© २०२३
आज भदौ २४ गते १०७ औं बीपी जयन्ती हो । मुलुकभर बिभिन्न कार्यक्रम गरी मनाइरहेको विगतको अवस्थाभन्दा यसपाली कोरोना संक्रमणले गर्दा कतै अनलाइन जुम गोष्ठि, कतै भौतिक दुरी कायम गरी प्रवचन कार्यक्रम गरिने भन्ने सुन्नमा आयो । महामानब बीपीको सम्बत १९७१ साल भदौ २४ गते वनारसमा बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्यादेवी कोइरालाको कोखबाट जन्म भएको हो । न्वारानमा पण्डितले उनको नाम चुडामणि राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम बिशेश्वर प्रसाद कोइराला राखे । यही नाम सन्सार भरी नै प्रख्यात भयो । बीपीको बाल्यकालको बसाइ चन्द्रगञ्जमा भयो । तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन । किनकी कृष्ण प्रसाद कोइरालाले ढाक्रेको नाजुक अबस्था देखेर उनमा दया आयो र देशका जनताको अबस्था कस्तो छ भन्ने जानकारी चन्द्र शम्शेरलाई गराउन ढाक्रेका शरीरका जुम्रा भएका कपडाहरु आफुले लिएर राम्रा कपडाहरु ढाक्रेलाई दिएर पठाए भने जुम्रे लुगाहरु चन्द्र शम्शेर कहाँ पार्शल बनाई पठाए । चन्द्र शम्शेरले यो पार्शल हेरेपछि उनी माथि कस्तो कारवाही हुन्थ्यो होला भन्ने कृष्णप्रसादले संकेत पाएर उनि भारततर्फ लागि सकेका थिए ।
यसरी भारत लागेका कृष्णप्रसाद कोइरालाको सरकारले सर्वश्वहरण गर्र्या । यस बखत कोइराला परिवार सर्वहारा हुनपुग्यो । जतिबेला बीपी ११ बर्षकामात्र थिए । उनी पनि परिवारको साथ वनारसतिर लागे । बाल्यकालमा उनको बसाइ स्थिर हुन पाएन । उनी कहिले बनारस हुन्थे भने कहिले कलकत्ता त कहिले वेतिया । आदि ठाउँमा उनको बाल्यजीवन चक्रमय भयो । खानपिनको पनि समस्या थियो । कहिले चना खाएर दिन रात व्यतीत गर्नुपथ्र्याे । एउटा कष्टमय जीवनको यात्रामा रहेका बीपीको अध्यन पनि कष्टकर नै रह्यो । जब मानिसमा पेट भर्ने समस्याले सताउँछ, खानु बाहेक के नै रहन्छ र भनिन्छ । उनको परिवारमा यति दयनीय अबस्था आएको थियो कि उनी बिरामी भएर शरीरभरी घाउ खटिरा आउँदा ती घाउ खटिरालाई काट्ने बेलामा वेहोस बनाउने दवाइ क्लेरोफर्मसम्म किन्ने पैसा नहुँदा विना दवाइ नै उनको अपरेशन गर्नुपरेको थियो ।
बीपीले अध्ययनको वातावरण त्यति पाउन सकेनन् । तर पनि उनी साहसी थिए । वनारसमा बस्दा टुरिष्टको भारी बोक्न पर्यो । उनका बाबुले टेढीमा जग्गा किनेपछि बीपीलाई टेढीमा आउनु पर्यो । आधा किशोर अवस्था वीपीको टेढीमा नै वित्यो । वीपी वनारसमा पढ्न चाहन्थे । तर कृष्णप्रसाद कोइरालाले खर्च पुराउन नसक्ने अवस्था थियो । कोइराला परिवारको आर्थिक अबस्थालाई हेर्दा शुरुमा सम्पन्नशाली नै थिए । तर पछि उनको र चन्द्र शम्शेरको बीचमा भएको कटुताले गर्दा उनी विदेशिन पर्यो । त्यस अबस्थाबाट जबसम्म चन्द्र शम्शेर जीवित रहे तबसम्म कोइराला परिवारको आर्थिक जीवन कष्टमय रह्यो ।
वेतियामा बस्दा सबैले पिठो घोलेर खोले खाएर पनि बाँच्न बाध्य भए । भनिन्छ हरिहरको मृत्यु हुँदा कात्रो किन्ने पैसासमेत थिएन । पेट पाल्नको लागि पत्रिका बेच्नुपथ्र्याे । जव चन्द्र शम्शेरको मृत्यु भयो र भीम शम्शेर मन्त्री भए तब कृष्णप्रसाद नेपाल फर्के । पुनः उनी ब्यापारमा लागे र आर्थिक अवस्था सुध्रदै गयो । जस्तो जस्तो विषम परिस्थिति परिवारले व्यहोर्नुपर्यो त्यस्तै त्यस्तै अवस्थाको प्रभाव वीपीमा पर्नु स्वभाविक थियो । उनी बालककालमै साहसी, मातापिताप्रति आदरभाव राख्ने आज्ञाकारी बालक थिए ।
वीपीले जति कष्ट व्यहोर्नु परे पनि आप्mनो अध्ययनलाई जारी नै राखे । अध्ययनको थालनी वनारसबाट गरेका वीपी आर्थिक अबस्थाका कारण बिभिन्न ठाउँमा पुगेर पढाइ पुरा गर्नुपर्यो । हाजिको वागमा जग्गा किनेर कृष्ण प्रसादले स्कुल र छात्राबास बनाए । यहीँबाट बीपीको अध्ययन राम्रोसंग शुरु भयो । बीपी टेढी देखि आप्mनो अध्ययनका निम्ति बनारस जान चाहन्थे तर उनलाई बाटो खर्च दिने उपाय परीवारसंग थिएन । सानीआमा र बैनी नलीनीले मुन्द्री दिएपछि बाटोमा खान चिउरा र गुण पोको पारेर वनारसतिर लागे । सुन बेचेर आएको पैसाले स्कुलमा भर्ना भए । दोस्रो श्रेणीमा उनले मेट्रिक पास गरे । मेट्रिक पास गरेपछि कृष्णप्रसाद कोइरालाले बीपीलाई कलकत्ताबाट अध्ययन गरोस् भन्ने चाहान्थे । तर बीपीलाई कलकत्ता भन्दा बनारस नै राम्रो लाग्थ्यो । तसर्थ उनले बनारसमै पढेर १२ पास गरे । सन्, १९३४ मा वीपी राजनीतिशास्त्रमा स्नातक भए । उनले कानुनमा स्नातकको उपाधि पनि पाएका थिए ।
वीपीको राजनीतिक जीवन पनि रहस्यमय छ । उनी सर्बप्रथम आतंकवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चार महिना (१९३०) थुनामा बस्नु परयो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुछिएको थियो । तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाए । उनको राजनीतिक प्रभाब शुरुमा माक्र्सवादमा परेको थियो । उनी बम्बै गएका थिए र उनले माक्र्सवादका कृतिहरुको अध्ययन पनि गरेका थिए । कृष्णप्रसाद कांग्रेसी संस्थामा आबद्ध थिए । पछि आएर राजनीति छाप कृष्णप्रसाद कोइरालाको बीपीमा परेको थियो । पटनामा बस्दा यिनको नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरुसंग सम्पर्क भयो । पछि यिनीहरुको सम्पर्कले गर्दा वीपी पार्टीमा पनि आबद्ध भएका थिए । वीपीले राणा हटाउ अभियानका निम्ति भारतदेखि पत्रिका चलाउन थाले । सर्चलाइट पत्रिका मार्फत नेपालीहरुलाई सम्पर्कमा आउन आव्हान गरे र प्रवासी नेपालीको संगठन पनि बनाए । त्यति मात्रै नभई तदर्थ समिति गठन गरे ।
बीपीको जीवनलाई नियाल्ने हो भने राजनीतिक योगदान मात्र हेरेर पुग्दैन । उनको साहित्यिक योगदानको पनि आजको दिनमा स्मरण गर्नुपर्ने हुन्छ । उनलाई नेपाली साहित्य लेखन भन्दा पहिला अंग्रेजी र हिन्दी कथा, उपन्यासको अध्ययनमा रुचि थियो । उनी हिन्दी साहित्यका साहित्यकारहरु शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जय शंकर, मैथिलीशरण गुप्ता, सुमित्रानन्दन पन्त, मुन्सी प्रेमचन्द्रसंग साहित्य लेखन र अध्ययनको सिलसिलामा उनको सम्बन्ध बढ्दै गएको थियो । यिनले कृतिहरुको अध्ययन गर्नेमात्र हैन यसलाई व्यवहारमा उतार्ने बानी भएकाले यिनलाई हामीले कहिले यौनवादी, कहिले मनोविज्ञानवादी कहिले आदर्शवादी, कहिले रहस्यवादी, कहिले आध्यात्मवादी, कहिले नियतीवादी आदि विविधवादीको रुपमा पाउछौँ । उनको लेखनको थालनी हिन्दी भाषाबाट भयो । कलिलै उमेर १६ बर्ष देखि उनको लेखन कार्य शुरु भएको थीयो ।
दुई दर्जनभन्दा धेरै कथा, कविता, उपन्यास आदि उनका कृतिहरु अध्ययन गर्न सकिन्छ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी बहुआयामिक ब्यक्ति हुन् । २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधान मन्त्री बनेका बीपी हाम्रो मुलुकमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमै नाम कमाउन सफल भए । ती बीपीले देखाएको बाटोमा अहिलेका नेता हिंड्न सकेका छैनन् । यसैकारण पार्टी आफु भित्रै साँघुरिदै गएको छ । गुट उपगुटका कारण पार्टी भित्रभित्रै भाँडभैलो मच्चिएको छ । आफ्नै साथीलाई शत्रु देख्ने प्रवृत्तिले तीन तहको सरकारमा आफ्नो नेतृत्व लिन सकेको छैन ।
पार्टी सञ्चालनको कार्यतालिका सहित विधान बनाउने तर सो बमोजिम चल्न नसक्ने मुख्य कमजोरी रहेको छ । १३ औं महाधिवेशनको कार्यकाल सकिँदा गुटको आधारमा विभाग गठनले अरु विवादमा कांग्रेस देखिएको छ । समयमा समितिले पूर्णता नपाउने, भातृ, भगिनी, शुभेच्छुक संस्थाहरुको अधिवेशन हुन नसक्ने जस्ता कारण पार्टी कमजोर हुंदै गएको छ । महामानव बीपीको जन्म जयन्ती मनाउँदै गर्दा चर्का भाषण मात्र गर्ने तर आफु नै पार्टीको नीति नियममा नचल्ने सबै कार्यकर्ताहरुलाई समेट्न नसक्ने फरक बिचार राख्ने कार्यकर्तालाई शत्रु सम्झने र फर्केर नहेर्ने जस्ता कृयाकलापले पार्टीलाई झन् कमजोर बनाएको छ । बीपीको बाटोलाई भुलेर उनको जन्मदिनमा एक दिन बृक्षारोपण गरेरमात्र केही अर्थ छैन । यदि प्रत्येक बर्ष बीपीलाई सम्झने हो भने उनले देखाएको समाजवादको सिद्धान्तलाई कार्यान्वयन गर्न सक्नुपर्छ र बल्ल बीपी जयन्ती मनाउनुको सहि अर्थ रहन्छ ।