© २०२३
एउटा नौजवान पुस्ता वनवासमा छ ।
एउटा घना वनमा ।
यो वन तिनका माटोमा जस्तै आँखालाई नै शीतलता दिने हरिया रुखविरुवाको वन होइन ।
यो वनमा गुराँस फुल्दैन ।
नदी र झरनाहरूको सङ्गीत सुनिदैन । चराहरूले गीत गाउँदैनन् । जन्तुहरू रमाई रमाई विचरण गर्दैनन् ।
यो वनमा घाँसदाउरा गर्ने चेलीहरू र गोठालाहरूको लोकभाका सुनिदैन ।
यो एउटा घना वन हो ।
कंक्रीट र स्टीलको गगनचुम्वी भवनरूपी सघन वन ! दिनमा यसको अजंगको उचाइले तिनको शिरमा टेक्छ । रातमा यो वनका ख्याकजस्ता रुखहरूबाट निस्कने उज्यालोले आँखा घोंच्छ । बिजुलीको चमकमा जति नै चम्किए पनि यो वनमा निराशाको बादलमा लुकेका दिनहरू बाहेक अरु केही छैन । वियोग पीडाको झेँक्रामा लपेटिएर रोइरहेका रात बाहेक अरु केही छैन ।
यो वनमा सपनाहरूका भूत सिउँडी भएर फुल्छ । यही वन भएर दुःखको सागरमा मिसिन रगत पसिनाको अविरल नदी बग्छ । यो वनको छेउँछाउँबाट वनवासीहरूको दुखिरहेको घाउको ऐया मात्रै सुनिन्छ । तिनका क्लान्त सुस्केरा ध्वनित हुन्छ ।
यो वनमा जीवन पहराको अक्करमा फुलेको सुनगाभाजस्तो छ । यता टुटिरहेका सपनाहरूमा आश्रय खोज्दै, ठोक्किँदै–पोखिँदै निकास खोजिँदै छ । वनवास समाप्तीको प्रतीक्षा गरिदैँ छ । उता, देशमा झन्झन् जीर्ण हुँदै गइरहेछ तिनका घर । यस्तो लाग्दछ कि यो वनवासी जीवन घामको प्रदीप्त अनुहारमा खग्रास हो । कोसँग सोध्नू–के जीवन यस्तै वनवास हो ?
एउटा नौजवान पुस्ता वनवासमा छ ।
कंक्रीट र फलामे वनको एउटा यस्तो वनवासमा जहाँ तिनलाई फलामे मन भएका तिनका शासकहरूले पठाएका हुन् । जहाँ तिनलाई व्यवस्थाका कंक्रीट भक्षकहरूले धपाएका हुन् । न्याय र कानुनका बैरीहरूले लखेटेका हुन् । जहाँ हरदिन तिनका सपना–संहारको यज्ञ चलिरहन्छ । यज्ञको अग्निकुण्डबाट देशमा सलबलाइरहेका विषालु सर्पहरू निस्किन्छन् र तिनका शरीरमा बेरिन्छन् । घाँटीमा बेरिन्छन् । जहाँतहीँ डस्छन् । स्वाभिमानले आत्महत्या गर्न खोज्छ । इच्छाका ज्वाला निभ्न खोज्दछन् ।
यो वनवासमा तिनीहरू आकाङ्क्षाको खरानीमा उभिएका छन् । ती साउनजस्तै रोइरहेकी वृद्धा आमाको बारेमा सोंच्दछन् । पहिरोले लुछिरहेको जीर्ण पहाडजस्तै बाबाको बारेमा सोंच्दछन् । नौजवान छोराहरू गुमाइरहेको शोकसन्तप्त आफ्नो देशको बारेमा सोंच्दछन् । सोंच्दै जाँदा पीडाले यति गलाउँछ, कि लाग्छ बन्द हुँदैछ श्वासप्रश्वास । के वनवास जीवन हो ? जीवन वनवास ?
