© २०२३
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः
(गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।)
नेपाली पात्रोअनुसार आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मानिन्छ । गुरु एक संस्कृत शब्द हो । जसमा गु को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति छर्ने महान व्यक्ति नै गुरु हुन् । नेपाली संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । हिन्दु संस्कृतिमा वेदको रचयीता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ शुक्ल पूर्णिमाको दिनमा गुरुहरुको सम्झना र पूजा गरेर गुरु पूर्णिमा मनाइँदै आएको बिश्वास गरिन्छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हिन्दु संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक काल देखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहँदै आएको कुरा प्रष्ट छ ।
हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भए पनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञानमात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर कखरा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनुभएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं । अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भरपर्छ । तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । वास्तवमा शिक्षकले गर्ने शिक्षण पेशा सेवामुलक पेशा हो । तर बिडम्बना अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । यद्यपि यो हाम्रो सनातनीय वैदिक शिक्षा प्रणालीले अंगिकार गरेको होइन । समय यति धेरै परिवर्तन भयो कि यहाँ गुरुहरुले ज्ञान अर्थात् शिक्षा बेच्नुपर्ने र चेलाले शिक्षा किन्नुपर्ने बाध्यता छ । शिक्षा ब्यबसायमा रुपान्तरण भएको छ । सायद यसकै कारण होला अहिले गुरु शिष्यबीचको दुरी बढ्दै गएको आभाष हुन्छ ।
विद्वानहरुले शिक्षार्थी अर्थात् विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाको उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचूरतामात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्, ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाईमात्र शिक्षक बनाउनुपर्छ ।’ भारतकै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । शिक्षकको बारेमा कहिएका यी शब्दहरुबाट जो कोहिले पनि शिक्षक को हो र यसले के गर्छ भन्ने कुरा सजिलै बुझ्न सक्छ । शिक्षकको बारेमा योभन्दा बढी व्याख्या गर्नुपर्दैन । यदि देशले साँच्चिकै शिक्षकलाई सकारात्मक रुपमा उत्प्रेरित गराई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गरिदिने हो भने विकसित राष्ट्रको निर्माण गर्ने सपना साकार हुने देखिन्छ ।
यसरी समाज तथा राष्ट्रको समग्र विकासमै अग्रणी भूमिका निर्वाह गर्ने शिक्षकको नेपाली समाजमा दर्जा नै छैनभन्दा अत्युक्ति नहोला । वास्तवमा शिक्षक को हो ? उसले के गर्छ ? कसरी शिक्षक बन्न सकिन्छ ? किन शिक्षकले गर्ने शिक्षण पेशालाई सबैभन्दा चुनौतिपूर्ण पेशा भनिन्छ ? भन्ने यथार्थ सबै मानिसहरुले नबुझ्न पनि सक्छन् । तर यहाँ बुझेकोले पनि तदनुसार ब्यवहार गर्दैनन् भन्दा त्यति फरक नपर्ला । यति भन्दै गर्दा सत्य कुरा के हो भने जसले शिक्षक र शिक्षण पेशालाई उत्कृष्ट पेशा मानी राम्रोसंग बुझेको छ, उसले अन्तरमनदेखि नै शिक्षकलाई सम्झन्छ र सम्मान पनि गर्दछ । मानिस जन्मेपछि विद्यालय नजाँदासम्म शिक्षकको भूमिका बाबुआमाले निर्वाह गर्दछन् भने विद्यालय गइसकेपछि उनीहरुलाई दीक्षित गर्ने कार्य शिक्षकको हुन्छ । बच्चालाई अनुशासित बनाउने, सांस्कारिक बनाउने, सुमार्गमा डोराउने, भविष्यको लक्ष निर्धारण गर्न सहयोग गर्ने, असल तथा सफल मानिस बन्न प्रेरित गर्नेजस्ता यावत् कुरामा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । गुरुबिना मानिसको जीवन अन्धकार हुन्छ । अन्धकारमा उज्यालो छर्दै प्रत्येक व्यक्तिलाई दीक्षित गरी जीवनको लक्ष हाँसिल गर्न सत्मार्गतिर डोराउने व्यक्ति गुरु हुन् । शिक्षक हुन् । शिक्षक त्यस्ता ब्यक्ति हुन् जो आफु जलेर भएपनि समाजमा ज्ञानको ज्योति फैलाउँछन् । त्यसैले त्यस्ता आदरणीय, सम्माननीय तथा पुज्यनीय महान् व्यक्ति शिक्षकलाई सच्चा मनले नमन गर्नु पर्दछ ।
