© २०२३
धेरैका आमाबाबाले सन्तानलाई शिक्षादीक्षा दिन्छन् । तर, आफ्नै आमालाई पढाएकी थिईन् छोरीले भन्ने कुरो अनौठो लाग्न सक्छ । प्रसङ्ग, प्रौढ शिक्षाको हो । यो कुरो २०५२ सालतिरको हुनुपर्छ । प्रौढ शिक्षामार्फत पढ्न र लेख्न सिकेपछि घरमा खुबै मिहिनेत गरिन् आमाले । यतिबेला मोबाईलमा गीत, भजन सुन्छिन् । सुनेको कुरालाई कापीमा उतार्छिन् । सुन्दर अक्षर कोर्छिन् । मन पनि अक्षरजस्तै सुन्दर लाग्छ उनको । उमेरले तीनबीस कटिन् । तर पढाईमा, लेखाईमा निरन्तर तल्लीन छिन् । जाँगर र हिम्मतले उनलाई अघि बढाई रह्यो । घर उनको काभ्रेको पाँचखाल नगरपालिका, वडा नं.११ मा पर्छ । उनी पित्तथैलीको अप्रेसन गर्ने क्रममा बुटवलमा छोरीघर आईपुगेकी थिईन् । उनलाई प्रौढ शिक्षा पढाउने उनकी छोरी सबिना लामा यतिबेला क्रिमसन हस्पिटलको अप्रेसन थिएटरमा नर्स छिन् । छोरी र आमा ढुक्क हुन यतै अप्रेसन गरेका थिए ।
सबिनाले आफ्नी आमा, नानीमाया तामाङलाई पहिला अक्षर र अहिले अप्रेसनमा सहयोग गर्न पाउँदा छोरीको जिम्मेवारी पूरा गर्न पाएकोमा गौरव गरिन् ।
नानीमाया तामाङ, लेख्न र पढ्नमात्र होईन भाषण गर्न समेत उस्तै माहिर छिन् । मनमा लागेका कुरा सबैका अघि परिपुराएर गर्छिन् । निडर भएर बोल्छिन् । लाज, धक मान्दिनन् । ओैपचारिक शिक्षा हासिल नगरेकोमा उनलाई कुनै आत्मग्लानी छैन । बरु गौरव गर्छिन् प्रौढ शिक्षामार्फत लेख्न, पढ्न सिकेकोमा । प्रौढ शिक्षाले आफूलाई तेस्रो आँखा दिएको,बोल्ने हौसला र आँट प्राप्त भएको अनुभव सुनाईन् । २०५४ सालमा उनी महिला जनप्रतिनिधिका लागि उम्मेदवार थिईन् ।
प्रत्येक शनिवार उनी सत्सङ्ग जान्छिन् । आफ्ना देवीदेउता सम्झेर भजन गाउँछिन् । आफूले जानेका र बुझेका कुरा सबै सहभागीहरूकाबीच प्रस्तुत गर्छिन् । धार्मिक एवम् आध्यात्मिक प्रवचन दिन्छिन् । ‘जसले जे धर्म मानेपनि सबैका भगवान एक हुन’ उनी बताउँछिन् । उमेर ढल्किदै जाँदा उनमा आध्यात्मिक चिन्तन गर्ने बानी बढेको छ ।
सत्सङ्गमा हिड्न थालेपछि उनका भगवानले उनको हातगोडा सिस्नुले पोलेजस्तै गर्ने समस्या निको भएको र उनका श्रीमानको ढाड दुख्ने पिरलो कम भएको समेत सुनाईन् । त्यो उनको विश्वास हो । विश्वास र आस्थाले नै आफूलाई धैर्यवान बनाएको उनले बताईन् ।
निरन्तर भगवानको सेवा गर्नाले आफूलाई स्वस्थ रहन पनि सहयोग मिलेको उल्लेख गर्ने उनले आफूले जानेका,बुझेका कुराहरू सुनाउनका लागि जिरी, दमक, खुर्काेट र मन्थलीलगायतका स्थानहरूमा पुगेको सुनाईन् । त्यस्तो शिक्षा बाँड्न पाउँदा आत्मसन्तुष्टि मिलेको रहेछ उनलाई । आफ्ना छोरा, छोरीलाई समेत सत्यकर्म र सत्यवचनमा लाग्न प्रेरणा दिदै आएकी नानीमायालाई भविष्यमा असल उत्प्रेरक र गुरुआमा बन्ने रहर जागेको छ ।
करिव छ, सात वर्ष उनी प्रेमवादमा समेत सहभागी भईन् । केही कुरा सिकिन् । यतिबेला सत्यवचन र कर्ममा विश्वास गर्छिन् र सोही अभियानमा निरन्तर गतिशील छिन् । उनका लागि विश्व एक घर हो । सबै मानिस,आफ्ना परिवार हुन् । सबैको हितले नै विश्वको उन्नति र प्रगति हुने उनको ठहर छ ।
नानीमायालाई जीवन, सुन्दर फूलजस्तै लाग्छ । उनलाई जीवन र जगत प्रिय लाग्छ । अप्रिय वचन र व्यवहारले समाज र विश्वको अहित हुने उनको तर्क छ । त्यसैले सत्य बोल,स्वच्छ व्यवहार प्रदर्शन गर । त्यसैले नै जीवन सार्थक सावित हुनेछ । यो नै उनको जीवनदर्शन हो । यतिबेला नानीमाया छोराबुहारी, नातिनातिना र श्रीमानसँग सुखका साथ आदर्श जीवन गुजार्दै आएकी छिन् ।