ट्रेंडिंग:

>> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा मा.वि.मा नवनिर्मित तीन कोठे भवनको समुद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा >>  परराष्ट्रमन्त्री डा. राणाको भारतीय सचिवसँग छलफल >> प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा? >> अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक >> शहिद दिवसमा स्वर्गिय प्रचण्ड थैवको मूर्ति अनावरण >> इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के >> गुरुङहरुको माङी पर्व सम्पन्न >> फुलिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, १ हजार ५ सय विद्यार्थीलाई स्विटर >> नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न >> लोकतन्त्रका अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर >> अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका भुवन कार्की पक्राउ >> स्टन्टबाजीले देश चल्दैन, सबैको इमान्दार प्रयास जरूरी छ : प्रधानमन्त्री >> राजस्व चुहावट कसुरमा इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध मुद्दा दायर >> कुम्भ मेलामा भागदौडका कारण कम्तीमा १५ जनाको मृत्यु >> सुनको भाउ एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि >> सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने >> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिज बुटवल र लेडी जेसिजको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू

मनमर्जीका चौध मर्जी

५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

संसारको अर्थ नै गतिशीलता हो । गतिले समय र स्थानको मिलन विन्दु परिवर्तन हुन्छ र मात्र परिवर्तनको महसुस हुन्छ । दिउँसो कुनै निकै टल्केको वस्तुलाई स्थिर भएर हेरिरह्यो भने केही समयपछि टल्कन छाड्छ । पृथ्वीका गतिका कारणले प्रकाशको स्रोत सूर्यको अवस्था वस्तुसित फरक पर्नाले नै त्यसो भएको हो । गतिमान वस्तु आफ्नै गतिमा चलिरहन्छन् र संसार रमाइलो बनेको छ । हामी यही गतिशीलतामा समायोजन भएका छौँ, रमाएका छौँ ।
यति बेर सबैको साझा संसारको कुरा गरियो । हाम्रो निजी संसार पनि छ, हाम्रो शरीर ! यो पनि गतिशील छ । त्यसैले जीवित छ, जीवन छ । निरन्तर गति दिनका लागि मुटु मोटर चलिरहेको छ, ढुक ढुक ढुक ढुक । त्यसैका बलले र त्यसैलाई बल दिन फोक्सो पनि चलिरहेको छ, सासको व्यापार गरिरहेको छ । नस नाडी ज्ञानेन्द्रिय, कर्मेन्द्रियमा आवश्यकताअनुसारको गतिशीलता छ । मुटु, आन्द्रा आदि जस्ता अङ्गको स्वचालित गति छ, अनियन्त्रित गति छ । श्वास, हाइ जस्ता क्रिया अर्ध नियन्त्रित गतिका छन् र बोली, हिँडडुल जस्ता क्रियाको गति नियन्त्रण गर्न सकिन्छ ।

‘‘हाम्रा सामाजिक व्यवहारिक विभिन्न बाध्यताले रोक्नै नहुने शारीरिक क्रियाहरू रोक्ने गरेर आफै माथि आत्मघात गरिरहेका छौँ । यसमा कतिपय कुराहरू त आहारविहारको संयमताका कारणबाट पनि समाधान गर्न सकिन्छ ।’’

हाम्रो जीवनमा यी अर्ध नियन्त्रण गर्न सकिने क्रियाकलापका गतिविधि नियन्त्रण गर्न खोज्दा स्वास्थ्यमा समस्या आउने कुरालाई साह्रै वेवास्ता गरिन्छ । ती क्रियाकलाप मुख्य गरी जम्मा १४ छन् । जसको गति रोक्न खोज्दा हुने समस्याका बारेमा छोटो चर्चा गर्न खोजिएको छ ।
१ श्वास— श्वास वा सास हाम्रो शरीर रूपी महलको आधारस्तम्भ हो । यसलाई केही छिन रोक्न सकिए पनि धेरै बेरसम्म रोक्न सकिन्न । विना अभ्यास अनायास रोक्ने प्रयास ग¥यो भने स्वास्थ्यमा नकारात्मक असर पर्छ । सपनामा ऐठन पर्दा कस्तो हुन्छ परेकालाई थाहा हुन्छ । वेग नियन्त्रण गर्न नहुने पहिलो कुरा !

