© २०२३
–लक्ष्मी विलास कोइराला
राज्य, सरकारको उत्पति सँगसँगै प्रशासनको विकास भएको हो । देशको शासन व्यवस्था सञ्चालनको अभिभारा पुरा गर्न कार्यपालिकाले सार्वजनिक प्रशासनको संयन्त्र खडा गरेको हुन्छ । देशको शासन प्रणाली सरकार र सार्वजनिक प्रशासनको संयुक्त प्रयासमा सञ्चालन हुनेगर्दछ । नेपालमा निजामती सेवा नै सार्वजनिक प्रशासनको पर्याय बनेको छ । प्रजातान्त्रिक शासन प्रणालीमा फरक फरक समयमा भिन्न भिन्न राजनीतिक दलहरूले शासनको अभिभारा लिएका र नेतृत्व गरेका हुन्छन् । शासनारुढ दलको इच्छामा देशको शासन प्रणालीमा सानो ठूला परिवर्तन गरिन्छन् । यसप्रकारका परिवर्तनहरूलाई प्रशासन सुधारको अल्पकालीन वा तदर्थवादी सुधार भन्ने गरिन्छ ।
देशको शासन व्यवस्थामा नै परिवर्तन भएपछि समग्र प्रशासनमा आमूल परिवर्तनको खाँचो महशुस हुन्छ । देशको राजनीतिक विभाजन बदलिएको छ । पाँच विकास क्षेत्र, चौध अञ्चल पचहत्तर जिल्लाको सट्टामा सात प्रदेश, सतहत्तर जिल्ला सात सय त्रिपन्न स्थानीयतह बनेको छ । प्रदेश र स्थानीयतहहरू आफ्नो कर्मचारी व्यवस्थापन गर्न संघीय निजामती कानूनको परिधिभित्र रहेर व्यवस्थापन गर्न सक्दछन् । संवैधानिक राजतन्त्रात्मक शासन प्रणालीको ठाउँमा गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छ । सूचना सञ्चार प्रविधिको अत्यधिक विकासले मानिसको जीवनस्तर, नेटवर्क र कार्यप्रणाली परिवर्तन भएको छ । समाज र व्यक्तिको अवधारणगत बुझाइमा व्यापक परिवर्तन आएको छ । समाजका आवश्यकता र जनजीवनका मुद्दाहरू परिवर्तन भएका छन् । यसकारण अब बन्ने संघीय निजामती सेवा ऐन प्रशासन सुधारको दरिलोे मार्गदर्शन हुन्छ । यसप्रकारको व्यापक क्षेत्रको सुधारलाई रणनीतिक वा दीर्घकालीन सुधार भन्ने गरिन्छ । देशको शासन सञ्चालनमा दुबै प्रकारका सुधारको समान महत्व भने रहेको हुन्छ ।
संघीय निजामती सेवा ऐन देशको शासन सञ्चालनको मेरुदण्ड हो । निजामती सेवा ऐनमा समावेश हुने विषयवस्तु रणनीतिक र मुद्दा केन्द्रीत हुनुपर्दछ । प्रशासन सुधारलाई मुद्दामुलक बनाउन सर्वप्रथम नेपालको प्रशासनमा देखिएका प्रमुख प्रशासनिक मुद्दाहरू के के हुन्, समाज कसरी परिवर्तन भएकोछ, प्रविधिको विकासको ट्रेण्ड कस्तो छ सबै पहिचान गर्न आवश्यक हुन्छ । कर्मचारीको सवलीकरणलाई कम महत्व दिने, सरकारले खर्च गरेको खर्चको मूल्य खोजीको अभाव, जननिर्वाचित प्रतिनिधि र कर्मचारीबीचको मौन द्वन्द्व, कर्मचारीतन्त्रको नियमित काम गर्न बाह्य विशेषज्ञको प्रयोग, राष्ट्रिय मुद्दाहरूको विश्वव्यापिकरणको सन्दर्भमा मुद्दाहरूको पुनव्र्याख्याको आवश्यकता, भ्रष्टाचारको केन्द्रबाट प्रदेश र स्थानीय तहतिर हँुदै गएको निक्षेपण (डिभुलूसन अफ करप्सन), परंपरागत एकात्मक योजना र निर्णय प्रक्रियाको बढ्दो अस्वीकार्यता, कर्मचारीतन्त्र भन्दा स्वार्थ समूहहरू बलिया र नीति तथा कार्यक्रममा उनीहरूको प्रचूर प्रभाव, कर्मचारीतन्त्रको डिजिटाइजेशन र साइवर अपराध, नेटवर्क गभर्नेन्सको अभ्यास, प्रशासनमा कार्यजनको विविधिकरण, निर्णय वातावरणमा आएको सारभूत परिवर्तन, ज्ञानी (नलेजेवल) सेवाग्राहीसँगको सहकार्य, सार्वजनिक प्रशासन, समावेशी बनाउन राखिएका प्रावधानहरूको मूल्यांकन, संघ, प्रदेश र स्थानीय तहमा रहि कार्य गर्ने निजामती कर्मचारीहरू बीचको अन्तरसम्बन्ध, गतिशीलता र सेवासुविधाको व्यवस्था तथा निर्वाचित जनप्रतिनिधिको क्षमता विकासका क्षेत्रजस्ता विषयहरू नेपालको सार्वजनिक प्रशासनका जल्दाबल्दा नमुना मुद्दाहरूको रूपमा रहेका छन् ।
