© २०२३
यो मौसम डडेलोको मौसम हो । गर्मी समयमा अन्य समय भन्दा बढ्ता हावाहुरी चल्नेगर्छ । वर्षा कम हुने हुनाले विभिन्न ठाउँहरू सुख्खा खडेरीबाट प्रभावित हुने गर्दछन् । यही खडेरीको समयमा वनमा आगलागी हुने गर्दछ । आगलागी हुने मध्यमा एउटा जानाजान हुने गर्छ भने अर्को अनाजनमा पनि हुने गर्छ । जानाजान आगलागीमा संलग्न हुनेहरू अपराधि हुन् । उनीहरू आपराधिक प्रवृति भएका हुन्छन् अनि वन विनाश गरेकोमा आनन्द मान्ने गर्दछन् । अनजानबाट पनि कहिले काँही यस्ता आगलागीका घटना हुने गर्छन् । अनजानबाट आगलागी भएको भए पनि क्षति भने एकै खालको हुन्छ । वनमा लागेको आगोले वन विनाश गर्दै आएर गाउँबस्तीसम्म पुग्छ अनि हाम्रा कतिपय वस्तीहरू उजाड बनाएका धेरै उदाहरण छन् । आगोले जानाजान गरेको वा अनाजनमा गरेको भनेर कम वेशी क्षति गर्दैन । क्षति उस्तै हो । कसैको अज्ञानता वा मूर्खताले गर्दा वन र वस्तीहरू पनि उजाड गर्दछ । कतिपय समयमा वनमा मात्र नभएर वस्तीहरूमा पनि आगलागीका घटना हुने गर्छन् । यस्ता घटनाहरू पनि एउटा अनजानमा र अर्को अनजानमा हुने गर्दछन् । कहिले प्राकृतिक प्रकोप जसलाई अर्को भाषामा दैवीप्रकोप समेत भन्ने गरिन्छ बाट पनि हुने गर्दछ । जुनसुकै प्रकोपबाट भए पनि आगो भनेको नियन्त्रमा राख्ने वस्तु हो । यसलाई नियन्त्रण गर्न सकिएन भने यसले यो ठाउँ र उठाउँ भनेर चिन्दैन । नियन्त्रण गर्न नजोपछि उसले जहाँ जे सुकै वस्तु क्षति गर्ने गर्दछ ।
आगलागी कहिले मनमा पनि हुने गर्छ । मनमा हुने आगलागी पहिलो वनमा वा वस्तीमा लागेको आगलागीले गर्दा हुन्छ भने दोस्रो कहिले मुलुकमा हुने विभिन्न घटना र परिघटनाले हुने गर्छ । कहिलेकाँही पारिवारिक घटना र निकटवर्ति मित्रबाट हुने घातले पनि मनमा आगलागी हुने गर्छ । पारिवारजन र निकटवर्तिहरूबाट हुने घात पनि वनबाट आएको आगोले भन्दा कम क्षति गर्दैन । जसका मनमा हरियो वन नेपालको धन भन्ने ज्ञान हुन्छ त्यसको मनमा वनमा लागेको आगलागीले मन जलाउँछ । जसको मनमा सद्ज्ञान हुँदैन त्यसले आफै आगलागी गर्ने गर्छ र मनमा आनन्दको महसुस गर्छ । जे सुकै भए पनि वनमा आगोलगाउने र आगोलगाएको देखेर रमाउनेहरू एउटै ड्याङका हुन् । उनीहरू निर्दयी हुन् कपटी हुन् र मनमा लाग्ने आगो विभिन्न कारणबाट हुने कुरा प्रष्ट हो । यो आगो कहिले राजनीतिले समेत सल्काउने गर्दछ । कहिले राजनीतिमा आफै आगलागी हुने गर्छ भने कहिले राजनीतिमा लागेको आगोले अरू विभिन्न ठाउँ पनि खाग बनाउने गर्छ । वनमा लाग्ने आगो भन्दा राजनीतिमा लाग्ने आगो अझ बढता खतरनाक हुन्छ भनिन्छ । यसले बनमा लागेको आगोले डढाएको भन्दा अझबढता खाग बनाएर डढाएको हुन्छ । कसैले वनमा आगजनी गर्ने नभएर शहरमा आगजनी गर्ने गर्छन भन्ने गर्थे यो साँचो रहे छ । शहरमा कहिले विद्युतको तार सट भएर आगलागी हुने रहेछ भने कहिले शहरमा बस्ने मानिसका मन मस्तिष्क सट भएर शहर जल्ने गर्दोरहेछ । यो पनि उत्तिकै सत्य रहेछ । कहिले ज्ञाँसका सिलिण्डर विस्फोट भएर पनि आगलागी भएका घटना सुन्न पाइन्छ । यस्ता ज्ञाँसबाट हुने क्षति पनि दुखदायी हुन्छन् । ज्ञाँसका सिलिण्डर विस्फोटबाट हुने आगजनीले प्रायःगरेर धन र जनको क्षति गर्दछ । तर यो होसियारीपूर्वक प्रयोग गर्ने हो भने यसबाट त्यस्तो क्षति व्यहोर्नु पर्दैन । आगलागीको कुरा गर्दा कहिले प्रकृतिबाट मिल्ने चट्याङबाट समेत हुने गर्छ । यसले जुन ठाउँमा प्रहार गर्दछ त्यही ठाउँमा मात्र जलन हुन्छ । हुन त चट्याङले पनि ठूलो नोक्सान गर्छ । तर यो सिमित स्थानमा हुन्छ त्यसैले यो फैलने कम सम्भावना हुन्छ । वर्षाको समयमा बढता चट्याङलाग्ने हुनाले पनि ठूलो नोक्सानबाट बच्न सकिन्छ । तर शहरमा बस्ने मानिसको दिल दिमाग सट भएर हुने आगलागी र राजनीतिबाट सल्किएको आगोले ठूलो नोक्सान गर्दछ ।
चैत्र १५ गतेका दिन काठमाडौको तिनकुनेमा आयोजना गरिएको सभा, सभा जस्तो भएन । यसले काठमाडौको धेरै स्थानमा आगजनी भयो । केही स्थानमा लुटपाटका तथा तोडफोडका घटना समेत भए । अर्थात तिनकुनेको सभामा सहभागिहुन गएकाहरूबाट अप्रिय घटना हुनपुग्यो । यसको लाज छोप्नका लागि उल्टै प्रहरीलाई दोष दिने दुचेष्टा गरियो । घरमा आगजनी गर्ने, लुटपाट गर्ने र सर्बसाधाराणलाई तर्साउनेसम्मका कार्यहरू भएको देखियो । तिनकुनेमा भएको घटनाले गर्दा मुलुकले अनाहकमा ठूलो नोक्सानी व्यहार्नु परेको छ । एकातर्फ विभिन्न स्थानमा आगजनीका घटना देखियो भने अर्कोतर्फ त्यही आगजनी भएको स्थानमा एकजना होनहार पत्रकार सहित अर्को एकजनाको ज्यान समेत गएको छ । यो घटनालाई सिधै हत्या भनिएको छ । घरमा आगजनी गरेर बाहिरबाट ताला लगाएकाले यो हत्या हो भन्न गाह्रो छैन । नेपालको सन्दर्भमा भन्नुपर्दा राजसंस्था स्वाभिमानि नेपालीका मनबाट बिकर्षण भइसको छ । कोही कसैको मनमा विकर्षण भएको संस्थालाई पुनर जीवन दिन्छु भन्नु दिवास्वप्न मात्र हो । राजा ल्याउनका लागि मुलुक जलाएर होइन नेपालीको मन जितेर आउन सक्नु पर्दथ्यो । अहिले पूर्व राजालाई संविधानको दायरामा आएर निर्वाचनमा आउन धेरैले सुझाव दिएका छन् । आज राजसंस्था ब्यूताउने सपना देखेकाले काठमाडौंको तिनकुने लगायतका विभिन्न स्थानमा जुन आतंक मच्चाए यसले नेपालको राजनीतिक वृतमा तरंग उत्पन्न गरेको छ ।
वनका लागेको आगो देखेर चित्त दुखाउने नेपाली नागरिकले चैत्र १५गतेका दिन राजा चाहनेहरूका हातबाट भएको दुष्कर्म आफ्नै आँखाले देखे । यसले पूर्व राजा र राजसंस्थाप्रति भएको सहानुभूति पनि नामेट भएर गएको छ । कसैको मनमा सनक चल्दैमा राजा आएर गद्दीमा बस्ने कुरा हुँदैन । यसकालागि पहिलो त संविधानले दिनु प¥यो, दोस्रो अत्यधिक नेपाली नागरिकले चाहना गरेको हुनुप¥यो, तेस्रो भनेको सुरक्षा निकायले साथ दिएको हुनुपर्यो, चौथो समयले मागेको हुुनुप¥यो अनि पाँचौ राजाहुनेको चरित्र गद्दीमा बस्ने खालको हुनुप¥यो । कुनै कोणबाट पनि राजसंस्था व्यूँतने वा राजा फर्केर गद्दीमा बस्न आउने र नेपाली नागरिकले सम्मान गर्ने अवस्था देखिदैन । सिमित व्यक्ति तथा दलको स्वार्थको निम्ति स्वतन्त्र भएका नागरिक पुनः किन जञ्जिरमा बाँधिने? राजसंस्था फिर्ता ल्याउनुको तात्पर्य मुलुकलाई पुनः निरंकुशतातर्फ फर्काउनु हो ? अहिले राजा फर्काउन उद्यत केही तत्वहरूले हामीले कार्यक्रम घोषणा गरेका छैनौं आन्दोलको घोषणा हुन बाँकी छ । १५ गतेका दिनको कार्यक्रम त्यही घोषणाका लागि थियो भनेर चिच्याइरहेका छन् । घोषणा गर्नका लागि गरिएको जुलुसमा आएकाले मुलुकभर डढेलो सल्काउने गरी तिनकुनेमा आफ्नो हरकत देखाए भने राजा आएर शासन चलाउन लागे भने उनीहरूको अवस्था कति सहज देखिएला ? यसैबाट अनुमान गर्न सकिन्छ । अहिले निरोको बाँसुरीको धुन चलिरहेको छ । यो धुनमा लठ्ठीने होइन यदि लठ्ठीने गल्ती गरियो भने तीनकुने जस्तै झमेला मुलकले बार बार व्यहोर्नुपर्ने छ । पहिले पनि सुखानी ,भीमान जस्ता स्थानमा स्वाभिमानीहरूले ज्यान गुमाएका थिए । राजा फर्काउने भ्रममा कोही पनि नपरे हुन्छ । अव नेपाली नागरिकले रगतसंग साटेर ल्याएको व्यवस्था फिर्ता दिन्छन् भने नसोंचे हुन्छ । राजा दौडबाट जितेर आएका हुन् । नागरिक आन्दोलनबाट जितेर आएका हुन् । आन्दोलन भनेको बलिदान हो । यसलाई खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन ।