© २०२३
अपराध बिभिन्न किसिमका हुन्छन् । जस्तो बलात्कार, हत्या, चोरी, ठगी, भ्रष्टाचार, देशद्रोह आदि । तर हाम्रो देशमा भ्रष्टाचार र देशद्रोहलाई अपराध मानेको पाइँदैन । किनभने यहाँ प्रधानमन्त्री, मन्त्री, नेता र उच्चतहका कर्मचारीले बिगतमा र अहिले पनि गरिरहेका भ्रष्टाचारका नालीबेलीहरु भनिसाध्य र सुनिसाध्य छैन । तर, यिनीहरुलाई अपवादबाहेक कारवाही हुँदैन । किनभने छानबिन गर्ने र सजाय दिने जिम्मा पाउनेको पदमा यी नेताकै पकेटका मान्छेहरु भर्ती गरिएका छन् र उनीहरु पनि भ्रष्टाचारमा सहभागी हुन्छन् । त्यस्तै जनतालाई मख्ख पार्न देशको नक्शा बढाएर प्रकाशित गर्ने अनि भारतले आफुलाई प्रधानमन्त्री पदबाटै खेद्ने भयो भन्ने लागेपछि प्रकाशन नै भैसकेको पाठ्यक्रमको पुस्तक पनि बितरण गर्न रोक्ने, चाइनाले देशको सीमा मिचेको स्पष्ट जानकारी हुँदाहुँदै पनि जनतालाई ढाँटेर चिनले देशको सीमा मिचेकै छैन र चिनसँग सीमामा कुनै समस्या नै छैन भनेर बिदेशीहरुको पक्षपोषण गर्नु र मातृभुमीलाई घाटा पुगाउनु के देशद्रोह होइन ? यिनीहरुले जे बोलेपनि हुन्छ । कसैले करवाही गर्न सक्दैन ।
छिमेकी देश चिन र अन्य देशहरुमा भ्रष्टाचारीलाई मृत्युदण्डसम्मका सजाय दिएका समाचारहरु आइरहन्छन् । हाम्रो देशमा कानुनमा लेखिएको त होला तर यहाँ भ्रष्टाचारीलाई सरकारले त देख्दै देख्दैन । कतिपय अवस्थामा भ्रष्टाचारी नेता हो भन्ने जान्दाजान्दै पनि फूलमालाले नागरिक अभिनन्दन गरिन्छ । वास्तवमा अपराध किन हुन्छ त ? मुख्य कुरा त जत्ति कडा कानुन बनाएपनि कानुनमा उल्लेख भएअनुसार अपराधीलाई सजाय दिलाउन नसक्नु नै हो । नेपालमा कुनैपनि अपराधबिरुद्धको कानुन नभएको त होइन नि । तर अपराधीलाई सो कानुनअनुसार सजाय नदिएर उन्मुक्ति दिइन्छ । सजाय दिने ब्यक्ति नै एकप्रकारले अपराधी मानसिकताकै भएको छ । हाम्रो देशमा त सजाय तोक्ने ब्यक्तिको मानसिकतानै अपराधी हुने हुँदा धेरै अपराधीले उन्मुक्ति पाउँछन् । मुस्लिम देश जस्तो साउदी अरबमा अन्य ब्यक्तिको पनि अपराध गर्ने मानसिकता नबनोस् हिम्मत नगरोस् भनेर सबै नागरिकलाई बोलाएर अपराधीलाई चौबाटोमा लगेर सबैको अगाडी उसको शिर काटिन्छ । तर अपराध त त्यहाँ पनि भैरहन्छन् किन होला त ?
बलात्कारका सवालमा हाम्रो देशको इतिहास पढ्दा ठूलाबडाले गरेका बलात्कारलाई अपराध नै मानिँदैनथ्यो । इतिहासका सबै प्रशासकको यौन अपराधको बिषयमा धेरैका आ–आफ्नै कथा छन् । तिनैमध्ये एकजना शासक जङ्गबहादुरको यौन अपराधको कथा पढ्दा अनौठो लाग्छ । ५० पल्ट मृत्युदण्ड दिएपनि उनले गरेको अपराधको सजाय नपुग्ने अनुमान गर्न सकिन्छ । जङ्गबहादुरका बैधानिक पत्नी नै ४२ वटि थिए रे । के ती ४२ वटि महिला सबै श्वेच्छाले उनका श्रीमती बन्न आएहोलान् त ? अझ रखैल त कति हो कति ? अनि कहिँ कतै राम्री केटी वा महिला देखापरेमा जसरी पनि उनको दरबारमा पुगाउनुपर्ने रे । सैनिक अफिसरलाईसमेत चिठी नै लेखेर दरबारमा केटी पुगाइनुपर्ने आदेश हुन्थ्यो रे । यौन अपराधकै लागि उनले दरबारमा धेरै ब्यत्तिको हत्या गरेका थिए रे । देशका शासकहरुमा यतिधेरै नभएपनि धेरथोर यौन अपराधिक कृयाकलापहरु जङ्गबहादुर भन्दा अघिपनि भए र उनीपछि पनि अहिलेसम्म नै भैरहेका छन् । बेलाबेलामा कतिपयका यौन अपराधका घटना बाहिर आउँछन् तर धेरै शासकका यस्ता अपराधका घटनाहरु इतिहासको अन्धकारमै बिलाउँछन् । कृष्णबहादुर महराको काण्ड त बिभिन्न कारण तथा नेताहरुको एकले अर्कोलाई बिभिन्न उपायले गिराएर आफु माथि उक्लिने दाउपेच, आर्थिक लेनदेन र यस्तै बिभिन्न कारणले उदाङ्ग भएको हो । अन्य यस्ता धेरै हाई प्रोफाइल यौन अपराधका घटनाहरु गुपचुप पारिन्छ ।
अपराधसम्बन्धी कानुन बनाउने र लागुगर्ने उच्चओहोदामा बसेका मन्त्रीले नै बलात्कार र हत्याको सवालमा आफ्नो मनसाय ब्यक्त गर्दा अन्य देशहरुको अपराधको आँकडा हेर्दा हाम्रो देशमा आत्तिहाल्नुपर्ने अवस्था छैन भनेर भन्छन् । अनि पछि त्यही कुरालाई पत्रकारले बङ्गाएर प्रस्तुत गरे भनि यो देशको सरकारले नै प्रतिवाद गर्छ । उनको भनाइअनुसार आत्तिनु नपर्ने को त ? जस्तो छोरी बुहारी बलात्कृत हुन्छन् कि भनि चिन्ता गर्ने अभिभावक या कतै म बलात्कृत हुन्छु कि भनि चिन्ता गर्ने महिला वा किशोरी या बलात्कृत भैसकेकि पीडित महिला वा किशोरी या उनका पीडित अबिभावक ? बिदेशको आँकडा बताएर अपराधको गिन्तीको तुलना गरेर सन्तोष गर्नुभन्दा एउटामात्र वा जत्ति अपराध भएतापनि त्यसलाई कानुनी दायरामा ल्याएर निराकरण गर्नु आवस्यक होइन र ?
समाजमा यस्ता अपराधिक घटनाहरु किन दोहोरिरहन्छन् र कसरी नियन्त्रण गर्न सकिन्छ ? सबैभन्दा मुख्य कुरा त हाम्रो सामाजिक संरचना र यस समाजको प्रत्येक सदस्यको सोच र चिन्तन बारे गहिरो अध्ययन गर्नु आवस्यक छ । किन यसरी बालिका, किशोरी र महिलाहरु परिवार भित्रैपनि सुरक्षित छैनन् ? हजुरबाउले नातिनि बलात्कार गरेका, बाउले छोरी बलात्कार गरेका, ससुराले बुहारी बलात्कार गरेका, काकाले भतिजि बलात्कार गरेका घटनाहरु पनि बढीरहेका छन् । यस्तो किन भैरहेको छ यसबारे गहिरो अध्ययन अनुसन्धान गरेर कारण पत्ता लगाउनु आवस्यक छ ।
हाम्रो सामाजिक संरचनात्मक चिन्तन बिभिन्न कुराहरुबाट प्रभाबित भएको हुन्छ । जस्तो धार्मिक पुस्तकहरुमा लेखिएका अन्धबिश्वासी कथनहरु, गाउँ समाजमा चलेका अन्धबिश्वासी प्रचलन आदिबाट प्रभाबित भएका हुन्छन् । जस्तो छोरा नपाए अपुतो हुने रे, मरेपछि पनि मुक्ति नपाइने रे । यस्तै बिभिन्न अन्धबिश्वासकाकारण छोरा नपाएका दम्पतीलाई दाजुभाइ, आफन्त र छर छिमेकले पनि हेप्छन् । त्यसकारण जसरीपनि छोरा जन्माउनै पर्ने अनि जन्मेरमात्र भएन, आफु नमर्दासम्म छोरालाई जसरी पनि बचाउनु पर्यो । त्यसकारण परिवारमा छोरीलाई भन्दा छोरालाई अहिलेपनि बिशेष हेरचाह र संरक्षण दिएको पाइन्छ । जसरीपनि छोरा नै पाउनुपर्ने सामाजिक दबावकाकारण हाम्रो समाजका धेरै परिवारमा छोराको आसमा धेरै छोरी जन्माउने हुँदा हाम्रो देशको जनसंख्यामै पुरुषभन्दा महिलाको संख्या चार लाखभन्दा बढी भैसकेको छ ।
छोरो हुर्कंदैजाँदा उसलाई मानसिक रुपमै शक्तिशाली बनाइन्छ । ब्यवहारिक रुपमा पनि परिवारमा छोरालाई हरेक कुरामा छोरीलाईभन्दा बिशेष ग्राह्यता दिइएको हुन्छ । जस्तो खानेकुरा, लगाउने कुरा आदि अथवा भनौँ छोरालाई जसरीपनि छोरीभन्दा मानसिक र शारिरिक रुपमा शक्तीसाली बनाइन्छ । यसै सिलसिलामा छोरालाई जसरीपनि बचाइराख्न छोराले गरेका सानाठूला अपराधहरुमा पनि उसका अभिभावकले सकेसम्म ढाकछोप र संरक्षण गर्ने गर्छन् जसले गर्दा छोराले पनि यस्तो गर्नुहुँदैन भन्ने बुझ्नुभन्दा मैले जे गरेपनि हुँदोरहेछ भन्ने बुझ्न पुग्छ । यसै प्रबृत्तिको उपज छोराले वा पुरुषले यौन अपराध गर्यो भनेपनि समाजले सकभर पुरुषलाई बचाएर महिलालाई नै दोषि देखाउँछ । यस्तो प्रबत्तिले अपराधिक मानसिकता भएको पुरुषमा अपराध गर्न मनोबल बढ्छ ।
कहिँ कतैबाट बिभिन्न परिस्थितिमा चेलीमाथि भएका बिभिन्न घटनामा पनि समाज र परिवारले पनि छोरी मान्छेलाई नै दोषी देखाउने प्रयास गर्नेहुँदा महिला परिवार र समाजसँग नै डराउन थाल्छे । यस्तो मानसिकताले गर्दा महिलाले उसमाथि हुने हिंसाको प्रतिबाद गर्न सक्दिन । परिवार भित्र पनि दाजु, बाउ, हजुरबाउ, काका, श्रीमान, देवर, जेठाजु, ससुरा आदिबाट हुनसक्ने यौन हिंसा तथा बिभिन्न किसिमका हिंसाको प्रतिबाद गर्न सक्दिन । हाम्रो सामाजिक संरचनागत कमजोरीका कारण पुरुषमा हुने श्वेच्छाचारी मानसिकता र महिलामा हुने कमजोर मानसिकताले गर्दा पनि महिला हिंशा र बलात्कारका घटनाहरु बढीरहेका छन । हाल आएर टि भी कार्यक्रम तथा सिरियलहरुमा देखिने महिला फेशनको सिको गर्नुपर्ने, महंगा मोवाइलहरु बोक्नुपर्ने, टिकटक बनाउनु पर्ने आदिले गर्दा किशोरीहरुको खर्च बढेको छ । यी सबै कुरा अधिकांश अबिभावकले पुराइदिन कठिन हुन्छ । यस्तो अवस्थामा किशोरीहरु आर्थिक प्रलोभनमा परेर पनि यौन हिंसाको शिकार हुने गरेका छन् ।
महिला हिंसा तथा बलात्कारका घटनालाई रोक्न तत्काल त अपराधिलाई कुनै पनि हालतमा उन्मुक्ती नदिएर कानून बमोजिमको सजाय दिलाउनु पर्छ । दीर्घकालका लागि नारी शिक्षा पूर्ण रुपमा अनिवार्य र निःशुल्क हुनुपर्छ । पैतृक सम्पतिमा महिला र पुरुषको बराबर हक लाग्नुपर्छ । समाजमा छोरो नभई नहुने कुप्रथाको अन्त्य हुनुपर्छ । हरेक क्षेत्रमा महिलाको सहभागिता पुरुषको बराबरीमा पुराउनु पर्छ । दम्पतीले छोरा वा छोरी जे पाए पनि दुई सन्तानमात्र बनाउने कानुन बनाउनुपर्छ । समाजमा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्छ । सबै नागरिकमा कानुनको बराबर पहुँच हुनुपर्छ । जस्तो जातकाकारण वा पदको शक्तिकाकारण कानुनमा भेदभाव नहोस् । अनिमात्र समाजमा हाम्रा बालिका, किशोरी र महिलाहरु सुरक्षित हुन सक्ने छन् ।