© २०२३
कला शब्द आफैमा सुन्दा मन रसाउने शब्द हो । हरेक ठाउँ सिंगार पटारमा काम लाग्ने कुरा रहेछ कला । कला लेखन, बादन, गायन, नृत्य, चित्रकारी, साहित्य, मानव श्रृङ्गार, अध्ययन, अध्यापन तथा समान्य बोलीचालीमा मात्र नभएर राजनीति वा राजनीतिज्ञमा समेत कलाको आवश्यकता पर्दो रहेछ । कला यो ठाउँमा चाहिदैन भन्ने कुरा हुँदैन । कलाले हरेक विषयवस्तु र व्यक्तिलाई सुन्दर बनाउन सघाउँछ । साहित्यमा कलाको ज्यादै महत्वपूर्ण स्थान हुन्छ । हामीले बजारमा गएर खरिद गर्ने कुनै वस्तुमा पनि हामी कलाको चाहना गर्दछौं । आफूले चाहेको वस्तुमा आफूले सोचेको जस्तो कला (रंग वा बुट्टा) पाइयो भने हामीलाई वस्तु खरिद गर्न गाह्रो साँघुरो केही लाग्दैन । कुनैपनि मानिसले गहनाको प्रयोग गर्न चाहन्छ । यो किन भन्दा उसलाई अरूको सामुमा सुन्दर देखिन मन लाग्छ । त्यो सुन्दरता भर्ने काम गरगहनाले गर्दछ । यही गरगहना त्यो मानिसको लागि कला हो । त्यही गहना लगाएको कुनैपनि महिला वा पुरुषको काम व्यवहार र बोलीमा कलात्मकता रहेछ भने अझ सुगन्ध थपिन्छ । यसैलाई हो सुनमा सुगन्ध भन्ने गरेको ।
कुनै चित्रकारले चित्र तयार गरेर त्यसमा आवश्यक बुट्टा भर्न सक्यो भने त्यसको कला त्यही हो । वस्तुमा भरेको बुट्टानै त्यसको कला हो । लेखन तथा वाचनमा कला भएन भने त्यसबाट आवश्यक स्वादिलो भए जस्तो लाग्दैन । यहाँ उल्लेख गरिएका कुरामा मात्र नभएर हामीले परम्परादेखि मनाउँदै आएका रीति रिवाज, चाडपर्वमा समेत कला आवश्यक पर्दछ । हाम्रा हरेक चाडहरू कुनै मिलन वा कुनैै पुजासंग जोडिएका हुन्छन् भने कुनै नाचगान तथा खानपानसंग सम्वन्धित हुन्छन् । यसको आफ्नै किसिमको कला परापूर्वकालदेखि रहीआएको छ । यही परापूर्वकालदेखि चलिआएको कलात्मक शैलीमा हरेक चाडपर्व मनाउन सक्ने हो भने त्यसको आनन्द बेग्लै हुन्छ । वास्तविक चाड मनाउनुको अर्थ बोध हुन्छ ।
हामीले कलाको नाममा केही स्थान र चीजमा विकृति मिसाउन खोजेका छौं । सबैको शुद्धिकरण गर्ने भनेको राजनीति हो । आजभोली यही राजनीति कलाविहिन हुँदै गइरहेको छ । राजनीतिमा सिद्धान्त हुन्छ । यही सिद्धान्तले राजनीतिलाई कलात्मक बनाएको हुन्छ । जसले सिद्धान्त अनुसार व्यवहार गर्न जान्दैैन त्यहाँ कलाविहिन अवस्था रहन्छ । सिद्धान्त पनि आफैमा कलात्मक हुनुपर्दछ । सिद्धान्तमा बिकृत भर्ने काम कुरा कही कतै उल्लेख हुँदैन तर त्यही विकृत कामकुरा कुनै कोणबाट गरिन्छ भने त्यहाँको कला लोप भएको अवस्था मानिन्छ । यही कारणले राजनीति र राजनीतिज्ञबाट मानिस छिटै वाक्क दिक्क हुनजान्छ । नढाँटी भन्ने हो भने आजभोली भएको यही हो । यसलाई तितो यथार्थ भन्दा हुन्छ ।
कुनै कुनै मानिसले निकै मिठासपूर्ण ढंगले मन्तव्य राख्ने गर्दछन् । यस्तो मन्तव्य वा प्रवचनले स्रोतालाई मन्त्रमुग्ध पारिदिन्छ । एक टकले स्रोताले सुनिरहेका हुन्छन् । यो बोलीमा रहेको कला हो । शब्द चयन र बोलीमा रहेको माधुर्यता यस भित्रको कला हो । हामीले मधुर वचन सुन्न मन पराउँछौं तर यो बोलीको कला हो भन्ने बारेमा जानकार हुँदैनौ । यही बोलीमा कला हुन्छ भनेर जानेको भए सबैको वचनमा मधुरता हुने थियो । अध्ययन र अध्यापनमा पनि कला चाहिन्छ भनियो । यो उत्तिकै सत्य हो । कक्षामा अध्यापन गर्ने शिक्षक वा प्रशिक्षक सबैको कक्षा प्रभावकारी हुँदैन । यसो किन हुन्छ भन्दाखेरी उसको वचनमा कला हुँदैन, यसकारण प्रभावकारी हुँदैन । विद्यालय वा विश्वद्यिालयका अध्यापक वा प्राध्यापक सबैको प्रसंसा सबै विद्यार्थीले गरेको सुनिदैन । सबै अध्यापक वा प्राध्यापकको योग्यता उस्तै र उत्तिकै हुन सक्छ तर उस्तै र उत्तिकै योग्यता भए पनि उसको वाकशक्तिमा जुन कलाको कमी हुन्छ यसले उनीहरूको कक्षा प्रभावकारी मानिदैन । गोजीमा राखेको योग्यताको सर्टिफिकेटलेमात्र प्रभाव पार्न सक्दो रहेनछ । प्रभाव पार्ने भनेको उसको वचन या बोलीमा रहेको माधुर्ययता या कलात्मक शैली नै हो ।
