© २०२३
हरिप्रसाद भण्डारीले एमफिल गरेपछि लघुकथामा नै विद्यावारिधि सकाएर डाक्टर उपाधि हासिल गरे । अचेल उनलाई डा. हरिप्रसाद भण्डारी भनेर चिनिन्छ । उनको पछिल्लो साहित्यिक कृति “समयको स्पन्दन“ हो । चिराग, अविरल यात्रा र काला सर्पको खोजी लघुकथा संग्रहहरू पहिले नै प्रकाशित छन् । उनको पछिल्लो लघुकथा संग्रह समयको स्पन्दनमा ७० वटा लघुकथाहरू समाहित छन् । कथाहरू समयसँगै निरन्तर बगेका छन् । उनका कथामा व्यङ्ग्य धेरै भेटिन्छन् । कसेर व्यङ्ग्य गरेका हुन्छन् । कैयौं कथाहरूले खुत्रुकै पारेको हुन्छ । कतिपय कथाहरू शान्त सागरजस्तै लाग्छन् । ग्रामीण परिवेश, त्यस्तै शैली र मसिना विषयवस्तुहरूलाई गहन तरिकाले प्रस्तुत गर्ने कला नै डा. हरिका खास लेखन विशेषता हुन् । उनको लघुकथामा सामाजिक, आर्थिक, राजनीतिकमात्र होईन मनोविज्ञान समेत घुलित छन् । समाजले मान्छेलाई र मान्छेले समाजलाई कसरी हेर्छ, मूल्याङ्कन गर्छ र परिणाम के आईरहेको छ बुझ्न पनि समयको स्पन्दन लघुकथा संग्रह काफी छ ।
सत्य, तथ्य र समयसँग आफूलाई ढाल्नका लागि डा.हरिको लघुकथा संग्रहले धेरै प्रेरणा दिने गरेको छ । प्रगतिशील विचारक डा. हरिले समाजका पात्रहरूलाई प्रगतिशील विचारले नै विश्लेषण गरेका छन् । समाजका कुरीति, कुसंस्कार र बेथितिविरुद्धमा जमेर मुकाविला गरेका छन् । समयको स्पन्दनमा आफूलाई खरो कथाकार वा सर्जकका रूपमा उभ्याएका छन् । आफू लघुकथा मात्र लेख्दैनन् बरु उनले अरूलाई लेख्न उत्प्रेरित गरिरहन्छन् । लेख्न प्रशिक्षण दिन्छन् । सम्पादनमा समर्पित हुन्छन् । लघुकथाको साहित्यलाई फराकिलो बनाउन कम्मर कसेर लागेका उनले लघुकथालाई नै आफ्नो लेखनीको मानक बनाउँदै आएका छन् ।
हुन त डा. हरिले अस्वीकृत कथाहरू, चरीका राम्रा कथा, सुनको स्याल, कुनमिनको सेरोफेरो, मनको आँखा, गोनु झा र चोरहरू साहित्यिक सम्पत्तिहरूलाई समाजमा बाँडेका छन् । लघुकथा त्यस्तो विधा हो–जहाँ एकएक शब्दको गणना र अर्थ हुन्छ । यो शब्द नराखेपनि हुन्थ्यो वा राख्दा कथालाई बलियो बनाउन मद्दत गरेको छ भन्ने कुराको खास अधिकार पाठकले महसुस गर्ने भएको हुनाले लघुकथाकारहरू यसमा चुक्नु हुँदैन । डा.हरि यस सन्दर्भमा धेरै नै सचेत र सजग छन् । लेखनीको सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न उनका कलम थाकेका छैनन् । समयको स्पन्दनमा सेतो कौवादेखि किंकर्तव्यविमूढसम्मका शीर्षकका लघुकथा राखिएका छन् । यीनै लघुकथाहरू पढिरहँदा कतै मुसुक्क हाँस्न मन लाग्छ । कतै उनले खित्का छाडी हँसाउँछन् । कतै पेट बटारिन्छ र च्वाँस्स गोपेजस्तै लाग्छ । जेहोस् डा.हरिको लेखनीमा निख्खरता भेटिन्छ । उनको विद्यावारिधि, मिहिनेतको फल र सार्थक प्रमाण भएको पाईन्छ ।
समयको स्पन्दनमा समाहित ‘असल मित्र’ शीर्षकको कथा पढ्दा वर्तमान समयको गठबन्धन संस्कार, राजनीति दर्शन, सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर भोटको कर्म गरिरहेका पार्टी र नेतालाई उनले कथामार्फत दरो झापड कसेका छन् । आफ्नो चुनाव चिन्ह र आफूले बोकीरहेको राजनीतिक दर्शनलाई बिर्सिएर आज कसरी पार्टी र नेता अघि बढिरहेका छन् भन्ने कुराको सफेद प्रमाण कथामा भेटिन्छ । अर्काे ‘विकास’ शीर्षकको कथामा कथाकार लेख्छन– हुनुपर्ने विकास के थियो र छुट्टाईयो वजेट केमा ? देशको विकास गर्ने तौरतरिकामा उनले व्यङ्ग्य कसेका छन् । कथाले मिठो सन्देश प्रवाह गरेको छ । राजनीतिलाई कमाई खाने भाँडो ठान्ने गलत प्रवृत्तिले गाँजिरहेको बेला डा.हरिको ‘सूत्र’ नामक शीर्षक कथाले सुदामा र कृष्ण पात्र खडा गरेर नयाँ तरिकाले संवादात्मक प्रहार गरेको छ । सुदामाले सधैं कनिकामा जीवन जिउनुपर्ने पिरलोले धनी हुन के गर्ने प्रश्न गर्दा राजनीतिक गर भनेर कृष्णले दिएको जवाफमा नै प्रशस्त व्यङ्ग्य छ । पछिल्लो समय नेपाली साहित्य–आकासमा लघुकथाले आफ्नो आधिपत्य जमाउँदैछ । थोरै शब्दमा धेरै र कडा प्रहार नै लघुकथाको शिल्प हो । फरकफरक विषयमा नयाँ नयाँ सन्देश दिनसक्नु यसको खुबी हो । डा. हरिको समयको स्पन्दन लघुकथा संग्रह यसैको कसीका रूपमा हामीबीच प्रश्रित प्रतिष्ठान नेपालले ल्याई पु¥याएको छ । प्रा. डा. दयाराम श्रेष्ठ र प्रा. डा. कपिलदेव लामिछानेका लघुभूमिका रहेको सो पुस्तकको खरीद मूल्य दुईसय ३० रूपैयाँ रहेको छ । डा. शालिकराम पौड्यालको प्रकाशकीय र डा. हरिप्रसाद भण्डारीको लेखकीय सन्देश रहेको समयको स्पन्दन लघुकथा संग्रह पठनीय, संङ्ग्रहणीय र ओजपूर्ण रहेकोमा कुनै द्विविधा छैन । समयको स्पन्दनमा हराउँदा आफैलाई अचम्म लागिरहेको छ ।