© २०२३
दुई साता अघितिर पछिल्लो व्याचको एम.बी.बी.एस. परीक्षाको नतिजा आयो । त्यस अघि बी.ई.को नतिजा आएको थियो । यी नतिजापछि सम्वत् २०८० को दशैं आएको छ । वर्षौको मिहिनेतको वावजुद परीक्षामा अनुतीर्ण हुनेहरू त दुःखी हुने नै भए । तर परीक्षामा राम्रै अंक लिएर पास हुनेहरूलाई पनि म दुःखी नै देखिरहेको छु । तिनका आँखामा म अनन्त आशंका र भय देखिरहेको छु । तिनका अनुहारमा म त्यही भयले सिर्जना गरेको अनन्त जिज्ञासा र अनिश्चयको प्रतिविम्वि देखिरहेको छु ।
स्नातक पास गरेका नवयुवाहरू मेडिकल र इन्जिनियरिङ काउन्सिलको लाइसेन्स परीक्षाको तयारी गरिरहेका छन् । तर तिनको आँखामा उर्लिनु पर्ने जोशको नदी पूरै गायव छ । स्नातोकोत्तर पास गरिसकेका परिपक्व युवाहरूका आँखामा पनि जीवनबोधको गहिराई अनुपस्थित छ ।
यस्तो किन भएको छ भने मुलुकमा ती आफ्नो भविष्य देखिरहेका छैनन् । सरकारले लोकसेवा मार्फत रिक्रुटमेन्ट लिन छाडेको वर्षौ भइसक्यो । छात्रवृत्तिमा पढ्न पाएकाहरूले सरकारी शर्तहरू पूरा गर्न कठिन छ भन्दछन् । बेरोजगारीको बढोत्तरी उल्लेखनीय छ । स्वास्थ्यकर्मी र पेशाकर्मीहरूले दिनहुँ जसो कुटाई खाइरहेका छन् । विकृति, विसंगति र भ्रष्टचारले रजगज गरिरहेको छ । राम शाह पथबाट न्यायले उहिल्यै कुलेलम ठोकिसकेको छ । त्यसैले तिनका आँखामा दोधारमा अल्झिएका अस्थिर सपनाहरू छन् । आशंका र भय छन् । चरम निराशा र पीडाबोध छन् ।
ती सबै अस्थिर सपनाहरू, आशंका, भय र चरम निराशा अनि पीडाबोध हरेक वर्ष जस्तै यस वर्ष पनि अमेरिकी डी.भी. चिट्ठाको लामो लाइनमा उभिएर पोखिएको छ । अमेरिका पुग्न आज सिंगो र सग्लो युवा पिंढी किन मरिहत्ते गरिरहेको छ ? अमेरिका आज किन नानीरुको सपनाको गन्तव्य भएको छ ? किनभने तिनले देखिरहेका छन्–अयोग्य शासकहरूले अनवरत दुरभिसन्धि गरिरहेको देश हो यो । दुर्जनहरूले रजगज गरिरहेको देश हो यो ।
के छ अमेरिकामा त्यस्तो ? के हो अमेरिका ?
पृथ्वीनारायण शाहको पाला ताका ब्रिटीश साम्राज्यको दासतामा छट्पपटिइरहेको दुखिया देश न थियो अमेरिका ! दुई सय ४९ वर्ष अघि नै नेपाल राज्यको भौगोलिक जग बसिसक्दा अमेरिका स्वतन्त्रताको लडाई लड्दै थियो र सन् १७७६ मा मात्रै दासताबाट मुक्त भएको थियो ।
सयौं वर्षको देशीविदेशी गुलामी सहेर छिमेकी चीन स्वतन्त्र भएको जम्माजम्मी ७४ वर्ष भयो । शताब्दीयौं अनेकन साम्राज्यहरूको दासतामा पिल्सिएर अंग्रेज साम्राज्यको दासताबाट छिमेकी भारत मुक्त भएको जम्माजम्मी ७६ वर्ष भयो । हामी भने भाग्यमानी थियौं । हामीले विदेशी दासता सहनु परेन । त्यस्तो दासताका विरुद्ध लड्नु परेन ।
अमेरिकी स्वतन्त्रताको अढाई शताब्दी र चिनीया तथा भारतीय स्वतन्त्रताको पौने शताब्दीको अवधिमा तिनले गरेका काम र प्रगति भने आश्चार्यजनक देखिन्छन् । तिनले भौतिक विकास र पूर्वाधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । सुचना प्रविधिको उच्चतम विकासले ती अन्तरिक्ष युगमा पुगिसकेका छन् ।
सात समुद्रपारिको अमेरिका तथा दुबै छिमेकी चीन र भारतले नेपालको भूमिलाई रणनैतिक दृष्टिले हेरिरहेका छन् । राष्ट्रिय स्वार्थका लागि विकासका नाममा तिनले हाम्रा अघि अनेक प्रस्ताव राखिरहेका छन् । अनेक परियोजना लिएर आएका छन् । गरिबी निवारणका नाममा तिनले हामीसँग अनेक शर्तहरू राखिरहेका छन् । हामी भने लामो समयदेखि तिनका नजरमा याचक मात्रै भएका छौँ ।
चिरकालदेखि स्वतन्त्र रही आएको हामी, स्वतन्त्रताको त्यही इतिहासले दिने स्वाभिमानको खोक्रो बोक्रो ओढेर शताब्दीयौंदेखि चिरनिद्रामा सुतिरहेका छौं । कुनै पनि साम्राज्यको दास हुनु नपरेको गौरवबोधले छाती जति चौडा गरे पनि आत्मसम्मानपूर्वक बाँच्ने हाम्रो आधार भने दूरसम्म देखिदैन । हामीलार्ई मागेरै माघ कटाउने बानी लागेको छ ।
मुगलान वा खाडीमा पसिना बगाएर कफिनमा बन्द भई आउने दुखियाहरूको दुःख र पीडाको के कुरा ! तिनका क्षत्विक्षत् सपनाको के कुरा ! तिनले कमाएको रेमिट्यान्समा लात्तीको पार लाएर सत्ताको जुवा खेलिरहेका राजनीतिक खेलाडीरुको के कुरा !
