© २०२३
चन्द्रौटा (कपिलवस्तु), २२ भदौ । ‘पहिला मानव तस्कर प्रत्यक्ष सहभागी हुन्थे । अहिले त्यो काम सामाजिक सञ्जालले गरेको छ । प्रत्यक्ष भेट्न पनि नपर्ने, म्यासेन्जर, ह्वाइट्स एप, इमो जस्ता एप प्रयोग गर्ने गरेका छन् ।’— आफन्त नेपालका क्षेत्रिय संयोजक केशर विश्वकर्माले भने । उनी भन्छन्– ‘भारत पुगेपछि वा सीमामा समाएपछि मात्र थाहा हुन्छ । संस्थाले उद्वार गरेका ९० प्रतिशत घटनामा सामाजिक सञ्जालकै प्रयोग भएको देखिन्छ ।’
पछिल्लो समय यो मानव तस्कारको नयाँ स्वरूप देखिन थालेको मानव बेचबिखनमा प्रविधिको प्रयोग बढ्दै गएको मानव बेचबिखन रोक्न सीमा क्षेत्रमा कार्यरत विश्वकर्मा बताउँछन् । उनका अनुसार कपिलवस्तुबाट मात्रै गत आर्थिक बर्ष २०७९/०८० आफन्त नेपालले ११ हजार बढी नेपाली चेली भारत जाँदै गर्दा सचेत गराएको थियो । ४ हजार ६ सय बढी चेलीलाई सोधपुछ तथा परामर्श दिएको र भारतको विभिन्न शहरबाट १ सय ५४ जनाको उद्वार गरिएको आफ्नत नेपालले जनाएको छ ।
यस्तै अघिल्लो वर्ष एक अर्धबैँसे महिला र युवती साँझको समयमा जमुनाहा नाका हुँदै भारततर्फ जाँदै थिए । सीमामा रहेका बेचबिखन विरुद्धका सामाजिक अभियन्तालाई शङ्का लागेर रिक्सा रोक्न खोजे । अभियन्ताले केरकार गर्दैगर्दा अर्धबैंसे महिला रिक्सा छाडेर भागिन् । नेपालगन्जमा हुने धार्मिक पूजाका एक घण्टा बस्नका लागि भन्दै भदौ १२ गते बोलाइएकी १९ वर्षीया युवतीलाई पूजा हुने स्थान परिवर्तन गराउँदै भारत लग्न लागिएको थियो । उद्वारमा संलग्न शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीका अनुसार अवैध रूपमा भारत र भारत हुँदै तेस्रो मुलुक पठाउने महिला तथा बालबालिका सीमामा समाउन थालेपछि मानव तस्करले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन् ।
शान्ति पुनः स्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले भन्छन् — ‘अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक लैजाने महिला सीमामा रोकिन लागे पछि मानव तस्करले परिवारलाई प्रयोग गर्न सुरु गरेको छ ।’ सीमामा रोकिन थालेपछि भारतसम्म पुर्याउन घरका सदस्य नै जाने गरेका छन् । मानव तस्करले पहाडी तथा हिमाली क्षेत्रका विपन्न महिलालाई रोजगारको प्रलोभन देखाई ओसारपसार गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था र प्रहरीको निगरानी कडा हुँदै गएपछि मानव तस्करले तरिका परिवर्तन गरेको मानव अधिकारर्मीहरूको भनाई छ ।