© २०२३
काठमाडौं, २१ चैत ।
भारतले केही समय अघि देखी रोक्का गरेको नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका सामग्रीहरुको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ ।निर्यात सहजीकरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुभएको कूटनीतिक पहलपछि प्रमाणपत्रहरूको नवीकरण गरिएको हो ।मन्त्री भण्डारीले आफ्नो औपचारिक भारत भ्रमणका बेला समकक्षी पीयूष गोयलसंगको भेटका क्रममा यस विषयमा छलफल गरेका थिए।उनले नेपाली वस्तुहरु भारत निर्यात गर्न र भारतीय बजारमा विक्रि वितरणको सहजीकरणका लागि विषेश पहल गरेका थिए।
यसै गरी गत पौष २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय बैठकमा ‘बीआइएस’ प्रमाणपत्र प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणको विषयमा विशेष छलफल भएको थियो । उति बेला यो विषय नेपालका तर्फबाट प्राथमिकताका साथ उठेपछि भारतीय पक्षले समस्या समाधानको लागि प्रतिबद्धतासमेत जनाएको थियो । भारत सरकारले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेको छ । २८ फेव्रअरी २०२५मा राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी (भारतीय) तथा विदेशबाट आयात हुने सामग्रीमा ‘बीआइएस’ अनिवार्य गरेको हो ।
भारतले ‘बीआइएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो ।बीआइएस प्रमाणपत्र नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीहरू समेत भारत गएका थिए । ‘बीआइएस’ प्रमाणपत्र प्राप्त गरेपछि निर्यात सहज हुने नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले बताए। उनले भारतले अहिले धमाधम बीआईएस नवीकरण गरिरहेकोसमेत बताए । उनले भने, ‘अहिले अहिले १०-१२ वटा उद्योगले बीआईएस नवीकरण भएको छ, अरू उद्योगको पनि आउने क्रममा छ । हाम्रो नयाँ प्रमाणपत्र प्राप्त गरेका हौँ, जसले गर्दा निर्यात सहज हुनेछ ।’ केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पु¥याइएका ३४ ट्रक प्लाइउड बीआईएस प्रमाणपत्रको अभावमा नाकामै रहेको उनले बताए ।
केही सिमेन्ट कम्पनीहरूले पनि बीआईएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात हुन लागेको बताएका छन् ।अहिले एक महिना म्याद बाँकी रहेका दुई–तीन वटा सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका छन् भने, नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगहरू एक महिनाभित्र बीआईएस पाउने सूचीमा रहेको उद्योगीहरूको भनाई छ ।