरसाँस्कृतिक सम्बन्ध विकास गर्ने सामग्री अबको प्राथमिकतामा परेका छन् । अवको शिक्षा पद्धति ज्ञान जोगाएर राख्नेभन्दा ज्ञानको निरन्तर परीक्षण गर्नेतर्फ उन्मुख भएकोले शिक्षकका लागि विषयवस्तु समायोजन प्रमुख कार्य बनेको छ ।
३. कक्षाशिक्षणमा विविधता : अहिलेका बालबालिका परिवर्तन चाहने, एउटै कार्यमा लामो समयसम्म ध्यान मग्न हुन नसक्ने र शिक्षण कार्यमा विविध क्रियाकलापको अपेक्षा गर्ने खालका छन् । विभिन्न अनुसन्धानले ध्यान केन्द्रित हुने अवधि घटेर १२–१५ मिनेटमा झरेको बताएका छन् । त्यस्तै अनलाइन पद्धतिमा छोटो र विशिष्ट विषयवस्तु हेर्ने बानी परेकाले कक्षामा समेत त्यसै अनुसार अपेक्षा गरेका हुन्छन् । विद्यार्थीको सिकाई शैली प्राथमिकता, उत्प्रेरणा र सिकाई उपलब्धिकावीच सम्बन्ध हुने भएकोले फरकफरक प्रकारका क्रियाकलाप, धेरै क्रियाकलाप, पुस्तक र विद्युतीय सामग्रीको मिश्रित अभ्यास, प्रश्नोत्तर तथा समस्या समाधान विधि, सिर्जनशीलता, सहयोगात्मक परियोजना तथा प्रयोगात्मक कार्य, विषयवस्तुलाई खेल तथा मनोरञ्जनात्मक तरिकाले प्रस्तुति, जीवनोपयोगी सिप विकास र माध्यमिक तथा उच्च शिक्षामा ब्यवसायिक एवम् रोजगारमूलक शिक्षाको मात्र अब भविष्य छ ।
४. खेल तथा मनोरञ्जनः विषयवस्तुलाई खेलमा ढालेर खेल खेल्दै गर्दा विषयवस्तुको अभ्यास र सिकाइ हुने प्रत्यक्ष वा डिजिटल गेम्स्बाट विद्यार्थीको उत्प्रेरणा बढाउन सकिने र सिकाई उपलब्धि बढाउने सकिने देखिन्छ । उदाहरणका लागि विद्यार्थीलाई सकारात्मक वाक्यलाई प्रश्नबोधक वा नकारात्मक बाक्यमा परिवर्तन गर्न नियम सिकाउनुको सट्टा शब्द र चिन्हहरूको शब्दपत्ति बनाई विद्यार्थीलाई छरपस्ट टिप्न लगाउने र वाक्यको संरचना अनुसार शब्दपत्ति लिएर लाइनमा उभिन लगाउने खालको कार्य गराइयो भने विद्यार्थीले छिटो सिक्न सक्दछन् । शब्दको अर्थ वा शाब्दिक परिभाषा शिक्षणका क्रममा गल्लीको एउटा कुनामा शब्द र अर्को कुनामा अर्थ वा परिभाषा राखिदिने र विद्यार्थीले पहिला शब्द रोज्ने अनि मिल्दो परिभाषा वा अर्थ रोज्ने खेल खेलाउन सकिन्छ । हरेक विषयवस्तुलाई खेलको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ ।
शिक्षाले जीवन आनन्दमयी बनाउने, भय त्रासबाट मुक्ति दिने, मनोरञ्जनात्मक तरिकाले सिक्ने र भविष्य उज्ज्वल देख्ने, जीवन र जगतप्रति सकारात्मक भावना विकास गर्ने कार्य गर्दछ । तसर्थ विद्यालय जाँदा डराईडराई कराईकराई होइन कि रमाईरमाई जाने वातावरण बन्नु आवश्यक छ । समावेशी, सहयोगी, सुरक्षित, सभ्य संस्कृतिको विकास गर्ने शिक्षा आजको आवश्यकता हो । विषयवस्तुलाई गीति लयमा प्रस्तुत गर्न सकिन्छ । विधागत विविधता भयो भने सिकाई प्रभावकारी बन्दछ । विषयवस्तुलाई चित्रात्मक वा फरक विधा वा खेल वा दृश्यात्मक प्रस्तुति गर्नाले विविध बौद्धिकता भएको कक्षामा समेत सिकाई प्रभावकारी बन्दछ ।