© 2026
बुटवल, १५ माघ ।
खुला सिमानाको सही व्यवस्थापन र भन्सार सम्बन्धी कानुनहरूमा व्यापक संशोधन गरेर मुलुकको राजश्व बढाउन सकिने बाटो पहिल्याइएको छ । नेपाल चेम्वर अफ कमर्स लुम्बिनी प्रदेशले आयोजना गरेको छलफलका क्रममा अर्थ समितिका सभापति सन्तोष चालिसेले व्यावसायीले उठाएका गम्भीर विषयहरूलाई समावेश गरेर भन्सार विधेयक छिट्टै संशोधन गर्ने बताए ।भन्सार मूल्यांकनलाई अन्तर्राष्ट्रिय अभ्यासका आधारमा वैज्ञानिक बनाउने, वस्तुको गुणस्तर जाँचका लागि छुट्टै यूनिट स्थापना गर्ने, भन्सार राजश्य प्रयोजनका लागि खुला सिमानालाई व्यवस्थित गर्ने र गाडी जाँचपासका लागि अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । भन्सार विधयेकलाई सर्ब स्वीकार्य बनाउन अर्थ समिति देशभरिका भन्सार नाकाहरूको अवलोकनमा रहेको बताए ।
“हाम्रा व्यवसायहरूलाई कसरी सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ, चोरी निकासी रोक्ने उपाय के हुन र मुलुकलाई निर्यातयोग्य बनाउन कसरी सकिन्छ भन्ने विषयमा अध्ययन गरेर कानून बनाउनेछौं ।” उनले भने – “भन्सार विधेयकलाई हामीले आगामी दिनमा कसैले चिन्ता लिन नपर्ने गरि संशोधन गर्छौ ।”चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले भन्सार नीतिका कारण व्यावसायीहरू पलायन हुने अवस्था आएकोले यसको समाधानका लागि परिणाममूखी छलफल शुरु गरिएको बताए । वैध भन्दा अवैध कारोबार गर्नेहरूको संख्या बढेको र राज्यका नियामक निकायहरूले यसमा सघाएको आरोप लगाउँदै उनले भन्सार छली भएका मालवस्तु सहितका गाडी काठमाडौंमा पक्राउ पर्नु भनेको नियामक निकायको मिलेमतो बिना सम्भव छैन भन्ने उदाहरण भएको बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रहरीले अवैध वस्तुहरू बरामद गर्दा यसको ओसार प्रसारमा संलग्न मूख्य कारोबारीहरू पक्राउ गर्न नसक्नु आश्चर्यजनक रहेको बताए । उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी सचिव आनन्द खनालले कोभिड पछि नेपालको अर्थतन्त्र झन् कमजोर हुनुुका पछाडि खुला भन्सार पनि एउटा कारण रहेको बताए । चेम्वर अफ कमर्स लुम्बिनीका महासचिव शिव ज्ञवालीले भन्सार मूल्यांकन विधि अत्यन्तै अबैज्ञानिक रहेकाले वस्तुको गुणस्तर अनुसार भन्सार मूल्यांकन गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्कीले व्यवसायीहरूले भने जस्तो चोरी तस्करीको अवस्था भयावह नरहेको बताए । कार्यक्रममा बोल्दै अर्थ समितिका सदस्य सूर्य थापाले सवै नागरिक, उद्योगी, ब्यवसायी र नियामक निकायले कानून सम्मत कर्तव्य पालन गर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताए ।