© २०२३
नेपालमा विशेषतः उपाध्याय, जैसी, कुमाई र मैथिल गरी चारथरी ब्राह्मणको अस्तित्व देखिन्छ । यी सबै ब्राह्मणमध्ये मैथिल ब्राह्मण तराइतिर आफ्नै तरिकाले बसोबास गरेका हुनाले अरू तीनथरी ब्राह्मणसँग उनीहरूको कुनै किसिमले पनि प्रतिस्पर्धाको भावना नै देखिएन । तर, अरू तीनथरी ब्राह्मणमा भने प्रतिष्पर्धाका भावनाले आफु ठूलो भन्ने हिसाबले झै–झगडा भइरहेको कुरा हामीले जानेकै विषय हो । तर विशेषत नेपालको पश्चिमी भू–भागमा बसोबास गर्ने कुमाई ब्राह्मण तात्कालिक अवस्थामा राजदरबारभित्र छिरिसकेपछि भने उ पनि ठूलै भनेर गनिँदै आएको छ । अनि नेपालमा विशेषतः लडाई भनेकै उपाध्याय र जैसी ब्राह्मणबीच नै हो । अझ त्यसमा पनि नेपालका पूर्वी भूभाग र सुदूर पश्चिम भूभागमा त जैसी ब्राह्मणले आफुलाई उपाध्यायभन्दा सानै भनेर बसी आएको देखिन्छ । तर नेपालको विशेषतः गण्डकी र लुम्बिनी प्रदेशका स्याङ्जा, गुल्मी, बाग्लुङ् आदि केही स्थानमा भने उपाध्याय र जैसी ब्राह्मणबीच तँ ठूलो कि म ठूलो भन्ने पन रहेकै हुन्छ । त्यसैले यस लेखमा मैले यसै विषयमा केही शास्त्रीय विवेचना गर्ने जमर्को गरेको छु । माथिको प्रसङ्ग अनुसार बुझिसकियो कि– अधिकांश स्थानमा सामाजिक हिसाबले उपाध्याय ब्राह्मणलाई नै जैसी ब्राह्मणभन्दा ठूलो मानिएको छ । उपाध्याय बाहुनलाई त्यतिमान, सम्मान दिनु, उच्च कोटिमा राख्नुको कारण के ? किनकि उनीहरूले धर्मको पालना गर्छन् । तर के उनीहरूले साँच्चै नै धर्मको पालना गरेका छन् त ? शास्त्रमा ब्राह्मण भईसकेपछि जे जे गर्नु भनेको छ के त्यो कार्य उनीहरूले गरेका छन् त ? यी कुराहरूमा म पछि आउँछु । सबैभन्दा सुरूमा त यो बुझौं कि ब्राह्मणबाट उपाध्याय र जैसी कसरी छुट्टिए ? हाम्रो अधिकांश समाजको साधारण धारणा छ– यदि एउटा बाहुनले भगाएर, विधि नपुराई बिहे गर्छ भने उ जैसी बाहुन भनेर चिनिन्छ भनिन्छ । उसका त्यसपछिका सबै सन्ततिपनि जैसी भनेर नै चिनिन्छन् । तर के भागी बिहे गरेर मात्र उपाध्याय बाहुनले आफ्नो मान गुमाई जैसी हुन्छ त ? के जैसी बाहुन जतिपनि छन् ती सबै यसैगरी जैसी भएका हुन् त ? उत्तर हो ः होइन ।
सबैभन्दा सुरूमा त यो जान्नुहोस् कि कुनैपनि हिन्दू ग्रन्थमा जैसी बाहुन भनेर उल्लेख गरिएको छैन । यो जैसी बाहुन भन्ने कुरा हाम्रै नेपाली समाजले दिएको संज्ञा हो । पहिले पहिले जसले पनि ब्राह्मण धर्मको नियम उल्लंघन गथ्र्यो उसलाई, उसको स्तर घटाई जैसी बाहुनको संज्ञा दिइन्थ्यो । यो गर्नुको मुख्य प्रयोजन भनेको धार्मिक कार्यहरू गराउने व्यक्ति शुद्ध, पवित्र होस् र पवित्रता कायम रहोस् भन्ने हुन सक्छ । पहिले पहिले जसले विधि पूरा नगरी भागी विवाह गथ्र्यो या आफुभन्दा तल्लो जातसँग विवाह गथ्र्यो उसलाई जैसी भनिन्थ्यो । त्यस्तै जसले राजाको नियम उल्लंघन गथ्र्यो, जसले अरूसँग अनुचित सम्बन्ध राख्थ्यो, साथै जसले धार्मिक काम छाडेर अन्य काम गथ्र्यो उसलाई पनि जैसी भन्ने गरिन्थ्यो । यसैगरी जसले ज्योतिषी पेसो गथ्र्यो त्यस्तै जो प्रशासनमा गएर काम गथ्र्यो उसलाई पनि जैसी भन्ने गरिन्थ्यो । यी कुराहरूको भने पूर्ण प्रमाण छैन तर कताकति यसरी पनि जैसी भए भन्ने कुरा आउँछ । अनि अन्तिममा सिधासिधा भन्नुपर्दा जसले मनुस्मृति आदि ग्रन्थहरूमा बताइएको नियमको उल्लंघन गथ्र्यो उसलाई जैसी भनिन्थ्यो । तर पछि पछि यी सबै कुराहरूलाई वास्ता गरिएन र भागी विवाह र तल्लो जातसँग विवाह गर्नेलाई मात्र जैसी भन्न थालियो । तर नेपालकै धादिङ जिल्लातिर हेर्ने हो भने फेरि त्यहाँ उपाध्यायले यदि जैसीसँगै भएपनि विधि पुर्याएर बिहे गर्छ भने ऊ उपाध्याय नै रहन्छ, उसको जात खस्किदैन र उसले बुवाको श्राद्ध आदि सबै गर्न पनि पाउँछ भन्ने रहेछ । यहाँबाट यो बुझ्न सक्छौं कि सबैको ठाउँ अनुसार आफ्नै आफ्नै मत छन् । यी कुराहरू भनेका शास्त्रसम्मत छैनन् । त्यस्तै हाम्रा बुढा पाकाको कुरा सुन्ने हो भने त जो कालीगण्डकी भेगका जैसीहरू छन्, उनीहरू सबै भागी विवाह गरेर मात्र जैसी नभई उनीहरू राजाको नियम उल्लंघन गरेका कारणले जैसी भए भन्ने कुरा आउँछ । त्यसैले पनि माथि नै भनियो कि यस स्थानका जैसीहरू आफु भिन्न भएको कुरा गर्दछन् । उनीहरूको भनाइमा उनीहरू ज्योतिषी पेसो गरेर सम्मानित भएर बसिरहेको समयमा पृथ्वीनारायण साहबाट जातिच्युत गराइएका रे । त्यसैलेपनि उनीहरूले उपाध्यायबाट खसेर जैसी भनिएकाहरूसँग विवाह गर्दैनन् रे । अनि अर्को कुरो उनीहरूकोमा पनि कसैले वैदिक विधि विगारेर विवाह गर्यो भने त्यसलाई भात खसेको भन्ने चलन छ । यसरी सबै जैसीहरू भागी विवाह गरेर या विधि न पुराई विवाह गरेर मात्र जैसी भएका हुन् भन्न मिल्दैन ।
अब मेरो मुख्य कुरा, के अहिले जसलाई उपाध्याय ब्राह्मण भनेर सम्मान गरिन्छ, उच्च मान दिइन्छ, पूजा गरिन्छ, उनीहरूले त्यो मान जोगाउन सोही अनुरूपको कार्य गरेका छन् त ? एउटा ब्राह्मण, अझ उपाध्याय ब्राह्मण जसले शौचादि कार्य गरिसके पछि समेत स्नान गर्न पर्ने हो तर उसले प्रातः उठेर समेत स्नान गर्दैन, ऊ प्रातःब्रह्ममुहूर्तमा उठेर जप, ध्यान, पूजा, पाठ गर्नुपर्ने तर उसले सूर्योदयसम्म आफ्नो आँखा खोल्दैन, ब्राह्मणले अन्नपूर्ण माताको सम्मान गर्दै, उहाँप्रति कृतज्ञ हुँदै औसनी आदि हालेर खाना खानुपर्ने त्यो पनि गर्दैन भने उसले