उता देशमा सँधै लज्जास्पद रमिता छ । सुदूर वनवासबाट ती देख्छन्–शासक वृत्तलाई हेरिबस्ने घेरिबस्ने देशका खम्बाहरू भने घरि ‘अरिंगाल’ भएर जुलुश निकालिरहेछन् । घरि ‘के जाति स्याल’ भएर जुलुश निकालिरहेछन् । घरि ‘खुकुरी’ भएर जुलुश निकालिरहेछन् । घरि ‘बाँदर’ भएर जुलुश निकालिरहेछन् । वनवासीलाई लाग्छ– बाबै ! देश अब बाँदरहरूकै हातमा पुगेको रहेछ ।
तिनको आत्माले चीत्कार गर्दछ–
आमा !
मेरी आमा !!
यो वनवासमा कहीँ छैन आफ्नो जस्तै माटोको सुगन्ध ।
पानीमा छैन तिर्खाको तृप्ती । घाम, घामजस्तो छैन । वर्षा, छैन वर्षाजस्तो । यो वनवासमा जीवन लाग्छ–मृत्युको अन्तहीन चर्खाजस्तो ।
आमा ! मेरी आमा !! यो वनवासमा थाकिसक्यौँ ।
अब तिम्रै काखमा आउन चाहन्छौँ । तिम्रै अङ्गालोमा बाँधिन चाहन्छौँ । यो वनमा दगुरी हिँड्ने मायावी मारिचको पछि पछि दगुर्ने यो यात्रालाई यहीँ छोड्न चाहन्छौँ । रियाल, रिंगेट, दिनार वा डलरको साङ्लालाई तोड्न चाहन्छौँ । आफ्नो भाग्य र भविष्यको धर्साहरू आफ्नै माटोमा जोड्न चाहन्छौँ ।
र, तिनको यो चाह आजको होइन । दुई सय वर्षअघिको हो । तर जुगजुग देखिको तिनको यो चाहनाले कहिल्यै मूर्तता पाएन किनभने उता देशमा शासकहरूले आमाहरूका नौजवान छोराहरू खोसिरहेछन् । नौजवान छोरीहरू खोसिरहेछन् । तिनलाई हरियो पासपोर्ट र भिसाको ठप्पा दिएर वनवासमा लखेटिरहेछन् । र, सत्ताको भित्तामा लात्तीको पाड लगाएर वनवासीका रगत पसिनाले जोहो गरेको रेमिट्यान्स खाइरहेछन् ।
यो वनवासमा हरेक दिन वनवासीहरूको चोला उठिरहेछ । र, दैनिक तीन चार वनवासीहरू कफिनमा प्याक भएर देश झरिरहेछन् । देशमा आमाहरूको लाठी भाँचिएको छ । पत्नीहरूको सिउँदोमा दुर्भाग्यको नदी बगिरहेछ । नानीहरूले उभिएर संसार हेर्ने बाबाको काँध खोसिएको छ ।
कफिनमा बन्द भएर विमानस्थलमा झर्ने वनवासीहरूको अनुहार लखन र गंगालालका जस्ता जस्ता छन् । वीपी र पुष्पलालका जस्ता जस्ता छन् । किसुनजी र मदन भण्डारीका जस्ता जस्ता छन् । भानुभक्त र जीतबहादुर सिंजालीका जस्ता जस्ता छन् । यता वनवासमा दगुरिरहेका नौजवानहरूको अनुहार गगन र रामकुमारीका जस्ता छन् । प्रदीप र गोकर्णका जस्ता छन् । महावीर र सन्दुकका जस्ता छन् । सरस्वती र राजनका जस्ता छन् । सन्दीप र तेरियाका जस्ता छन् ।
राजनीतिक–दुरभिसन्धिले वनवास धपाइएका यी नौजवानहरूको वनवास कहिले सकिन्छ ? यता एउटा नौजवान पुस्ता वनवासको सघन अँध्यारोबाट उज्यालोको क्षितीज चिहाइरहेछ । उता देशको राजनीतिले निरन्तर अँध्यारोको खेती गरिरहेछ ।