यूटुवभित्र पसेपछि भूपेन्द्र बुढाथोकीको शब्दमा पूर्णिमा लामाले भर्खरै गाएको गीतमा नजर परयो । ल्यापटपमा क्लीक गरेर सुन्न शुरु गरें । सुन्न सुरु गरें कि रुन सुरु गरें, आफै द्विविधामा परें । सुरुका शब्दहरु यसरी पोखिए – ‘फूल भनूँ जिन्दगीलाई फूल्नै नपाइ झरिसक्यो, दीप भनूँ जिन्दगीलाई जल्नै नपाइ मरिसक्यो ।’ यो गीतको सर्जकले कसको कथालाई गीतमा समेटेका हुन ? मलाई थाहा भएन । आफूभने विद्यालयको आँगन र कक्षाकोठाभरि देखिने बालबालिकाहरु सडक, बाटो, पाखा र जङ्गलभरि रुझ्दैभिज्दै काम गरेको कुरा देखेको सम्झेर रोएँ । गीतले भने झै उनीहरुको जीवन अव फूल्नै नपाइ झरिरहेको अनुभूत गरेर रोएँ । पूर्णिमाले गाउदै गइन् –कस्तो दिनमा जन्म भयो भीडमा पनि एक्लो भएँ, मेरो आँकाश छुने इच्छा आज सवै विलाइ गए । केही गरी राम्रो बन्ने थिए मेरा सपनाहरु, घुटु–घुटु पिउनु परयो पानी जस्तै आँशुहरु । पछिल्ला हरफहरुले पनि लकडाउनको कारण विद्यालयहरुमा जान नपाएका बालबालिकाका कथाहरु नै समेटिएका अनुभूत भयो मलाई । गीत सुन्दै गर्दा त्यो दिन त्यस्तै भयो । विधाताले पूर्णिमालाई गाउने जिम्मा दिएकाले गाइरहिन् । मेरो भागमा रुने जिम्मा परेछ । रोइरहें ।
यो पङ्तिकार पूर्णिमाको गीत सुनेर रुदैगर्दा एकपटक मेरो कुरा सुनेर रुदैगरेकी बर्दियाको एकजना महिला अभिभावकको सम्झना भयो । उनी रुनुको कारण खोतल्दा कथा यस्तो थियो, पढाइ छोडेर उमेर नपुग्दै विवाह गरिन् । बीस वर्ष नपुग्दै दुई जना सन्ततिको आमा पनि भइन् । जुन दिन उनीसँग मेरो भेट भयो, मैले किशोराबस्थाका कक्षा दशका बालबालिकाहरुसँग बालविवाहले हुने बर्वादीका कुरा गरिरहेको थिएँ । मैले त कुरा मात्र गरें । भोग्ने भने उनी परिछन् । त्यसैले आँशु थाम्न नसकेर त्यतिबेला रोइन उनी । भर्खरैको कुरा, एकजना शिक्षिकासँग भलाकुसारी हुँदा आठकक्षामा पढ्नुपर्ने दुइजना नानीहरुले लकडाउनको अवधिमा विवाह गरिसकेको कुरा सुनाइन् । सम्झें । सायद उनीहरु पनि बर्दियाको एकजना महिला रोएझै आफ्नो जिन्दगी सम्झेर कुनै दिन रुनेछन् । मेरै सहकर्मी एवम् पूर्वस्टाफको कक्षा १२ मा अध्ययन गरिरहेको छोराले आत्महत्या समेत गरे । सहकर्मीलाई भेट्न जाँदा उनीबाट समेत विद्यालयहरु सञ्चालनमा भएको भए यो घटना हुने थिएन भन्ने दुःखेसो पोखे ।