झन् धोती लगाएर खाला भनेर त के कल्पना गर्नु ? एउटा ब्राह्मण जसले यो संसारलाई धर्मको पाठ पढाउनु पर्ने, सबैलाई हिंसा गर्नु हुँदैन भन्दै ज्ञान उपदेश दिनुपर्ने तर बिडम्बना उही ब्राह्मण एकादशीको दिनै मासु खानपर्यो भने नी एक सेकेन्ड न सोची मासु खान्छ, ब्राह्मणको त काँधबाट झुक्केर पनि जनै खस्यो भने उसले गायत्री जप गरी प्रायश्चित गर्नुपर्ने तर उसले त्यही जनैको अपमान गरी पौडी खेल्न जाँदा त्यो जनै कतै झुन्डाउँछ अनि मोजमस्ती गर्न थाल्छ । ब्राह्मणको त पहिचान भनेको नै टुप्पी हुन्छ, टुप्पी देख्ने बित्तिकै ओहो ! यो त ब्राह्मण रहेछ भनेर उसको छुट्टै पहिचान हुन्छ, टुप्पी बिनाको ब्राह्मण त के ब्राह्मण ? तर यही ब्राह्मणले हेर्नुस् व्रतबन्ध गरेको भोलिपल्ट नै टुप्पी काटी दिन्छ, किन ? किनकि यहाँ त टुप्पी पाल्यो भने त पाखे भइन्छ, फोटो खिच्दा फोटो नराम्रो आउँछ, अब एकपटक आफैंले सोच्नुस् त ! हजुरले यस्तालाई ओहो ! मेरो ब्राह्मण देवता भन्दै उसको पूजा गर्ने ? उसको चरण जल खाने ? सबै ब्राह्मण यस्तै हुन्छन् चाहिँ भनेको होइन । धेरै माननीय, पूजनीय, व्यक्तिहरू हुनुहुन्छ जो आफ्नो नियममा बस्नु भएको छ र आफ्नो धर्मको पालना गर्नुभएको छ । यस्ता ब्राह्मणलाई त देवताकै रूप मानेर पूजा गर्नुहोस् तर जो आफ्नो नियममा छैनन् उनीहरूलाई त यसरी खुल्ला छाड्नु भएन नि । एउटा व्यक्तिले भागी विवाह या विधि पूरा नगरी विवाह गर्दा उसलाई जैसी या तल्लो भातको भनेर उसले पकाएको समेत नखाने ? अनि एउटा शूद्र जस्तो व्यवहार भएको व्यक्तिको चरण छुने, उसको चरणको जलखाने, उसलाई (ब्राह्मणो वैष्णवो देव) ब्राह्मण वैष्णव अर्थात् विष्णुको रूप हुन् भन्दै पूजा गर्ने ? यो कुरा मलाई कत्तिपनि चित्त बुझ्दैन त्यसैले यो विषयमा बोल्नु जरुरी छ । अब हेरौं, एउटा ब्राह्मणले, ब्राह्मण कै घरको छोरी बिहे गर्यो जसले उपल्लो भनिएको उपाध्याय बाहुन भएतापनि माछा मासु खाने गर्छे, देवताको जप, ध्यान गर्दिन, आफ्नो नियममा छैन भने पनि त्यो स्वीकार हुन्छ किन ? किनकि उ त उपाध्यायको छोरी हो । यहाँ शुद्धता र पवित्रताको नाममा केवल उसको जन्म हेरिन्छ । त्यस्तै उपाध्याय बाहुनले खसेका भनेर परिभाषा गरिएका जैसी या तल्लो भातकी घरकी छोरी बिहे गर्यो जो छोटोमा भन्नुपर्दा कम्तीमानी उपाध्यायकी छोरी भन्दा त संस्कारमा छिन् तर पनि यो बिहे त स्वीकार हुँदैन । उसलाई त जैसी या भात खसेकीकि छोरी भन्दै तल्लो नजरले हेरिन्छ किन ? जवाफ प्रष्ट छ किनकि उसको जन्म उच्च परिवारमा भएन । के यो सही हो त ? यहाँ त सिधासिधा कर्म भन्दा जन्म ठूलो देखियो । तर के हाम्रो शास्त्रले पनि कर्म भन्दा जन्म ठूलो भन्छ त ? उत्तर हो : भन्दैन । यो विषयमा केही प्रसिद्ध कथापनि छन् –
१) कौशल ऋषि कथाः कौशल ऋषि ब्राह्मण कुलमा जन्मिए तर उनी सधैं आफ्नो धर्मबाट विचलित भएर अन्यायपूर्ण र असत्कर्ममा लागे । उनका क्रियाकलाप समाजको निम्न स्तरका व्यक्तिहरू समान थिए । परिणामः समाजले उनलाई शूद्र भनेर वर्गीकृत ग¥यो । पछि उनले पश्चाताप गर्दै धर्मको मार्ग अपनाए र आफ्नो स्थितिलाई सुधारे । २) त्रिशङ्कु कथाः रामायणको कथा अनुसार त्रिशङ्कु एक ब्राह्मण थिए, तर उनी आफ्नो कर्ममा पतित भए । उनी आफ्नो इच्छा पूर्ति गर्नका लागि तपस्या र धर्मको मार्ग छोडेर अशुद्ध कर्ममा लागे । परिणामः उनलाई ब्राह्मणहरूले अस्पृश घोषणा गरे । पछि विश्वामित्रको मद्दतले उनले स्वर्गमा स्थान पाए । ३) कथाः वृत्रासुर असल ब्राह्मण कुलमा जन्मिएका थिए । तर उनले क्रोध र लोभमा परेर अधर्मी कर्म गर्न थाले । उनी देवताका विरुद्ध गए र असुरका नेता बने । परिणामः उनी समाजले ब्राह्मण मान्न छाडेर तल्लो वर्गको भनेर व्यवहार गर्न थाले । यी कथाहरूले देखाउँछ कि तल्लो या उपल्लो भन्ने कुरा जन्मले होइन, कर्मले निर्धारण हुन्छ । ब्राह्मणको दर्जा पाउन ज्ञान, सत्यता र धर्मको पालना गर्नुपर्छ । असल कर्मले निम्न जन्मभएको मान्छे पनि उच्च मान्यता प्राप्त गर्न सक्छ र खराब कर्मले गर्दा उच्चकुलको मान्छे पनि पतन हुन सक्छ । मेरो मुख्य कुरा भागी विवाहलाई यति ठूलो विषय किन मानियो ? किनकि अहिले यही कारणले गर्दा नै ब्राह्मणमा भेद देखिएको छ । बाहुनले बाहुन नै भगाएर ल्याउँदा चाहिँ यति ठूलो विषय बन्ने, यहाँसम्म कि तँ उसलाई जैसी या तल्लो भाते भइस् भनेर उसले पकाएको खाना समेत खान नहुने तर यहीँ अर्कोपट्टि उपाध्याय बाहुन भनेर छाती फुलाएर बसेकाले गरेको अपराध र अधर्मलाई चाहिँ वास्तै नगर्ने ? अझैपनि यस्तालाई ब्राह्मण अझ उपाध्याय ब्राह्मण भनेर पूजा गर्ने ? अझै उच्च कोटिको ब्राह्मणमा राख्ने ? जो ब्राह्मण भन्ने को पनि लायक छैन ।
महाभारत अनुसार त जैसी वा उपाध्याय आदिमात्र होइन, अन्य नै ४ प्रकारका ब्राह्मणको भेद बताइएको छ – १) विद्या ब्राह्मण जो वेद र धर्म शास्त्रमा पारङ्गत छ । २) कर्म ब्राह्मण जो यज्ञ, पूजा र कर्मकाण्डको अभ्यास गर्छ । ३) द्रव्य ब्राह्मण– जसले दान ग्रहण गर्छ, दानपनि दिन्छ र धार्मिक सेवा गर्छ । ४) शूद्र ब्राह्मण जो ब्राह्मण भएतापनि गलत आचरण गर्छ, नियमको पालना गर्दैन, अधर्ममा लाग्छ । यसरी ब्राह्मणको कर्म र दक्षताको आधारमा ब्राह्मण छुट्टाइएको छ । तर यी कुराहरूलाई ध्यान नदिई अहिलेका मान्छेहरूले उपाध्याय बाहुन