© २०२३
संसारमा रहेका हामी सबै प्राणीकी माता जसलाई हामीले विभिन्न नामले पुकार्दछौँ, ती माताका स्वरूपसँग सम्बन्धित नौ रूपहरू आफैँमा अत्यन्त महत्त्वपूर्ण छन् । यि नौ रूपहरूलाई हामीले नवरात्रका नौदिनसम्म अत्यन्तै विधिपूर्वक, श्रद्धापूर्वक पूजन गर्दछौँ । यो पूजनले हामीमा छुट्टै ऊर्जाको महसुस हुन आउँछ जसको फलस्वरूप हामी अन्यायकाविरुद्ध न्यायसङ्गत तरिकाले डट्नसक्ने, बोल्नसक्ने हुन्छौँ । हामीमा धर्म, अधर्म, कर्तव्याकर्तव्य आदि कुरासँग सम्बन्धित चेतनाको विकास हुन जान्छ । अझमुख्य कुरो त हामी मानव दुर्गासँग सम्बन्धित ऊर्जाको विकास हुन्छ । एउटै रूपमा रहेकी देवीकार्य विशेषले महाकाली, महालक्ष्मी र महासरस्वतीको रूप लिन्छिन् भने पुनःकार्यविशेषले नौ वटा रूपधारण गर्छिन् । दुर्गासप्तशती अर्थात् चण्डीमा यी नवरूपलाई यसरी चिनाइएको छ ।
पहिली शैलपुत्रीहुन् दोस्री हुन् ब्रह्मचारिणी ।
चन्द्रघण्ट भइन् तेस्री कूष्माण्डा चारमा रही ।
पाचौँमा स्कन्धमाताहुन् छैटौँ कात्यायनीअनि ।
कालरात्रीभइन् सातौँ महागौरी त आठ नि ।।
नवौँमा सिद्धिदात्री हुन् नवदुर्गा भनीकन ।
वेदले नै भनेका छन् प्राणीलाई बचाउन ।। (शेष–चण्डी)
१) शैलपुत्री (ॐ ऐं ह्रीँक्लीँ शैलपुœयैनमः)
नवरात्रको पहिलो दिन हामीले शैलपुत्री नामकी दुर्गादेवीको आराधना गर्दछौँ । संस्कृतमा शैल भनेको पहाड हो । पहाडका राजा हिमालयकी छोरी भएकीले यिनलाई शैलपुत्री भनिएको हो । दुईओटा हातभई दाहिने हातमा त्रिशूल एवम् देब्रे हातमा कमलको फूल लिएकी यी दुर्गा सेतो साँढेमाथि सवार छिन् । गौरी, पार्वती, हैमवती आदि नामले प्रख्यात यी देवीको विवाह भगवान् शङ्करसँग भएको कुरा त हामी सबैलाई थाहा नै छ । त्यस्तै पूर्वजन्ममा सतीदेवीको नामले प्रख्यात यी देवी कसरी र किन प्राण त्याग गरी अर्को जन्ममा पार्वतीको रूपमा हिमालय पर्वतकी छोरी भएर जन्मिइन् भन्ने कुरा पनि लगभग प्रत्येक नेपालीलाई स्वस्थानी व्रतकथाका माध्यमले अवगत नै छ । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई मूलाधार चक्रमा स्थिर गरी योग साधनाको सुरुवात गर्दछन् । त्यस्तै यी देवीको आराधनाले मानिसले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष सबै प्रकारका फल प्राप्त गरिने विश्वास रहीआएको छ ।
२) ब्रह्मचारिणी (ॐ ऐंह्रीँक्लीँब्रह्मचारिण्यै नमः)
नवरात्रको दोस्रो दिन हामीले ब्रह्मचारिणी नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । यहाँ ब्रह्मको अर्थ तपस्या भन्ने हुन्छ भने चारिणी भनेको आचरण गर्ने भन्ने हुन्छ । त्यसैले ब्रह्मचारिणीको अर्थ तपस्या गर्ने देवीभनेर बुझ्नुपर्ने हुन्छ । पूर्ण ज्योतिर्मय स्वरूपमा रहेकी यी देवीकापनि शैलपुत्रीकाजस्तै दुईओटा हात रहेका छन् । दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु लिएकी यी देवीको वाहनको बारेमा उल्लेख गरिएको छैन । हिमालय पर्वतकी छोरीको रूपमा जन्मिसकेपछि भगवान् शङ्करलाई तपस्या गर्दाको रूप नै ब्रह्मचारिणीका रूपमा जानिन्छ । त्यसैले शैलपुत्रीकै भगवान् शङ्करसँग विवाह हुनु पूर्वको कठोर तपस्या गर्दाको रूप नै ब्रह्मचारिणी हो । यी देवीको उपासनाले मानिसहरूमा त्याग, वैराग्य, सदाचार र संयमको वृद्धि हुन्छ । आफ्नो जीवनको कठिन र संघर्षमय समयमापनि मानिस आफ्नो कर्तव्य–कर्मबाट विचलित हुँदैन । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई स्वाधिष्ठान चक्रमा स्थिर गराउन सफल हुन्छन् । यी देवीको कृपाले मनुष्यलाई सबै कुराको सिद्धि एवम् विजयप्राप्त हुन्छ ।
३) चन्द्रघण्टा (ॐ ऐंह्रीँक्लीँ चन्द्रघण्टायै नमः)
नवरात्रको तेस्रो दिन हामीले चन्द्रघण्टा नाम गरेकी दुर्गा देवीको आराधना गर्दछौँ । यिनको शिरमा घण्टाकारको अर्धचन्द्र भएकोले यिनलाई चन्द्रघण्टा नामले पुकारिन्छ । यी देवीका विभिन्न शस्त्रास्त्र एवम् कमण्डलु आदिले युक्त दशओटा हात रहेका छन् । त्यस्तै यी देवी बाघमाथि सवार छिन् । युद्ध गर्ने मुद्रामा रहेकी चन्द्रघण्टा देवी सुनजस्तै पहेँलो वर्णकी छिन् । चन्द्रघण्टाको आराधनाले भक्तका भुलवश गरेका पापकर्म एवम् विभिन्न बाधाहरू नष्ट भई अलौकिक वस्तुहरूको दर्शन मिल्दछ । यी देवीको घण्टीको आवाजले अत्याचारी दैत्यादिभयभीतभई नजिकै पर्दैनन् भने भूत, प्रेत, पिचास आदिबाट हुनसक्ने बाधाहरू पनि नष्ट हुन्छन् । यिनको आराधनाले व्यक्तिमावीरता र निर्भयताको साथसाथै सौम्यताएवम् विनम्रपनको पनिविकास हुन्छ । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई मणिपुर चक्रमा स्थिर गराउन सफल हुन्छन् ।
४) कूष्माण्डा (ॐ ऐंह्रीँक्लीँ कूष्माण्डायै नमः)
नवरात्रको चौथो दिन हामीले कूष्माण्डा नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । संस्कृतमा कूष्माण्ड भनेको कुभिण्डो हो । कुभिण्डोको वलि मन पराउने भएर यी देवीको नाम कूष्माण्डा भएको हो भन्ने कुराको विश्वास रहँदै आएको छ । नाभिमात्रिविधतापयुक्त संसार भएकोले यिनलाई कूष्माण्डा भनिएको हो भन्ने कुराको पनि उल्लेख पाइन्छ । यी देवीको निवास सूर्यममण्डभित्र रहेको छ । कूष्माण्डा देवी विभिन्न शस्त्र, अस्त्र,कलश, कमण्डलु आदिले सुसज्जित आठ हातले युक्त भएकी छिन् । यिनी बाघमा सवार भएकी हुन्छिन् । यिनको आराधना गर्नाले मनुष्यलाई आयु, यश, बल एवम् आरोग्यता प्राप्त हुन्छ । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई अनाहतचक्रमा स्थिर गराउन सफल हुन्छन् ।
५) स्कन्दमाता (ॐ ऐं ह्रीँक्लीँ स्कन्दमात्रे नमः)
नवरात्रको पाचौँ दिन हामीले स्कन्दमाता नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । भगवान् स्कन्द अर्थात् कार्तिकेय कुमारको बालस्वरूपलाई सधैँ काखमा राखेर मायाप्रदानगर्ने हुनाले यिनलाई स्कन्दमाता भनिएको हो । यिनको वर्ण सेतो छ भने धेरैजसो यिनी कमलमा बसिरहन्छिन् । त्यसैले यिनलाई पद्मासनापनि भनिन्छ । यिनका हात चार छन् भने वाहन सिंह हो । यी देवीको आराधनाले भक्तका सबै इच्छाहरू पूर्ण हुन्छन् । त्यस्तै यिनको पूजा–आजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले युक्त हुन्छ । योगीजनले यी देवीको आराधनाकामाध्यमले आफ्नो मनलाई पुष्कलचक्रमा स्थिर गराउन सफल हुन्छन् ।
६) कात्यायनी (ॐ ऐंह्रीँक्लीँ कात्यायण्यै नमः)
नवरात्रको छैठौँ दिन हामीले कात्यायनीनाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । विश्वप्रसिद्ध महर्षि कात्यायनकीपुत्रीका रूपमा जन्मेकी हुनाले यिनको नाम कात्यायनी रहनगएको हो । माता कात्यायनीलाई अमोघ–फलदायिनीका रूपमा जानिन्छ । भगवान् कृष्णलाई पति रूपमा पाउन भनी व्रजका गोपिनीहरू कालिन्दी–यमुनाको तटमा कात्यायनी देवीको आराधना गरेका थिए । यिनको स्वरूप सुन जस्तै पहेँलो छ भने हातहरू चारओटा छन् । त्यस्तै कात्यायनी माताको आराधनाले मानिसले धर्म, अर्थ, काम, मोक्ष सबै प्रकारका फल प्राप्त गर्न सक्दछन् । मानिस रोग, शोक, सन्ताप, भयबाट मुक्तहुन सक्दछ । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई आज्ञा चक्रमा स्थिर गराउन सफल हुन्छन् ।
७) कालरात्री (ॐ ऐंह्रीँक्लीँकालरात्र्यै नमः)
नवरात्रको सातौँ दिन हामीले कालरात्री नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । यिनको वर्ण अत्यधिक अन्धकार जस्तै कालो भएकोले यिनलाई कालरात्री भनिन्छ । चार हातले युक्त यी देवी गधामाथि सवार हुन्छिन् । यिनको कपाल घुम्री परेको छ भने आँखा तीनओटा छन् । यी देवीको आराधनाले दुष्टको विनास हुन्छ । यी देवीको स्मरणमात्रले पनिभूत, प्रेत, पिचास आदिको भागाभाग हुने गर्दछ । त्यस्तै कालरात्रीले ग्रहजन्य दोषको पनि निवारण गरिदिन्छिन् । योगीजनले यी देवीको आराधनाका माध्यमले आफ्नो मनलाई सहस्रार चक्रमा स्थिर गराउन सफल हुन्छन् ।
८) महागौरी (ॐ ऐंह्रीँक्लीँमहागौर्यैः नमः)
नवरात्रको आठौँ दिन हामीले महागौरी नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । यिनी पूर्णतः गोरो वर्णले युक्त छिन् । यिनका चारओटा हात छन् भने वाहन साँढे हो । महागौरी देवीको रङ्ग पहिला एकदमै कालो थियो । भगवान् शिवले जिस्केर ए कालीभनेर पुकार्दा त्यो शब्द देवीजीलाई मन परेनछ । अनि उनले घोर तपस्या गरी वरदान पाई महागौरीका नामले प्रसिद्ध हुन पुगिछन् । उनै पार्वतीको आठ वर्षभित्रको रूप नै महागौरी हो । महागौरीको आराधनाले मानिसले अलौकिकशक्तिको आस्वादन गर्न पाउँछन् भने उनीहरूलाई कुनै किसिमका दुःखले छुन सक्दैनन् ।
९) सिद्धिदात्री (ॐ ऐं ह्रीँक्लीँ सिद्धिदाœयै नमः)
नवरात्रको नवौँ दिन हामीले सिद्धिदात्री नाम गरेकी दुर्गादेवीको आराधना गर्दछौँ । सबै किसिमका सिद्धिहरू प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको छ । मार्कण्डेय पुराण अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ती, प्राकाम्य, प्राकाम्य, ईश्वत्त्व गरी आठ किसिमका सिद्धि मानिएको छ । देवीपुराणअनुसार भगवान् शिवले पनि देवीको कृपाले यी सिद्धिहरू प्राप्त गरेका थिए । त्यस्तै उनको अर्धनारीश्वर स्वरूप हुनुको कारण पनि देवी सिद्धिदात्रीको कृपा हो । चार हातले युक्तकालरात्रीको वाहन सिंह हो । सिद्धिदात्रीको उपासना गर्दा जीवनका प्रत्येक पाटा सफल हुन्छन् ।