म जसलाई मेरो सरकार भन्छु, सायद उसलाई विद्यालय बन्द गर्दा बालबालिका र देशमा कस्तो असर पर्छ भन्ने कुरा थाहा छैन क्या रे । त्यसैले जवरजस्ती बन्द गरिरहेको छ । सुरक्षाका सवै प्रवन्ध मिलाएर विद्यालय सञ्चालन गर्न खोज्दा पनि आँखा चिम्लेर बन्द गर्ने आदेश दिइरहेको छ । कोरोनाको सून्य सङ्क्रमण भएका जिल्ला र पालिकाहरुमा समेत पाँच महिनादेखि सवै विद्यालयहरु बन्द छन् । खोल्नेलाई खवरदार भन्दै सजायको धम्की दिने काम भएको छ । कतिपय गाँउ र टोलमा विद्यालय बाहेक सवै काम चलिरहेका छन् । यहाँसम्म कि कतिपय विहेपार्टी, पूजाआजा र छलफल एवम भेलाका कामहरु समेत विद्यालयको परिशरमा जम्मा भएर गरिन्छन् । तर विद्यालयमा विद्यार्थीहरु भेला हुन सख्त मनाही छ । त्यसैले हुनेखानेका बालबालिकाहरु ल्यापटप समातेर
अनलाइन र जुम क्लासहरुमा देखिन्छन् भने हुँदाखानेका विद्यार्थीहरु वनपाखा, सडक, खोला र जङ्गलतिर विभिन्न कामको बहानामा छरपष्ट देखिन्छन् ।
माथि मैले उल्लेख गरेजस्तै विद्यालय बन्द भएको कारणले बालबालिकाहरु विभिन्न समस्याहरुको शिकार भइरहेको अवस्था छ । उनीहरुको अध्ययनतिरको मन अव अध्ययनबाट भागिसकेको देखिन्छ । घरको वातावरण अनुकूल नहुने विपन्न समूदायका बालबालिकाहरुले सडकलाई घर बनाइसकेको स्थिति छ । कतिले त आत्महत्याको माध्यमबाट मृत्युवरण गरिसकेका छन् । मेरो देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय पुग्दै गर्दा यही अवधिमा आत्महत्या गर्नेको संख्या पच्चीससय पुगिसकेको अवस्था छ । बालविवाह, घरेलु हिंशा, दूव्र्यसन, यौनहिंशा आदिको शिकार कति भएका छन्, अभिलेख आउन बाँकी छ । यूनिसेफले कोरोनाको कारणले विश्वभरि करिव एक करोड विद्यार्थीहरुले पढाइ छोड्ने अनुमान गरेको छ । त्यो प्रभाव हाम्रो मुलुकमा अझ गम्भीर किसिमले पर्ने देखिन्छ । किनभने अन्य मुलुकमा विद्यार्थीहरुले विद्यालयको आँगन टेक्न नपाए पनि शिक्षणसिकाइ क्रियाकलाप सुचारु भइरहेको छ । विपन्न विद्यार्थीहरुका निम्ति सरकारले गर्ने खाजा लगायत अन्य रेखदेखमा समेत ख्याल गरिरहेको छ । हाम्रोमा माथि भनेझै सिमित बालबालिकाहरुको शिक्षा सूचारु देखिएपनि पञ्चानब्बे प्रतिसत भन्दा बढि बालबालिकाहरुको अवस्था नाजूक छ । सरकारले उनीहरुका निम्ति सिन्कोसम्म पनि भाँच्न नसकेको अवस्था छ ।
हाम्रो देशको सरकारले शैक्षिक क्षेत्रलाई महत्व दिएर कामयावी बनाउन सकेको देखिदैन । विद्यालयको सञ्चालन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले सामान्य नागरिकसरहको विवेकसम्म पनि नपुरयाएकोझै देखिन्छ । सरकार काम नदिएर घरमै बसेर तलव दिएपछि शिक्षकलाई पनि यो विषयमा नदुखेको टाउको किन दुखाउने भन्ने जस्तो भएको छ । त्यही भएर पनि शिक्षक र शिक्षकका थरिथरिका पेशागत संघसंस्थाहरु समेत विद्यालय सञ्चालन गर्ने संभावनाका सम्बन्धमा हालका मितिसम्म एक शब्द पनि नबोलेको अवस्था छ । यस्तो लाग्छ, विद्यार्थीको शैक्षिक उपलब्धि र समुन्नति भनेको उनिहरुको सरोकारको विषय नै होइन । यही मौका छोपेर सरकार पनि मनलाग्दो तरिकाले बोलिरहेको छ । कहिले विद्यार्थी भर्ना गर भन्छ, कहिले गर्ने होइन, रोक भन्छ । कहिले सवै शिक्षकहरु विद्यालय जाऊ भन्छ, कहिले जानु पर्दैन भन्छ । कहिले मुलुकका सवै विद्यालयहरु बन्द भन्छ त कहिले यो अधिकार स्थानीय सरकारको हो भन्छ । जे होस, जसले जे भने पनि हालका मितिसम्म विद्यालयहरु औपचारिक रुपमा नखुलेको अवस्था साँचो हो ।
सरकार शिक्षा क्षेत्रमा गम्भीर नभएको कारण यसको प्रत्यक्ष मार पुरानो कर्णालीका विद्यार्थीहरुलाई परिरहेको छ । सरकारको यो सोच र रवैयाले विद्यालयहरु दशैंतिहार अघि खोल्ने सम्भावना देखिदैन । सरकारले दशैंतिहार अघि कक्षा ११ र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्योभने त्यसैलाई ठूलो काम मान्नुपर्ने देखिएको छ । दशैतिहार पछि भनेको कार्तिक पछि हो । कार्तिक पछि मंसीरमा विद्यालय खुल्नु भनेको पुरानो कर्णालीका पाँचवटा लगायत हिमाली जिल्लाहरुको निम्ति चालु शैक्षिकसत्रको एकमहिना बाँकी रहन्छ । त्यसपछि पौष र माघ महिनामा अत्यधिक चिसोका कारण त्यहाँका विद्यालयहरु चाहेरपनि सञ्चालन गर्न सकिदैन । फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुन्छ । जवकि ती जिल्लाहरुमा एकदिन पनि विद्यालय बन्द नगरेको भएपनि हुन्थ्यो । किनकि अहिलेसम्म पनि ती जिल्लाहरुमा कोरोनाका सङ्क्रमण महामारीको रुपमा फैलिएको छैन । यी त भए केही दृष्टान्तहरु । पालिकागत हिसावले यो मामलामा संघीय सरकार र सम्बन्धित स्थानीय तहले विवेकसम्मत किसिमले विश्लेषण गर्न सकेको भए इन्टरनेटको पहुँचमा नभएका अधिकांश विद्यालयहरु सहजरुपमा सञ्चालन भइरहेका हुन्थे ।
विगतमा जे भयो, त्यतातिर नलागेर अव गल्ती नगर्ने हो भने विद्यालयहरुका निम्ति शैक्षिक सत्र पुनरावलोकन गर्नु जरुरी छ । यसका लागि शैक्षिक सत्रलाई आर्थिक वर्ष अनुसार नै मिलान गरिनु हरेक हिसावले राम्रो हुने देखिन्छ । विद्यालयले सञ्चालन गर्ने परीक्षा र मूल्याङकनका कुराहरु अव आउने २०७८ साल जेठमा सञ्चालन गरिनुपर्दछ । अहिलेको अवस्थामा फागुन महिना देखि शैक्षिक सत्र सुरु हुने जिल्लाहरुको शैक्षिकसत्र पनि साउनदेखि नै सुरु गरिनुपर्दछ । यसो गर्न सकियो र आउदो मंसीरबाट पठनपाठनलाई सुचारु गर्न सकियो भने हिमाली जिल्लाहरुको पठनपाठन गर्ने अवधि अझै ५ महिना बाँकी रहन्छ भने अन्य जिल्लाहरुको पठनपाठन हुने अवधि अझै पनि ७ महिना बाँकी रहन्छ । विदालाई खुम्च्याएर पठनपाठनलाई अघि बढाउने हो भने पठपाठनलाई तोकिएको पाठ्यभार र पाठ्यक्रमअनुसार सम्पादन गर्न सकिने स्थिति छ । समस्याको यो समाधानले आर्थिक वर्ष र शैक्षिकसत्रको एकरुपता नहुँदा आर्थिक व्यवस्थापनको क्षेत्रमा बल्झिएका कतिपय समस्याहरुसमेत समाधान हुने देखिन्छ ।
सकेसम्म सामाजिक दूरी र सुरक्षाका अन्य कवच समेत अपनाइ विद्यालयको पठनपाठनलाई भाद्र दौश्रो हप्तादेखि सूचारु गर्न सकिन्छ । यसका लागि संघीय सरकार, स्थानीय सरकार र शिक्षकहरुसमेत तयार हुनुपर्दछ । आर्थिक वर्ष २०७७।०७८ को पहिलो चौमासिकको तलवसहित दशैं खर्चको हिसाव हात पार्दा कम्तिमा विद्यालयमा विद्यार्थीहरुलाई अध्यापन गरेको हुनुपर्दछ भन्ने सोच र प्रतिबद्धता शिक्षक र शिक्षकका पेशागत संस्थाहरुसँग देखियो भने यो काम त्यति गाह्रो छैन । सकिदैन भन्ने हो भने त मंसीरदेखि पनि सकिदैन । मंसीरमात्र होइन आउदो दुई वर्षसम्म पनि सम्भव देखिदैन । किनभने विज्ञहरुको भनाइ अनुसार पनि अहिले नै पत्ता लागेको भ्याक्सीनले काम गरयो भनेपनि जनजीवन सामान्य स्थितिमा पुग्न अझै दुईवर्ष भन्दा कम लाग्ने देखिदैन । हाम्रो मुलुकको मात्र कुरा गर्ने हो भनेपनि एउटा शैक्षिक सत्र गुमाउनु भनेको असी लाख विद्यार्थीहरुको एकवर्ष गुमाउनु हो । व्यक्तिका लागि एकवर्ष भएपनि मुलुकका लागि असीलाख वर्ष गुमाउनु हो भन्ने कुरा विर्सनु हुदैन भन्ने लाग्छ मलाई ।
यो मामलामा सरकार पनि शिक्षाप्रति सकारात्मक हुनुपरयो रसियाका राष्ट्रपति पुटिन जस्तै । आफ्नो देशका बैज्ञानिकहरुले बनाएको कोरोनाको भ्याक्सीन सवैभन्दा पहिलो शिक्षक र डाक्टरको निम्ति प्रयोग गर्ने कुरा गरेका छन् राष्ट्रपति पुटिनले । पत्रकारले ‘किन ? के नागरिकले बाँच्नु पर्दैन ?’ भन्ने प्रश्न गर्दा जवाफमा उल्टै पुटिनले प्रश्न गरेका छन्– ‘शिक्षक भएन भने डाक्टर कसले बनाउछ ? डाक्टर भएन भने अन्य नागरिकको उपचार कसले गर्छ ?’ हाम्रोमा त भ्याक्सीन त के, पिसिआर गराउनका लागि समेत शिक्षकहरु प्राथमिकतामा परेका छैनन् । समग्रमा शिक्षा क्षेत्र नै तीनै तहका सरकारको प्राथमिकताको सूचीभित्र परेको देखिदैन । आशा छ, इतिहासमा शासन गरेका तानाशाहहरुले जस्तै शिक्षालाई प्राथमिकता दिने सवालमा अहिलेको सरकारले कञ्जुस्याइ गर्ने छैन । पूर्णिमा लामाले गाएको गीतले भनेझै शिक्षामा भएको बेथितिको कारणले फूल्न लागेको बालबालिकाको जिन्दगीे फूल्नै नपाइ झर्ने पनि छैन ।