२ हाच्छिउँ— हाम्रो समाजमा हाच्छिउँलाई निकै नकारात्मक किसिमले हेरिन्छ । हाच्छिउँले फोक्सोदेखि घाँटी र नाकको खाली भागमा रहेको कसकासलाई सफा गर्ने काम गर्छ । रुघा लाग्दा नाकभित्रको घुम्तीको खाली भागको भित्तामा भएको सकसकको कारणले हाच्छिउँ आउँछ । हाच्छिउँ आउँदा शिर हल्का हुने कुरा सबैलाई थाहा छ । त्यसैले छ्युँकी झारको रस वा सानो सुतली प्रयोग गरी हाच्छिउँ निकालेर शिर हल्का गर्ने परम्परागत चलन पनि छ । तर यसलाई रुघा वा सर्दी लागेको सङ्केत हो भनेर यात्रा साइतमा हाच्छिउँ आयो भने साइत पर्दैन भनेर हाच्छिउँप्रति नकारात्मक भावना भर्ने गरिएको छ ।
पश्चिमा समाजमा पनि हाच्छिउँलाई सर्ट डेथ अर्थात् अल्प मृत्युको रूपमा हेरिन्छ । हाच्छिउँ आउँदा एक सेकेन्डको पनि कैयौँ सानो भागको समयका लागि मान्छेको होस चेत गुम हुने गर्छ । त्यसैले अल्प मृत्यु भनिनु सान्दर्भिक पनि छ ।
नवजात शिशुलाई दिनको दुई चार फेर हाच्छिउँ आउनु राम्रो मानिन्छ । कुरा बुझ्ने नहुँदासम्म बच्चाले हाच्छिउँ गर्दा अमृत खाऊ भनिन्छ भने कुरा बुझ्ने भैसकेपछि आचि खाऊ भनिन्छ । यसको मतलव बच्चा हाच्छिउँ गर्दा आउने सिँघानदेखि घिनाओस् र नखाओस् भन्ने हो । तर हाच्छिउँको भलिभाँती जान्ने भैसकेपछि त आफैले लच्छिन, लच्छिमी, शिव शिव,, यस्तै भन्ने चलन छ । यसको अर्थ पनि हाच्छिउँले नकारात्मक कुरा नल्याओस् भन्ने नै देखिन्छ ।

हाच्छिउँ गर्दा रुमालले नाक छोप्ने कुरा त सामान्य नै हो । कोरोना कालमा सिकेको अर्को सजिलो तरिका हो कुहिनाको चेपमा नाक राखेर हाच्छिउँ गर्नु । रुमाल निकाल्न नभ्याएको बेलामा यो तरिका निकै छिटो गर्न सकिने सजिलो उपाय हो ।
हाच्छिउँ एक प्रकारको शारीरिक श्वास वेग हो । माथि उल्लिखित परम्परागत सोचका पछि लागेर यसलाई नकारात्मक रूपमा लिनु आवश्यक छैन । यो श्वास वेगलाई रोक्न खोजियो भने शरीर एक किसिमले अशान्त बन्ने, टाउको भारी हुने हुन्छ ।
३ डकार— पाचन प्रणालीको ऊध्र्व वायुलाई डकार भनिन्छ । डकार ग्यासको उल्टी हो । हाम्रो पुरानो मान्यतामा डकारलाई भोजन खाएपछिको सन्तुष्टि वा तृप्तिको सङ्केतको रूपमा लिने गरिन्छ । त्यसैले त अघाएका डकार भोकका पाद भन्ने लोकबोली चलिआएको छ । जे भए पनि अहिलेको जमानामा डकारलाई उति राम्रो मानिन्न । जेसुकै होस्, डकार भनेको माथिल्लो पेटमा उत्पन्न भएको वायु मुखमार्फत् बाहिरिने एक सामान्य घटना हो । कतिपय वायुवद्र्धक भोजनले डकार आउने अवस्था सिर्जना गर्छ । मूलाका डकार भट्टमासका पाद भन्ने उखानै छ । मूला खाएर नडकारी निर्वाह गर्ने मान्छे को होला ?