यहाँ त स्वार्थहरूको तानातानमा सपनाको व्यापार भइरहेको छ । हाम्रा नानीहरूलाई अष्ट्रेलियाको सपना देखाइएको छ र ती देखिरहेका छन् । हाम्रा युवाहरूलाई अमेरिकाको सपना देखाइएको छ र ती देखिरहेका छन् । पाखुरीमा पाइन हुने सबै नौजवानहरूलाई सात समुद्रपारिको सपना देखाइएको छ र ती देखिरहेका छन् ।
किन हाम्रा नौजवानहरू सुदूरको सपना देख्न बाध्य छ ? किन ती आफ्नै माटोको सपना देख्नबाट वञ्चित छ ? किन ती आफ्नै देशलाई कर्मभूमि बनाउने सपना देख्ने हिम्मत गरिरहेको छैन ?
सपनाको व्यापार गर्न यहाँ बाहिरबाट कोही आएको छैन । सपनाको दलाल व्यापारी यहींका नेताहरू हुन् । राजनीतिक दलहरू छन् । न्यायधीशहरू हुन् । उच्चपदस्थ अधिकारीहरू हुन् । विचौलियाहरू हुन् । मानव तस्करहरू हुन् ।
यहाँ सपनाको दलाल व्यापारी भएर सबैभन्दा धेरै धन कमाउने कोही छन् भने नेताहरू छन् । दलहरू छन् । न्यायधीशहरू छन् । उच्चपदस्थ अधिकारीहरू छन् । विचौलियाहरू छन् ।
देशमा अनवरत सत्ताको खाल जमिरहेछ । राजनीति गन्दे जुवा भएको छ । श्री ३ महाराजाले इतिहासमा फुकुवा गरेको टुँडिखेल भएको छ सङ्घीयता । र, त्यो टुँडिखेलमा अनवरत जुवा चलिरहेको छ । देश त हेर्दाहेर्दै विचौलियाहरूको कर्मभूमि भएको छ । ठग र दलालहरूको स्वर्ग भएको छ । तस्कर र काला बजारीहरूको मैदान भएको छ । अनि न हरेक वर्षजस्तै यो वर्ष पनि पढे लेखेका नवयुवाहरू अमेरिकाको डी.भी. चिट्ठा भरेर नतिजा कुरिरहेका छन् । डी.भी. चिट्ठाको नतिजाले केही सय नेपालीहरूलाई सपनाको देशमा पु¥याउने छ । र, लाखौं युवाहरूलाई भने थप निरास पार्नेछ । ती लाखौं युवाहरू अन्ततः घरखेत दलाललाई बन्धकी राखेर लिएको रिन र पासपोर्ट सुम्पेर खाडीको भिसा कुरिरहेका हुने छन् ।
इतिहासमा कहिल्यै गुलाम नभएकाहरूका सन्ततिहरू भने निरन्तर गुलाम भइरहने छन् । आफ्नै पीडाबोधको गुलाम !आफ्नै सुदूर सपनाको गुलाम ! राजनीतिको गुलाम ! गरिबीको गुलाम । गुलामीको गुलाम ! अब केही तगर्नै पर्छ । गुलाम सन्ततिहरूले पुर्पुरो ठोकिरहेको दृश्य हेर्दै निरन्तर सत्ताको खालमा जमिरहेको राजनीतिलाई सही बाटोमा ल्याउन केही त गर्नै पर्छ ।