र जैसी बाहुन भनी ब्राह्मणको भेद गरे र भागी विवाह गरे मात्र ब्राह्मणको प्रतिष्ठा घट्ने नियम बनाए । किनभने माथि भने अनुसार ब्राह्मणको कर्म हेरी उसको पद छुट्याइयो भने त जसले अरूलाई तँ जैसी भइस् भन्दै आफू ठूला बनेका छन्, उनीहरू स्वयं कर्मको आधारमा शूद्र ब्राह्मणमा पर्ने भए र शूद्र समान गनिने भए । मनुस्मृति र महाभारतमा यो विषयमा अझै कुराहरू गरिएको छ । मनुस्मृति धर्मातिक्रमणं कृत्वा ब्राह्मणो ह्यधो गच्छति । (यदि ब्राह्मणले धर्मको उल्लङ्घन गर्छ र अनैतिक कार्यमा लाग्छ भने उसको स्थान शूद्रसम्म झर्छ ।) मनुस्मृतिअशौचं शूद्रवत्कुर्वन् ब्राह्मणः शूद्रतामियात् अर्थात् यदि ब्राह्मणले अशुद्ध आचरण गर्छ स्नानगर्दैन, सात्विकभोजन गर्दैन, जपआदिगर्दैन भने उ शूद्र समान हुन्छ । मनुस्मृतिविप्रःकर्मण्यसंयुक्तःशौद्रेणापि सहावसन् शूद्रवत् सेवमानस्तु स शूद्रत्वायकल्पते । ( यदि ब्राह्मणले आफ्नो धर्म अनुसारको कर्म वेदाध्ययन, यज्ञ पूजा, त्याग गरी शूद्र जस्तो व्यवहार गर्दछ भने, शुद्र जस्तै जीवनशैली अपनाउँछ भने, उसलाई शूद्रकै समानमान्न सकिन्छ ।) महाभारत आदिपर्व “यस्मात्मनि समुत्पन्नं धर्मे च महते स्थितः । सो ब्राह्मणोऽपि शूद्रं स्याद् कर्मणैवो हि ब्राह्मणः“।। (यहाँ ब्राह्मण र शूद्रको परिभाषा र पहिचानउसको जन्मले होइन उसको कर्मले हुन्छ भनेर भनिएको छ।) हामीले यहाँबाट थाहापाउन सक्छौं कि यदिव्यक्ति ब्राह्मण नै किन न होस् यदिउसको कर्म गलत छ भने उ शूद्र समान हुन्छ, उसको जात, उसको प्रतिष्ठा खस्किन्छ र उ ब्राह्मणको स्तरको रहँदैन । अब मेरो निष्कर्ष मेरो अन्तिम भन्नु के भनेः यदि नियम बनाएर शुद्ध र अशुद्ध, श्रेष्ठ र नीच ब्राह्मण छुट्याउने हो भने ब्राह्मणलाई उसको कर्म अनुसारको पद, स्थान दिने हो भने आफ्नो जातमा या विधिसँग विवाह नगरेकालाईमात्र होइन हरेक ब्राह्मण जसले धर्मको पालना गरेका छैनन्, जो आफ्नो धर्ममा स्थिर छैनन्, जसले शास्त्रमा निंदा गरिएका कार्य गरेका छन्, त्यस्ता हरेक ब्राह्मणलाई शास्त्रमा भनिए अनुसार दण्ड दिनुपर्छ । चाहे त्यो उपाध्याय ब्राह्मण भनेर मान, सम्मान पाएको व्यक्ति किन नहोस्, चाहे उसको जन्मजति नै ठूलो जातमा किन न भएको होस् । या त पहिले नै भनेजस्तो थुप्रै नियम तोडेर बसेका नामका मात्र ब्राह्मणलाई पनि उनको कर्म अनुसारको दण्ड, स्थान, संज्ञा दिनुपर्यो । सधैँ उपाध्यायले जैसी या तल्लो जातसँग बिहे गरे मात्र उ तल्लो हुन्छ नत्र हुँदैन भनेर बस्नु भएन कि त जैसी भन्ने बाहुन नै समाजबाट हटाउन पर्यो जसरी नेपालमा पहिले पहिले थुप्रै कुप्रथा हटाइएको थियो । अस्तु ।