© २०२३
दालचिनीबाट गाउँलेहरूले आम्दानीको बाटो फराकिलो बनाएका छन् । त्यही दालचिनीको पात र बोक्रा बेचेर घरखर्च,ओैषधोपचार,लत्ताकपडा र शिक्षादीक्षामा खर्चिएका छन् । यो कुरा पाल्पा तिनाउ गाउँपालिकाको हो । तिनाउभित्र ६ वटा वडाहरू छन् । त्यसमध्ये वडा नम्बर ३ का फिरफिरे, बेरुवा,ज्यामिरे,उल्टेकुना,सराङखोला,देउराली,गड्डा गाउँका किसानहरूले प्रतिघर न्यूनतम पचास हजारदेखि चार लाखसम्म आम्दानी गर्दै आएका छन् । त्यही दालचिनीको आम्दानीले फुसका छाना हटाएर टीनका छाना छाए । गाउँका युवाहरू गाउँमै रहे । परदेश जानेहरूलाई दालचिनीले गाउँमै राख्यो । एकपटक लगाएपछि पटकपटक लगाउन नपर्ने,गाईबस्तुले नखाने, बाँदरले नसताउने र सोत्तरमा समेत काम नलाग्ने दालचिनीको पातको मूल्य यतिबेला गाउँमै प्रतिकिलो ६६ रूपैयाँ पुगेको छ । बोक्राको प्रतिकिलो मूल्य एक सय ३० नाँघेको छ । ज्यामिरेमा दालचिनी सहकारी खुलेको छ । दालचिनी किसानका लागि खुलेको उक्त सहकारी, गाउँलेहरूलाई आर्थिक सहजीकरण गर्न खुलेपनि आर्थिक अभावका कारण भनेजति सफलता हाँसिल गर्न सकेको छैन । संकलन केन्द्र निर्माण र कार्यालय व्यवस्थापनमात्र सम्भव भएको सो सहकारीका अध्यक्ष एवम् दालचिनी मध्यस्तकर्ता गुरु शर्माले जानकारी गराए ।
दालचिनी खरिदका लागि गाउँमै ढक, तराजूको बन्दोबस्त गरिएको उनै शर्माले बताए । किसानहरूले वर्षमा दुईपटक दालचिनीको पात बेच्छन् । विशेष गरि असोज– कार्तिक र बैसाख,जेठ महिनामा पात निकाल्ने मौसम भएपनि जाडोयाममा निक्लिने पातको स्वाद र मूल्य राम्रो हुने उनले सुनाए ।
यतिबेला तिनाउ गाउँपालिका वडा नं.४ को सत्यवती,लगाढ,लगाढबेसी,छाप, गिजिञ्चौर,बौरेडाँडा,जाल्माघाट र नेपाघाट लगायतका बस्तिहरूमा दालचिनीका पात र बोक्रा बेचेर मनग्य पैसा कमाउनेहरू छन्। यहाँका गाउँलेहरूको बाँच्ने आधार नै केरा, पिँडालु,तरुल बनेको बेला दालचिनी प्रमुख आयस्रोत बनेको हो ।
त्यसैगरी दालचिनी बढी उत्पादन र बिक्रीवितरण हुने वडामध्ये तिनाउको वडा नं.५ कोल्डाँडा, बिस्कुनडाँडा, घुँघुँराछाप,भक्तेछाप बस्तीहरू पर्छन् ।
यहाँका गाउँलेहरूले दालचिनी खेतीलाई नै जीविकोपार्जनको मूलआधार ठानेका छन् । यतिबेला गाउँतिर प्रशस्तमात्रामा दालचिनीका पात काट्ने ,पात टिप्ने र बोक्रा ताँछ्ने कामहरू धमाधम भएका छन् । गाउँलेहरूको मुख्य काम नै यतिबेला यहि भएको छ । धेरै हुनेहरूले मौसमी कामदार ज्यालामा लगाएका छन् भने कम हुनेहरू आफै काममा भिडेका छन् ।
गाउँमा रहेको बुद्व विकास माविले आफ्नो खाली रहेको जमीनमा करिव एक हजार दालचिनीको बेर्ना गएको वर्षामास लगाएको छ । विद्यालयको आम्दानी बढाउन त्यसो गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश रास्कोटीले बताए । दालचिनी बेचेर गएको वर्षमात्र करिव करीव १२ करोड बढी आम्दानी हुन सकेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
सामुदायिक वन समन्वय समिति पाल्पाले साविक दोभान गाविसको वडा नं. २ को बेरुवा गाउँमा स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरू, युवा क्लव,आमा समूह,दोभान एकीकृत पर्यटन विकास समिति, साविक दोभान गाविस मिलेर “दालचिनी मिनी महोत्सव २०६८“ सम्पन्न गरेको थियो । जहाँ दालचिनी उत्पादक किसानहरू,दालचिनी किन्ने साहुजीहरू र कारोकार गर्ने मध्यस्थकर्ताकाबीच दालचिनीको उत्पादन,वजार र बजारीकरणका बारेमा व्यापक छलफल गरिएको थियो । त्यतिबेला दालचिनीको पातको मूल्य प्रतिकेजी २० रूपैयाँ थियो । बोक्राको मूल्य ६८ रूपैयाँ प्रतिकेजी थियो ।
खास गरि दालचिनीको प्रयोगले छालाका समस्याहरूलाई हटाउने,पेटको रोगहरू निर्मूल पार्ने,स्मरण शक्ति बढाउने र यौन उत्तेजना बढाउनमा सहयोग गर्ने सम्बन्धित विषयका जानकारहरूले बताउँदै आएका छन् ।
बहुगुणी दालचिनीलाई यतिबेला चिया वा कफीमा मिसाएर पिउने चलन छ ।
दालचिनी मिनी महोत्सवमा दालचिनी मिसाएर वा त्यसबाट बन्न सक्ने खाना वा रक्सी उत्पादनमात्र होईन दालचिनीको माला लगाएर पाहुनाहरूलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो । आजसम्म पनि तिनाउमा हुने प्रायःकार्यक्रमहरूमा दालचिनीको माला लगाउने र कार्यक्रम समापनपछि घर लगि भान्छामा झुण्डाएर माछामासु पकाउँदा राख्ने चलन यथावतै छ ।
समन्वय समितिले २०६८ सालको महोत्सवको अवसरमा एक घर १० दालचिनीको बेर्ना र १० वर्षपछि पेन्सनको नारा अघि सारेको थियो । संस्थाले सोही अनुसार काम अघि बढाएको थियो । उक्त नारा,यतिबेला साकार भएको छ । गाउँलेको मुहार उज्यालो बनाई आर्थिक समृद्धिको बाटोमा दालचिनी सारथि बनेको छ ।