शिक्षकले नै मानिसलाई ज्ञानको ज्योति प्रदान गर्नुकासाथै असल मार्ग बताइदिन्छ । त्यसैले शिक्षकलाई व्यक्तिको पथप्रदर्शक पनि भनिन्छ । आफ्नो लक्ष हासिल गर्न सफल मानिस वा असफल मानिस यी दुबैले शिक्षकलाई नै सम्झिन्छन् । सफल मानिसले शिक्षकको राम्रो शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणाको कारणबाट आफु सफल भएकोले शिक्षकलाई बारम्बार सम्झन्छन् । सम्मान गर्दछन् । असफल वा जीबनमा आफ्नो लक्ष प्राप्त गर्न नसकेको मानिसले पनि शिक्षकको शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणालाई आत्मसात गर्न नसकेर आफु असफल भएकोले शिक्षकलाई बारम्बार सम्झिने गर्दछन् । यस्ता मानिसहरु शिक्षकको त्यतिबेलाको मार्गदर्शन जुन अत्यन्तै महत्वपूर्ण थियो, त्यसलाई सम्झेर धेरै पछुताउनुको साथै दुखित हुन्छन् । आफ्नो लक्ष हासिल गर्न सकेका मानिस सुखी हुन्छन् भने लक्ष हासिल गर्न नसकेका मानिस दुखी हुन्छन् । समाजका सुखी तथा दुखी दुवै तप्काका मानिसले शिक्षकलाई बारम्बार सम्झछन् ।
हामीलाई थाहै छ शिक्षकले विद्यार्थीलाई पढाउने तथा सिकाउने गर्दछन् । विद्यार्थीलाई सक्षम बनाउन अहोरात्र खटिरहन्छन् । त्यसैले शिक्षकले अँगाल्ने शिक्षण पेशा अत्यन्तै मर्यादित पेशा हो । यो पेशा यस्तो पेशा हो यसले सबै पेशालाई जन्माउँछ । त्यसैले शिक्षण पेशालाई अरु सम्पूर्ण पेशाहरुको स्रोत भन्दा फरक नपार्ला । तर, हाम्रो समाजमा यो पेशालाई राम्रो पेशा नमान्ने चलन छ । छोराछोरीको भबिष्य बनाउने शिक्षक हो भन्ने जान्दाजान्दै पनि अभिभाबकहरु आफ्ना छोराछोरीलाई समाजको पथप्रदर्शक शिक्षक बनाउन चाहँदैनन् । अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरुमा शिक्षकलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ । किनकि ती राष्ट्रले शिक्षकको भूमिकालाई राम्रोसंग बुझेका छन् । तर विडम्बना शिक्षकको सम्मान गर्ने हेतुले गुरुपुर्णिमा मनाउने हाम्रो देश नेपालमा शिक्षण पेशालाई भने राम्रो नजरले हेरिँदैन ।
खासगरी मनन् गर्नुपर्ने कुरा के हो भने ज्ञानको ज्योति छर्दै प्रत्येक व्यक्तिलाई सफलताको सिंढी चढाउँदै समाज निर्माण तथा विकासमा सक्षम एबम् काबिल व्यक्ति बनाउने महान कार्य शिक्षकले नै गरिरहेका छन् र गर्नेछन् । यो कुरा बादल फाटेपछि देखिने दिउसोको घामजस्तै छर्लङ्ग छ । यस्तो तथ्य जान्दाजान्दै पनि किन हाम्रो समाजमा शिक्षकले अबलम्बन गर्ने पबित्र शिक्षण पेशालाई उपेक्षा गरिन्छ ? किन शिक्षण पेशालाई उत्कृष्ट पेशामा दर्ज गर्नुपर्दछ भन्ने कुरा राज्यको सम्बन्धित निकायबाट उठान गरिदैन ? किन नीति निर्माणकर्ताहरु पबित्र पेशामा लागेका शिक्षकहरुलाई उचित सेवा सुबिधा दिँदै शिक्षण पेशालाई एक सम्मानित पेशा बनाउने गरी नीति नियम बनाउन हिम्मत गर्दैनन् ? शिक्षालाई व्यावसायीकरण गर्ने वातावरण राज्यले सिर्जना गरेको होइन ? के यो उचित छ ?
यहाँ उठान गरिएका बिषयबस्तु नाजायज हुन् ? पक्कै पनि होइनन् । यी सबै जायज मागहरु हुन् । त्यसैले राज्यले यहाँ उठेका बिषयबस्तुलाई हृदयंगम गरी राष्ट्रका मेरुदण्डको रुपमा हेरिने शिक्षकले अंगाल्ने शिक्षण पेशालाई उत्कृष्ट पेशामा समाबेश गर्दै शिक्षकहरुलाई उच्च मनोबलकासाथ काम गर्ने वातारण सिर्जना गर्नुपर्दछ । यसो गरियो भनेमात्र हाम्रो समाजमा गुरुहरु, शिक्षकहरु सम्मानित हुनेछन् र गुरुहरुको सम्मानमा मनाइने गुरु पूर्णिमाले सार्थकता पाउने छ । अन्यथा गुरु पूर्णिमा फगत एउटा तिथिमा मात्र समेटिने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी