© २०२३
बुटवल, ८ जेठ । राष्ट्रिय उद्यान महासंघको नेतृत्व रुपन्देही जिल्लाले पाएको छ ।
देशभरका उद्यानहरुको बुटवलमा सम्पन्न पहिलो सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गर्दै अध्यक्षमा मणिमुकुन्दसेन उद्यान बुटवलका अध्यक्ष खेमप्रसाद लुइटेल र महासचिवमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्मालाई सर्वसम्मत चयन गरेको हो । नेपालमै पहिलोपटक आयोजना भएको उद्यानहरुको राष्ट्रिय सम्मेलनबाट गठित महासंघको उपाध्यक्षमा रघुनाथ खुलाल ( मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही) चयन भएका छन् । यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोेषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन् ।
महासंघको सदस्यहरुमा विष्णुमाया आचार्य,टंक बराल,अमरबहादुर कार्की,हिमालकुमार श्रेष्ठ,दिलकुमार गिरी,हरिकला कुमाल,शान्ता खनाल र हेमबहादुर बम निर्वाचित भएका छन् ।
सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका १५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए ।
मणिमुकुन्दसेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा भएको सम्मेलनले उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण लगायत १२ बुंदे बुटवल घोषणापत्र जारी गरेको छ ।