हाम्रा बाद्यवादनका सामग्रीले विभिन्न धुन दिने गर्दछन् तर ती सामग्री कलात्मक तरिकाले बजाउन वा चलाउन जानेपछि मात्र त्यसले कलात्मक धुन दिन सक्छ । अन्यथा कर्णप्रिय धुन पाउन सकिदैन । अनि हामीलाई तत्काल झर्को लाग्ने हुन जान्छ । यसरी हेर्दा वाद्यवादनका सामग्री भएरमात्र हुँदो रहेनछ । त्यसमा रहेको कला उजागर गर्नका लागि वाद्यवादकको सीपमा पनि कला चाहिँदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । कुनै कसैको भवन वा सभाकक्षमा पनि कला चाहिन्छ । उक्त भवन कलात्मक छ भने त्यसको मूल्य नै फरक हुन्छ । यस्तै सभाकक्ष पनि कलायुक्त छ भने विभिन्न विचारका मनिस भए पनि त्यही सभाकक्ष प्रयोग गर्न चाहन्छन् । यहाँ लेखनमा कलाको कुरा समावेश गरिएको छ । वास्तवमा लेखनमा अरू क्षेत्र भन्दा बेशी कलाको आवश्यकता पर्दछ भन्ने लाग्दछ । साहित्यको जुनसुकै विधा भए पनि त्यसमा कलात्मकता चाहिन्छ । कला विना त्यो साहित्य पठनयोग्य हुँदैन ।
कलाको कुरा गर्दा यहाँ उल्लेख भएका कुरामा मात्र नभएर अन्य कुरामा पनि कलाको आवश्यकता पर्दछ । खेतीपाती गर्दा होस या पशुपालन गर्दा होस यसमा पनि कला पक्षको आवश्यक्ता पर्दछ । बालीबोट रोप्नु र घरको संरक्षणको लागि तारवार वा पर्खाल लगाउने काममा पनि मानिसले आजभोली कला खोज्न लागेका छन् । यस्तै पशुपालन र स्याहारमा पनि कलाको महत्व हुन्छ । यहाँहरूलाई बाली बोट र पशुपालनमा पनि कला ? भन्ने लाग्न सक्दछ । निश्चय पनि बालीवोट रोप्दा होस चाहे पशुपालनको स्थान वा घर पर्खाल निर्माणमा होस् हरेक स्थानमा कलाको आवश्यकता पर्दछ । तरकारी रोप्दा ठिक पंक्ति मिलाएर लगाइयो भने हेर्दा मनमोहक लाग्दछ । यसरी रोपेको बालीबोटमा फल टिप्न पनि सहज हुने र अझ त्यसलाई स्याहार्ने समयमा झन सहज हुने भएकाले थप आनन्द आउने छ । जुन वस्तुले मनमा शितलता दिदैन, जुन वस्तुले गाह्रो साँगुरो मनमा थपिदिन्छ त्यसले परिवारमा र समाजमा चिरा पार्दै रहन्छ । यसकारण कलाको महत्वलाई हरेक स्थानमा लगेर जोड्न सकिन्छ । बोलीको कलाले हरेक मनलाई लोभ्याउँछ । कलाको गुण भनेकै मन लोभ्याउने वा मनमा प्रभाव पार्ने कुरा रहेछ । जसरी साहित्यमा उल्लेखित शब्दले मन उद्वेलित बनाउने वा आनन्द दिने गरे जस्तै पत्थरमा भरेका बुट्टाले पनि त्यस्तै मन उद्वेलित बनाउँछ वा मन लोभ्याउने गर्दछन् । एउटा शब्दमा कति शक्ति हुन्छ ? यो ठीक स्थानमा प्रयोग गर्न जानियो भने त्यसले दिने मिठासको चर्चा लामो समयसम्म भईरहन्छ ।
कलाको चर्चा गर्दा सबैको माउ राजनीति भएकाले राजनीतिको नीति र राजनीतिज्ञहरू सबैभन्दा कलात्मक हुन्पर्दछ । जुन कुरा केही सयम पहिलेदेखि हाम्रो मुलुकमा कमी भएको छ । हाम्रा सडक चिल्ला हुनु, जमिन र जंगल हराभरा बनाउने काममा राजनीतिको ठूलो हात रहेको हुन्छ । मानिसका कुरा अलि परछन्, हरेक वस्तुले राजनीतिमा र राजनीतिकर्मीमा शुद्धता र कलात्मकता खोजेको हुन्छ । आज यसलाई शुद्ध बनाउने खाँचो खट्केको छ । यो शुद्ध र कलात्मक भयो भने हाम्रो साहित्य मात्र नभएर बालीवोटहरू पनि कलात्मक बनाउने सीप आर्जन हुनेछ । पहिले यसलाई शुद्धिकरण र कलात्मक बनाउतर्फ लाग्नु आजको कर्तव्य हो जस्तो लाग्दछ ।