सुर्खेत,२१ चैत ।
कर्णाली प्रदेशको सुर्खेतमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन वर्षको अवधिमा लागु औषध मुद्दामा तीन सय ६९ जना पक्राउ परेका छन् । प्रहरी सुर्खेतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएकोमा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ७४ मुद्दामा १०९ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ७३ मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दामा १ सय १२ जना पक्राउ पर्दा तीमध्ये सात जना महिला र एक बालबालिका रहेको जिल्ला प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
दैनिक कम्तिमा दुईदेखि तीन जनासम्मलाई लागुऔषधसम्बन्धी मुद्दाअन्तर्गत नियन्त्रणमा लिइरहेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले दैनिक कम्तिमा एउटा लागुऔषधसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराउने गरेको जनाएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगमा सबैभन्दा बढी लागुऔषध सेवनकर्ताको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको १६ वटा वडामध्ये वडा नम्बर–४ लागुऔषधको हवको रूपमा देखा परेको छ । यस्तै यो बाहेक नगरपालिकाका वडा नं. १०, ११ र १२ नम्बर पनि अति प्रभावित क्षेत्र हो ।
चालु आर्थिक वर्षमा वडा नम्बर ४ बाट १२ जना, ११ बाट ११ जना, १२ बाट ८ जना, १० बाट ७ जना पक्राउ परेका छन् । यस्तै, वडा नम्बर ८ बाट ४ जना, ६ बाट ४ जना, ३ बाट ४ जना, ५ बाट ३ जना, ७ बाट ३ जना, १ बाट र वडा नम्बर १४ बाट एक एक जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षमा एक सय १२ जना पक्राउ परेका छन् । जसमा युवाहरु धेरै रहेको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार १८ वर्षमुनिका एक जना, १८ देखि २५ वर्षसम्मका ४७ जना, २५ देखि ३५ वर्षसम्मका ४३ जना पक्राउ पर्दा ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ सम्म एक जना र ६५ वर्षमाथिका एक जना पक्राउ परेका छन् ।वीरेन्द्रनगरमा लागु औषधमध्ये सबैभन्दा बढी प्रयोगकर्ता ब्राउनसुगरका रहेका छन् । त्यसका अलावा मेडिकलमा पाइने नाईट्राजन, ट्रामाडोल लिने र सेवन गर्नेहरूको संख्या बढी रहेको पाइएको हो । वीरेन्द्रनगरमा गाँजा सेवनकर्ता भने कम मात्रामा भेटिने गरेको डिएसपि विश्वकर्माले बताए । प्रहरी अनुसन्धानका क्रममा लागुऔषध भारतको रुपडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको पाइएको छ । सजिलै धेरै कमाइने आशमा युवाहरु यसतर्फ लागेको डिएसपि विश्वकर्माले बताए । पछिल्लो समय औषधि पसलहरुमा पनि लागुऔषध फेला परेको उनले बताए ।‘हामीले अहिलेसम्म दुईवटा फार्मेसीलाई मुद्दा चलाइरहेका छौं,’ उनले भने, ‘एकवटा फार्मेसीबाट मात्रै हामीले ४८०० ओटा ट्रामाडोलका गोली भेटाएका थियौं । त्यो पनि हामीलाई सूचना आएका कारण छापा मारेर नियन्त्रणमा लियौं ।’