खासगरी आवश्यकभन्दा बढी भोजन खानाले डकारको समस्या सिर्जना हुन्छ । तर यसो भन्दैमा डकार समस्यालाई दमन गर्न खोज्नु हुँदैन । डकार आइसकेपछि रोक्ने प्रयास गरियो भने यसले पेट तथा खाना नलीमा दवाव दिइरहन्छ र बेचैन बनाउँछ । डकारलाई रोक्ने प्रयास गर्दा छाद वा बान्ता आउने डर हुन्छ । कहिलेकाहीँ छाद आउने समस्यालाई डकारले साम्य पार्छ । अरूका लागि नराम्रो लाग्ने भएकाले यसो तर्केर भए पनि डकार रोक्नु हुन्न । नवजात शिशुलाई त स्तनपान गराएपछि छातिमा टाँसेर ठाडो गराई ढाड माडिदिएर ठ्याप्ठ्याप् धाप मारेर डकार्न लगाउनुपर्छ । यसो गर्दा बच्चाले छाद्दैनन् ।
४ हाइ— हाइ आलस्यको लक्षण हो । जब श्वासप्रश्वास क्रिया ढिलायो तर पनि कुनै आवश्यकताले जागै रहन पर्ने अवस्था आयो भने हाइ आउँछ । हाइ गर्दा एक खालको आनन्द आउँछ । तर आएको हाइलाई इज्जतका बारे रोकियो भने एक किसिमको असहज महसुस हुन्छ । त्यसैले शरीरको स्वाभाविक प्रवाहलाई रोक्नु हुँदैन बरु हाइ नआउने गरी शरीरलाई सक्रिय राख्ने कि त आराम गर्ने परिवेश छ भने सुत्नु नै वेश हुन्छ ।

५ खोकी— गलामा वा श्वासप्रश्वास प्रणालीमा आएको गडबडीले खोकी वा काँसो लाग्छ । टिबी कोरोना जस्ता सङ्क्रामक रोगको लक्षण पनि खोकी भएकाले खोकीले अरूलाई त्रसित बनाउँछ । आएको खोकीलाई रोक्न खोजियो भने देख्दै अप्ठ्यारो निरीह अनुहार बन्छ । अरूले देख्ता अप्ठ्यारो र आफूलाई ज्यादै सकस ! खोकीलाई दबाउन खोज्दा आँसु, सिँघान, ¥यालसमेतको स्थिति बेहोर्नुपर्ने हुन्छ । त्यसैले खोकीलाई पनि स्वतन्त्र प्रवाह हुन दिनुपर्छ । खोकी लाग्दा रुमालले मुख छोपेर खोक्दा आफूसमेत छेउछाउमा बसेका व्यक्तिलाई पनि सहज हुन्छ । झगडाको लक्षण हाँसो रोगको लक्षण काँसो भन्ने पुरानो उखान हो । खिसीको हाँसो हेपाइको हाँसो साँच्चै झगडाको बिउ नै बन्छ भन्ने कुरा महाभारतमा दुर्योधनको दृष्टि भ्रमप्रति द्रौपदीको हाँसोलाई लिन सकिन्छ । लुकाउन छिपाउन नसकिने कुराको सूचीको एउटा हिन्दी सायरी यस्तो छ—
खून खयर खाँसी खुसी वैर प्रीति मदपान । रहिमन दावे नदावे जानत सकल जहान ।।
६ बाडुली— बाडुलीलाई बाड्की, हिच्की, हिक्का पनि भनिन्छ । बाडुली लाग्दा कोही प्रिय जनले सम्झना गरेको भन्ने विश्वास गरिन्छ । मात्र एक पटक, दुई पटक वा तीन पटकसम्म बाड्की लाग्नुलाई त्यसरी सम्झेको भन्ने गरे पनि त्यसभन्दा धेरै पटक लाग्नु एक खालको शारीरिक समस्या मानिन्छ । यो समस्या मनले नियन्त्रण गर्छु भन्दा झन् बढ्छ । एक्कासी अन्यत्र ध्यान लैजाने ग¥यो भने बाडुली लाग्न छाड्छ । त्यसैले साना बच्चालाई बाडुलीले सताएको बेला झुठो चोरी वापत लगाएर अत्याउने गरिन्छ । त्यसो गर्दा बच्चा रिसाएर वा दुःखी भएर प्रतिवाद गर्छ । उसको ध्यान अन्तै जाँदा बाडुली बन्द भैसकेको हुन्छ । पुरानो जमानामा नुनलाई घरको निकै महत्वपूर्ण वस्तु मानिने भएकाले बच्चाबच्ची हिक्क हिक्क गर्दा नुन चोरेछ कि क्या हो भन्ने गरिन्थ्यो ।

७ हाँसो— हाँसो कुनै हर्ष लाग्ने प्रिय घटना, खिसीट्युरी, कसैका हास्यरसयुक्त कुरा आदिमा लाग्ने गर्छ । स्वास्थ क्षेत्रमा हाँसोको निकै ठूलो महत्व छ । हाँस्ने व्यक्तिलाई अवसाद अर्थात् डिप्रेसन, रिसिने, सन्कने जस्ता समस्या निकै कम हुन्छन् भनिन्छ । यसको पनि सहज प्रवाह रोक्नु हुँदैन । जबरजस्ती रोक्न खोज्दा पहिलो कुरा त हाँसो उत्पन्न गर्न आवश्यक स्राव उत्पादन गर्ने ग्रन्थीमा असर पर्न सक्छ भने दोस्रो कुरा करबलले हाँसो रोक्न खोज्दा झन जोडले विस्फोट हुने सम्भावना हुन्छ । यसो हुँदा मुखमा भएको चिज सर्केर वा असल्जिएर व्यक्ति समस्यामा पर्न सक्छ । समूहमा बसिरहेको अवस्थामा थुकका छिटा जताततै छरिने जस्ता असभ्य अवस्था देखिन सक्छ । त्यसैले हाँसोको सहज प्रवाह नरोक्ने भनिएको हो ।

८ रुवाइ— शारीरिक वा मानसिक पीडाले रोइन्छ । रुनुको मुख्य लक्षण आँखामा आँसु र पीडा पोख्ने बोली हुन् । त्यसो त कहिलेकाहीँ हर्ष विभोर भएर पनि रोइन्छ । यसरी आउने आँसुलाई हर्षका आँसु भनिन्छ । यसरी रुने अवस्थालाई जोरजबरजस्ती गरेर रोक्नु हुँदैन । रोक्दा मष्तिष्क, मुटु जस्ता संवेदनशील अङ्गमा नकारात्मक असर पर्छ ।

९ खुसी— झट्ट हेर्दा खुसी वा हर्षोद्गार हाँसोसित मिल्दो जुल्दो देखिन्छ तर यसमा धेरै फरक छ । खुसीमा हाँसो आउन सक्छ तर हाँसोमा खुसी आउने अनिवार्यता हुँदैन । हाँसो अस्थायी र तरल हुन्छ भने खुसी गम्भीर र गहिरो हुन्छ । हाँसो प्रायः एक्लै हाँसिन्न तर एक्लै पनि खुसी हुन सकिन्छ । खुसीले आनन्दको तल वा पिँद भेटेको हुन्छ । त्यसो त अकारण हाँस्दै जाने हो अकारण खुसी हुने अभ्यास हुन्छ भनेर नै योगाभ्यासको क्रममा हास्य प्रणायाम गर्ने गरिन्छ ।खुसीको एउटा उदाहरणका लिउँ । एउटा विद्यार्थीले निकै मेहनतले समस्याको समाधान भेटेर दुवै हात माथि लगेर, उफ्रेर वाह ! भन्दाको उद्गार हर्ष वा खुसीको उद्गार हो, परमानन्दको उद्गार हो । यस्तो अवस्थामा उसको उद्गार रोक्नुपर्ने अवस्था आयो भने उसमा कुण्ठा उम्रन सक्छ, मानसिक स्वास्थ्यको विकार !

१० कहराइ— कहराइ पीडाको उद्गार हो । यसो विचार गर्दा रुवाइ र कहराइ उस्तै उस्तै लाग्छ । रुवाइ कहराइको अपेक्षा अस्थायी हुन्छ । कुनै कुनै पीडा नरोई कहराइबाटै शमन गर्दै गइन्छ । पीडाको उद्गार पोख्न पाइयो भने पनि केही हदसम्म पीडा कम भएको महसुस हुन्छ । त्यसैले कहराइ पनि रोक्नु हुन्न भनिएको हो । सुइय्य सुस्केरा हालेर, लामो सास फेरेर पीडा पोख्ने गरिन्छ । दौडधूपले थकित शरीरलाई एकैछिन सुस्ताएर मधुर कहराइसित लामो लामो श्वास लिँदा लाग्ने आनन्द पीडा शमनको सरल उदाहरण हो ।

११ छाद— छादलाई बमन, उल्टी, वाक पनि भनिन्छ । पाचन प्रणालीमा आएको गडबडीले छाद आउने गर्छ । डकार ग्यासको छदाइ हो भने छाद पेटमा भएको ग्याससमेतको अन्य वस्तु मुखमार्फत् बाहिरिनु हो । खाइएको विषाक्त भोजनलाई शरीर सुरक्षाका लागि शरीरबाट छिट्टै बाहिर निकाल्ने सबैभन्दा सजिलो उपाय छदाउनु नै हो । कहिलेकाहीँ यो काम शरीरको प्राकृतिक प्रणालीले नै गर्छ भने कहिलेकाहीँ कृत्रिम उपाय अपनाएर पनि छाद्नुपर्ने हुन्छ । प्राकृतिक प्रणालीले छाद्न खोज्दा रोक्न खोजियो भने र यदि रोकियो भने शरीरलाई हानि हुन्छ भनेर नै शरीरको प्राकृतिक प्रवाह नरोक्ने भनिएको हो ।
पिङ खेल्दा, घुम्ती बाटोमा गाडीमा यात्रा गर्दा रिङ्टा लागेर वाकवाकी लाग्ने गर्छ । यस्तो बखतमा भने एक छिन आराम गर्ने, सफा हावामा टहल्ने गर्दा बमन समस्या शान्त हुन्छ । हवाइ यात्रामा त्रासका कारणले बमन हुन सक्ने सम्भावनालाई विचार गरेर सिटको अगाडिको गोजीमा बमन थैली राखिदिएको हुन्छ ।
अधोवायु वा पाद नरोकिएको अवस्थामा छाद सितिमिति आउँदैन । त्यसैले मर्दले पाद्छ नामर्दले छाद्छ भन्ने लोक भनाइ चल्तिमा छ । यस भनाइले पाएँ त खाएँ भनेर आफ्नो आहारा नअड्कली हसुर्नेलाई पनि राम्रो सन्देश दिन्छ ।
काँचो कचिलो खानाले आउने अमिलचुकी पनि एक प्रकारको छाद नै हो । अव्यवस्थित वा असन्तुलित खानाका कारण यो समस्या आउने गर्छ । महर्षि वाग्भट्टले भने झैँ मितं भुक् हितं भुक् ऋतं भुक् अर्थात् थोरै खाऊ, आफूलाई हित गर्ने कुरा खाऊ, ऋतुअनुसारका अर्थात् मौसमी खानेकुरा खाऊ भन्ने सूत्रलाई राम्रोसित लागू गर्ने हो भने यस्ता समस्या आउँदैनन् ।
छादका कुरा गर्दा रोमन बादशाह नेरोको आहारा शैलीको अरे अरेका कुराको सम्झना आउँछ । बादशाह नेरो खानाका लागि निकै सौखिन थिए रे । विभिन्न किसिमका भोजन खाँदा खाँदा पेट अघाउने तर खानाको धित नमर्ने हुँदा एक पटक अघाएर त्यसलाई छादी पेट खाली गरेर फेरि खाना खान्थे रे । यसका लागि सुरक्षित र सजिलो गरी छदाउनका लागि राजमहलमा ४ जना वैद्य राखेका थिए रे । यस्ता खाइ मरुवा खाइद्यूले ३१ वर्षकै उमेरमा चोला बदलेछन् ।

१२ पाद— हाम्रो शारीरिक बनावटमा अधोवायु विसर्जन अर्थात् पाद एक अनौठो प्रक्रिया छ । हावाको गति जहिले पनि माथितिर हुन्छ । तर हाम्रो शरीरभित्र भने हावाको गति माथितिरभन्दा तलतिर सहज हुन्छ र सहज मानिन्छ पनि । हाम्रो समाजमा पाद्नुलाई निकै नराम्रो, असभ्य भनी घृणा गरिन्छ । यसमा पनि लैङ्गिक विभेद छ । छोरामान्छेले, बूढाहरूले पाद्नु निमान हुन्छ । छोरीमान्छेले बूढीहरूले पाद्नुलाई असभ्य छाडा भएको भनिन्छ । उसै त बुहारी भट्टमास खाएकी भनेर हेपिन्छ ।
एक पटक बुहारीले पनेल्नामा भाँडा माझ्दै गर्दा पाद आएछ । रोक्छु भन्दाभन्दै फुस्किने अवस्था आएछ । बुहारी निकै अक्कली रहिछन् । उनले तत्कालै एउटा उपाय गरिछन् । पादको आवाज नबुझियोस् भनेर माझ्दै गरेका काँसका भाँडा एकआपसमा ठक्कर लगाएर टङ्ग्राङ्टुङ्ग्रुङ बजाइछन् । ससुरा बूढा मूलोछ्यानमा बसेर तमाखु खाँदै थिए । छिद्रान्वेषी बूढाले बुहारीको चर्तिकला बुझिहालेछन् र भनेछन— बुहारी, आवाज त भाँडा बजाएर मा¥यौ गन्ध के ले माछ्र्यौ नि ! विचरा बुहारीलाई कत्रो सकस । बूढा नबोलेका भए पनि हुने नि !
जसले जेसुकै भने पनि लेखक, साहित्यकारले भने पादको बारेमा खुलेर प्रशंसा गरेका छन् । त्यसैले पादको आवाजको तीव्रता गुणअनुसार पादको गुणको वर्गीकरण यसरी गरेका छन् ।
उत्तम ढ्वाइँञ पादन्ति टुइँञ पादन्ति मध्यम । अधम फुस्स पादन्ति नाक फोरन्ति फुसुर्फुसुर् ।।
यो भन्दैमा छिहिल्लिएर पाद्नु राम्रो होइन । अरूलाई बाधा नपुग्ने गरी अधोवायु विसर्जन गर्नुपर्छ । विभिन्न गोष्ठी, कार्यशालामा डेढ घण्टापछि एक छिन छुट्टी दिने यही सहजताका लागि पनि हो ।
पदुवा अघि लाग्दैन लोभी भान्सा पस्दैन भनेर पादलाई निक्षम कोटीको भनेर व्याख्या गर्छन् पदुवालाई नबुझ्नेहरूले । सर आइज्याक न्युटनको गतिसम्बन्धी तेस्रो नियमले ग्यासले पछाडि धक्का दिँदा वस्तु अगाडि बढ्छ भनेरै जेट इन्जिन, रकेट इन्जिन बने भने पदुवा कसरी पछि बस्छ ? बरु पछितिर धकेलिने डकारुवालाई अगाडि खेद्न पदुवालाई पछि बस्न परे होला र यो भनाइ चलनमा आए होला ।
एक जना भुइँफुट्टा राजनीतिक विश्लेषकले हाम्रा नेताहरूको आलोचना गर्दै माझै मुखले यी पदुवा हुतिहारा नेताले देश खत्तम पारे भने ।
पादको महत्वै नबुझेका ती विश्लेषकलाई मैले भनेँ— विश्लेषकज्यु, हाम्रा नेता पदुवा होइनन् डकारुवा हुन् । खानुनखानु खाएपछि डकार आउँछ । आर्थिक, सामाजिक अपचको डकारलाई सभ्य भाषामा भ्रष्टाचार र बलात्कार भनिन्छ क्या !
केही बेर अघिसम्म घृणा र आक्रोशले खुम्चिएको विश्लेषकको निधारका मुज्जा साम्य भएर मुसुक्क मुस्काए ।
आजसम्म कुनै शास्त्रमा स्थान नपाएको पादलाई यति लामो लेखमा लेख्ने यो २ कौडीको मान्छे भनेर मलाई वचन लगाए पनि म दुःखी हुनेछैन । किनभने महर्षि अगस्त्यले मायावी राक्षस इल्वको भाइ वातापिको मासु खाएर पचाएर पादेको कुरा पुराण प्रसिद्ध छ । महर्षि व्यासले लेख्दा राम्रो हुने, मैले लेख्दा नराम्रो हुने भए त म के गरूँ ?
सामाजिक क्षेत्रमा जतिसुकै घृणा गरे पनि स्वास्थ्य क्षेत्रमा भने यसको महत्व उच्च छ । नवजात शिशुले पाद्यो भने राम्ररी दूध खाने र सप्रन्छ भनिन्छ । अपरेसन गरेका विरामीलाई, पेटसम्बन्धी विरामीलाई डाक्टर साहेबले वायु चलेको छ छैन भनेर प्राथमिकताका साथ सोध्छन् भने अरू धेरै कुरा गर्नै परेन । स्वास्थ्य क्षेत्रले यति महत्व दिएको कुरालाई हामीले घृणा र समस्याका रूपमा हेर्नुहुँदैन । बरु खानपानमा ख्याल राखेर यसलाई सही ठाउँमा ल्याउन सकिन्छ । भेटेका बेला कोची कोची खाने बानीले यो समस्या जस्तो बन्न पुग्छ । यी कुरा नबुझेर रोक्न खोजियो भने पाचन प्रणालीसम्बन्धी विभिन्न समस्या बल्झने कुरामा कुनै शङ्का छैन ।

१३ पिसाब— पिसाब, हिसाब, निसाफ रोक्नुहुन्न भन्ने भनाइले नै यसका बारेमा थप व्याख्या आवश्यक देखिँदैन । तैपनि हाम्रा सार्वजनिक यातायातको व्यवस्था, हाम्रा शहरी, अर्धशहरी बसाइ अव्यवस्थाका कारण हाम्रा यी विसर्जन प्रणाली दवावमा पर्ने गर्छन् ।
वास्तवमा रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली र मूत्र प्रणाली दाजुभाइ जस्तै हुन् । रक्तसञ्चार प्रणालीमा फोक्सोबाट अक्सिजन लिने र मिर्गौलाबाट छानिएर सफा भएको रगत मुटुमा जाने क्रम निरन्तर चलिरहन्छ । स्वतन्त्र रूपले चल्ने आन्द्राभुँडी पनि खाना पचेर रित्तिदै गएपछि केही सुस्ताउन थाल्छन् । तर मुटु, फोक्सो र मिर्गौला सुस्ताउन्नन् । त्यसैले पिसाब निरन्तर बनिरहन्छ । पिसाब बनिरहँदा रगतमा पानीको मात्रा कम हुँदै जान्छ । पिसाब, पसिना बाहिरिएपछि पियास लाग्छ, पानी खाइन्छ । पानी बाहिरिएको मात्रा हेरी पानी खानुपर्छ । त्यसैले सभ्य भाषामा पिसाब फेर्ने भनिन्छ । पिसाब गर्ने शब्दावलीभन्दा पिसाब फेर्ने शब्दावली निकै व्यवहारिक र अर्थपूर्ण छन् । लुगा फेर्नुको अर्थ लगाउँदा लुगा फुकालेर अर्को लुगा लगाउनु भने जस्तै हो पिसाब फेर्नु पनि । यदि पिसाब गरेर पानी खाइएन वा शरीरको पानीको सन्तुलनको ख्याल गरिएन भने पिसाब फेर्ने शब्दावलीको सार्थकता हुँदैन ।
पिसाबका सन्दर्भमा पनि लैङ्गिक विभेदको गन्ध आइहाल्छ । हाम्रो समाजमा पुरुषलाई यसो बुटाका, कान्लाका ओत लागेर पिसाब फेर्न सहज छ जुन आधुनिक पोसाकका महिलालाई असहज छ । हुन त जत्नतत्न उभिएर पिसाब फेर्ने कुरा अलि असभ्य लागेर नै उठी मुत्ने हवल्दारका नाची मुत्ने सिपाही भन्ने उखान बनेको छ । जे होस् व्यवहारमा महिलालाई समस्या नै छ । यही असजिलोबाट बच्न यात्रामा पानी नखाएर महिलाले आत्मघाती काम गर्छन् । शहरमा ठाउँठाउँमा सार्वजनिक शौचालय नहुनुले पनि शहर भ्रमण कष्टकर बन्छ । पिसाब धेरै रोक्यो भने पिसाब थैलीको लचकता वा रबरपन (इलास्टिसिटी) कमजोर हुन्छ भनी स्वास्थ्यकर्मी बताउँछन् । फेरि दिसा र पिसाब रोकेर रोकी साध्य पनि नहुने हुनाले यिनलाई दुई जबर्जस्तीका उपनामले पनि चिनिन्छ ।

१४ दिसा— दिसा शरीरबाट निस्कने ठोस पदार्थको प्रमुख निस्कासन हो । सामान्य अवस्थामा पिसाबको तुलनामा दिसालाई केही लामो समय रोक्न सकिए पनि दिसा रोक्दा हुने बेफाइदा उत्तिकै घातक छन् । गुदद्वारतर्फको ठूलो आन्द्रा निष्क्रिय बन्ने, आन्द्रामा घाउ हुने, सङ्क्रमण हुने जस्ता समस्या दिसा रोक्दा हुने गर्छन् ।
यस लेखको शीर्षक राख्न मन थियो रोक्न नहुने कुरा । हाम्रो समाजमा चलेको हिसाब, पिसाब र निसाफ रोक्न हुन्न भन्ने भनाइको सम्झनाले मनलाई रन्थनायो । सहकारीका हिसाब बिग्रेका बेला अनि न्यायका लागि एक युगसम्म अदालत धाउनुपर्ने हाम्रो जमानामा यी दुईलाई रोक्न नहुने भन्यो भने एकातिर राजनीतिक क्षेत्रमा तारो भैएला र अर्कोतिर अदालतको मान हानिमा मुद्दा खेप्न पर्ला भनेर यी दुई परम्परागत चलिआएका भनाइलाई मन नलागी नलागी काटिदिएँ ।
रुवाइ, कहराइ, हाँसो, खुसी मानसिक कुरा हुन् । यीसँग सम्बन्धित क्रियाकलाप रोक्दा अवसाद वा डिप्रेसन हुने जोखिम हुन्छ । किशोरावस्थामा ब्रह्मर्षि वसिष्ठका गुरुकुलमा पढ्दै गरेका भगवान् श्रीराम शैक्षिक भ्रमणमा गएका बेला जनताले जीवन जिउन भोगेको दुःख पीडा देखेर निकै दुःखी बने । सो दुःख पोख्न अन्तक्र्रिया गर्न नपाएर विक्षिप्त जस्तै बनेका रामलाई गुरु वसिष्ठले १८ दिनसम्म सम्झाएर बुझाएर अवसाद दूर गरिदिएका थिए । यो १८ दिने कार्यक्रमको सप्रसङ्ग व्याख्या योग वासिष्ठका नाममा महर्षि वाल्मीकिले लिपिबद्ध गरे । जसलाई महारामायण पनि भनिन्छ, संसारकै पहिलो मनोविज्ञानको ग्रन्थ !
हाम्रा सामाजिक व्यवहारिक विभिन्न वाध्यताले रोक्नै नहुने शारीरिक क्रियाहरू रोक्ने गरेर आफै माथि आत्मघात गरिरहेका छौँ । यसमा कतिपय कुराहरू त आहारविहारको संयमताका कारणबाट पनि समाधान गर्न सकिन्छ । यसका लागि आफू मात्रै सचेत भयो भने पनि समाजलाई सचेत बनाउन आधार बन्दै जान्छ । परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । अस्तु !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?