नयाँ शासन व्यवस्था, नयाँ विश्व परिवेश र नयाँ विधि र प्रविधिले सरकारको कार्यक्षेत्र र प्रशासनको जिम्मेवारीमा समूल परिवर्तन ल्याएको छ । संविधान देशको मुल कानून हो । संविधानले अंगिकार गरेको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक उद्देश्य हासिल गर्नु सरकारको दायित्व र जिम्मेवारी हो । प्रजातान्त्रिक सरकारले जनताका अनगिन्ती अपेक्षा र आप्mनै घोषणापत्रको पुलिन्दा बोकेर हिँडेको हुन्छ । जनताका अपेक्षा र निर्वाचित राजनीतिक दलको भिजनलाई नीति, कार्यक्रम र सेवामा बदल्ने काम प्रशासनले मात्र गर्दछ । प्रशासन लामो अनुभव, दक्षता र सीप लिएर बसेको हुन्छ । सरकार र प्रशासनबीच अव्यक्त मानसिक मनोमालिन्य रहेसम्म निर्वाचित सरकार अप्ठेरोमा पर्छ । प्रशासनको मौन असहमति मात्रै पनि सरकारलाई महङ्गो पर्न जान्छ । यसकारण सार्वजनिक प्रशासनका कर्मचारीहरूलाई तर्साएर वा गाली गरेर वा उनीहरूको सेवासुबिधा खोसेर कुनै पनि सरकार सफल हुन सक्दैन ।
शासन व्यवस्था परिवर्तनसँगै देशको समग्र सार्वजनिक प्रशासन सञ्चालनको संयन्त्र संघीय निजामती सेवा ऐन अहिले तर्जुमाको चरणमा छ । नेपालमा शासन व्यवस्था परिवर्तन भयो तर सार्वजनिक प्रशासनको सवलीकरण गर्ने र निजामती कर्मचारीहरूको मन जित्ने काम हुन सकेन । निजामती प्रशासनको बृहत्तर सुधार छोडेर सरकार, कर्मचारी र विज्ञहरूबीच कर्मचारी समायोजन, डिभी, सेवा समूह, कलस्टर, पदोन्नति, अवकाश जस्ता मसिना विषयमा मात्र माथापच्ची भैरह्यो । संघीय निजामती सेवा ऐन तर्जुमाको सन्दर्भमा कोठे बैठकहरू बाहेक सार्वजनिक प्रशासनका मुद्दाहरू के के हुन्, प्रशासन सुधारको उद्देश्य के के हुने र प्रशासन सुधार कसरी गर्ने भन्ने विषयमा कहिल्यै सारभूत दहल फसल हुन सकेन । नेपालको प्रशासन सुधार सीमित व्यक्तिहरूको संलग्नता, सीमित व्यक्तिहरूको स्वार्थ र सीमित उद्देश्यका लागि हुँदै आयो । तर, यसप्रकारको प्रशासन सुधारले सरकारलाई कहिल्यै गन्तव्यमा पु¥याउन सकेन र सक्दैन पनि ।
कानून र मेरिटमा आधारित देशको प्रशासन संयन्त्रलाई सरकारको लहड वा दाउपेच वा स्वार्थमा तत्काल परिवर्तन गर्न संभव हँुदैन । संवैधानिक उद्देश्य र सरकारको लक्ष्य हासिल गर्न सरकार र प्रशासनको मन नमिलिकन सुख नै छैन । सरकार र प्रशासनको मन मिलाउने पाँच सकारात्मक तत्वहरूको विश्लेषण हुन आवश्यक हुन्छ । (१) सरकार र प्रशासनका एक आर्काको चासोका विषयमा एक आपसमा जानकार हुनुपर्छ, (२) सरकार र प्रशासनको स्वार्थ वा उद्देश्य देश विकास र जनकल्याणमा समानता हुनुपर्छ, (३) उद्देश्य प्राप्त गर्ने नीति, रणनीति र विधिमा समानता हुनुपर्छ, (४) मान्य नीति र विधिको कार्यान्वयनमा संयुक्त पहलकदमी हुनुपर्छ, र, (५) प्राप्त परिणामप्रति सरकार र प्रशासन दुबै समान उत्तरदायी हुने व्यवस्थामा सहमति हुनुपर्छ । यसप्रकारका सहमतिहरू नै सरकार र प्रशासनलाई एकाकार गराउने तत्वहरू हुन् ।
प्रशासन सुधारका लागि सरकार र प्रशासनले एक अर्कालाई राम्रोसँग चिन्नु पर्दछ । एक अर्काको उद्देश्य जान्नुपर्दछ । एकले अर्कालाई सहयोग गर्ने वातावरण बनाउनु पर्दछ । एक अर्काबीचको सुमधुर संबन्धले कार्य उत्पे्ररणा जगाउने काम गर्दछ । उत्प्रेरित सरकार उत्पे्ररित प्रशासनको स्वार्थ अर्थात संवैधानिक उद्देश्य प्राप्त गर्न सहमत भैसकेपछि सहमति गरिएको विधिबाट सवै प्रकारका कार्यक्रमहरू कार्यान्वयनमा सहजै जान्छन् । मान्य विधिको आधारमा नीति र कार्यक्रमको कार्यान्वयनबाट प्राप्त नतिजाप्रति सरकार र प्रशासन समान रूपमा उत्तरदायी हुने सहमतिले दुबैलाई जिम्मेवार भई कार्य सम्पादन गर्न तत्पर, सक्रिय र अनुशासित बनाउँछ । यसकारण संघीय निजामती सेवा ऐन तर्जुमा गर्दा सरकार र प्रशासनको मन मिल्ने वातावरण बनाउन र बृहत्तर, दूरगामी परिणाममुखी दृष्टिकोण राख्न आवश्यक छ । (पूर्व डीजी, सूचना विभाग)
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी