© २०२३
गोविन्द राज पोखरेल
शाह बंशीय राजाको उदयसँगै गोरखाका राजा द्रव्य शाह र यशोब्रह्मा शाहलाई यिनकी आमाले चेपे नदीमा आफ्नो दुध धोएर छोराहरूलाई राज्य बाँडेर शुरु भएको भागबण्डा अहिले पनि कुनै न कुनै प्रकारले बाँडिएकै छ । बाँडिएका बाइसे चौबिसे राज्यलाई शाह बंशीय राजाकै उत्तराधिकारी पृथ्बी नारायण शाहले एकीकरण गर्दा केही दिव्य उपदेश र नियम त बसाल्न खोजे तर उनको मृत्यु चाँडै भएका कारण त्यसपछिका उत्तराधिकारीहरूले राज्यलाई सुशासनको दृष्टिकोणले भन्दा आफूलाई शक्तिशाली बनाउने ध्येयले अगाडि बढेको देखिन्छ । शाह बंश मात्र होइन, मल्ल राजाहरू पनि राज्य बाँडेर शासन गरेका, ६ प्रधानहरूले शासन गरेको इतिहास हामीले पढेकै छौं । राज्य बिस्तारमा अगाडि बढेका शाहबंशीयहरू माथि जङ्गबहादुर प्रबेश गर्न पुगे । १७ भाइ राणामा बाँडेको राज्य एबिसी राणामा समेत बिभाजित हुन पुग्यो । यसरी राज्यको शक्ति र स्रोत बाँडिनु अहिलेकै मात्र हो भन्न पनि सकिँदैन परम्पराकै बिँडो थामिएको हो । राणा, राजाबाट शासन सत्ता हत्ताउन सहयोग गर्नु भनेकै यिनीहरूले देशको सबै स्रोत बाँडीचुँडी खाए भन्ने पनि थियो । आम नागरिकले त्यसैकाबिरुद्ध पटक–पटक साथ दिएका हुन् । आन्दोलनबाट आएका नेताहरूले राज्य सत्तालाई भागबण्डा गर्दैनन् भन्ने नै हो । २००७ सालको क्रान्ति जङ्गबहादुर नामका राणाहरूले मनोमानी गरेकाले त्यसलाई च्युत गर्न गरेका हुन् । लोकतन्त्रको अभ्यास र आबधिक निर्वाचन त्यसैका लागि बिकास गरिएको हो । राज्यका कानुनलाई एकाधिकार प्रयोग गर्न मिल्दैन भन्ने नै हो । राज्य सत्ताकाबिरुद्ध बोलेमा जिब्रो थुत्ने, चारपाटे मुड्ने, कोर्रा हान्ने, मृत्युदण्ड दिने, पर्चा खडा गरेर दण्ड गर्ने, लखेट्ने, शक्ति र स्रोत बाँडीचुँडी खाने गरेका हुन् । त्यस्तो नियति बिरुद्ध नै संघर्ष, युद्धहरू गरेका हुन् । संघर्ष र युद्धको नेतृत्व गर्नेहरूकासामु कानुनले भनेको मान्छु भन्दै २०४६ साल चैत २६ गते जनताका प्रतिनिधिसँग श्रीपेच लगाएका राजाले सम्झौता गरे । समानता र समाबेशिताको अधुरो सम्झौतामा सबैको चित्त बुझेन । सत्तामा बस्नेहरूले भागबण्डामै शासन सत्ता चलाए नागरिकहरूले आफूप्रति उत्तरदायित्व बहन नभएको महशुस मात्र गरे । फलतः राज्य सत्ताका बिरुद्ध उठेको बन्दुक २०६२÷०६३ मा जनआन्दोलन–२ को नामबाट बिर्सजन हुन पुग्यो । सत्तामा रहेका र आन्दोलन गरेकाहरूले संसद प्रबेश गर्न भागबण्डा गरे । ८३÷८३ सांसदको प्रतिनिधित्व त्यसैको उदाहरण थियो । तर पनि आन्दोलन र देश लुटी खानेहरूका बिरुद्ध ठीकै गर्लान् भन्ने सोंचकासाथ नागरिकहरू चुपै लागे । यिनैले नेतृत्व गरेका बिभिन्न पार्टीमा बिभाजन हुन पुगे । हरेक दिन केही न केही परिबर्तन हुन्छ भन्ने आशामा नै नागरिकहरू अलमलिए । २÷२ पटकको संबिधानसभाको निर्वाचनलाई सहज रूपमा स्वीकार गरे । तेरो पार्टी र मेरो पार्टीको नाममा टाउको फुटाइरहे तर पनि जनताले अनुभूत गरेको केही पाउन सकेनन् ।
कागजमा लेखिएको गणतन्त्र, संघीयता, समावेशीता आफू अनुकुल व्याख्या गर्दै लगे । राजा हटेको उद्घोष गरेका नेताहरू बर्तमान अबस्थामा श्रीपेच बिनाको राजा बनेको पत्तो पाएका छैनन् । राजाकै ठाँटबाटमा सवारी घन्काउँछन् । जिउनार गर्छन् । भागबिलो बाँडीरहेका छन् । समाबेशीताको जुन मर्म थियो नेता र नेता पत्नी वा आफन्तको लागि ठाउँ खाली गराउँछन् । सबै यिनैले बुझेका छन् अरूलाई कुनै पनि अबस्थामा बुद्धु सम्झन्छन् ।
लोकतन्त्रमा न्यायपालिका स्वतन्त्र मानिन्छ । शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गरिन्छ । तर न्यायपालिका पनि यिनीहरूले नै ठेक्कापट्टा गर्छन् । बोलपत्र आह्वान गर्छन् अनि आफै स्वीकृत गर्छन् । अन्यायमा परेकाले न्याय माग्दा लौरो देखाउँछन् । आँखा तर्छन् । केही गरी अटेर गरे कानुनलाई ओल्टयाङ पल्टयाङ पार्छन् आप्mनो लाइनमा मिलाउँछन् । देशको कार्यपालिका, न्यायपालिका र व्यबस्थापिका भाग बण्डामै खटन पटन छ । दक्ष, कुशल, इमानदार होइन चरित्रहिन र बेइमानहरूलाई नै पदासिन गराइरहेका छन् । जसले सुरक्षा दिनुपर्ने हो उसैले अपराध गरिरहन्छ । अनुसन्धान गर्नेले प्रमाण नष्ट गर्छ । नागरिकहरूले आवाज उठाए तिनै नागरिकमाथि निर्ममतापूर्वक दमन गरिन्छ । जसरी बढी बोल्नेको राणाजीहरूले जिब्रो थुत्थे, चारपाटे मुड्थे, पञ्चायती व्यबस्थामा पर्चा खडा गरेर कारवाही गर्थे । पैताला डढाउँथे । हातका औंलाहरूमा पीनले घोंच्थे । उनकै पक्षमा जी हजुरी गर्नुपथ्र्यो । खान पाइएन, लाउन पाइएन, स्वास्थ्य, शिक्षा, गास, बासको बारेमा आवाज उठाउँदा निर्ममतापूर्वक दमन गरिन्थ्यो । गाउँका सिधा साधाहरूले सुशासनको आशा राखे भरोसा गरे । तर पनि वीरवलको खिचडी पाक्ने आशा बाहेक अरू हुन सकेको छैन ।
लौ हेरम् त ! भागबण्डा कहाँ पुगेन ? राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, सांसद, प्रदेश, र स्थानीय तहसम्मै भागबण्डा चल्यो । हरेक निकाय र तहमा भागबण्डाकै सेरोफेरो घुमीरहेको छ । भागबण्डा शासन सत्तामा मात्र होइन पार्टीमा पनि चल्यो । नेकपा यसको उदाहरण हो । ४५÷५५ वा बिभिन्न नामले नामाकरण गरिएका यी भागबण्डा आमनागरिकको अनुकुल त छैन नै देशको अनुकुल पनि हुने कुरै छैन । भागबण्डा कतिसम्म पनि झाँगिएको छ भने व्यक्ति व्यक्तिको स्वार्थसँग जोडिएको छ । देशको परिस्थितिलाई उँभो लगाउने गरी होइन व्यक्ति उँभो लगाउने गरी अग्रसर छन् । केपीको, प्रचण्डको, देउवाको, माधव नेपालको, रामचन्द्रको, महन्तको, उपेन्द्रको, बिजय गच्छदारको, कृष्ण सिटौलाको नाममा भागबण्डा हुन्छ । यिनीहरूले आप्mनालाई मात्र योग्य देख्ने र अन्यलाई योग्यताबिहीन देख्ने परिपाटी छ ।
नारायणहिटीको श्रीपेच यिनी सबको टाउकोमा राखीदिने हो भने प्रत्येक गाउँटोल शहर बजार जताततै नै श्रीपेचधारी देखिने छन् । हामीले देख्ने महाराजाहरू, हात लम्काउने महाजनहरू, बैभवशाली बनाउने कुवेरहरू र त्यसका सुरक्षाकवचमा रहेका सण्ड मुसण्ड मात्र रहनेछन् यिनी बाहेक समाजमा अन्य पाउन सक्ने छैनौँ । आम नागरिकले खोजेको हाम्रा मान्छे होइन राम्रा मान्छे हो, बेइमान होइन इमान्दार हो, हरिलठ्ठक होइन बौद्धिक हो । तर यिनीहरूले रोज्ने थिंक टयांकहरू, सामाजिक अभियन्ताहरू र बौद्धिक व्यक्तित्वहरू यिनीहरूकै नातागोता अबश्य हुन सक्दैन ।
बर्तमान अबस्थामा सरकार प्रचण्ड बहुमतको छ । बहुमत भएकोमा सबैले स्वागत गरे । तर सरकारमा बस्नेहरू आम नागरिकलाई खिसीट्युरी गर्दैछन् । ३ महिनामा देखिने परिणाम, ६ महिनामा देखिने परिणाम, एक बर्षमा देखिने परिणाम भिन्न भिन्न हुन्छन् । दीर्घकालिन अबस्थामा देखिने परिणाम पनि फरक हुन सक्दछन् । परिणाम देखाउनको लागि मात्र पनि होइन अनुभुत गर्ने हो । सुशासन र समृद्धिको सोंच केवल आफु शक्तिशाली बन्ने कोणबाट अगाडि बढ्ने होइन आम नागरिकको जीवन रूपान्तरण गर्नको लागि हुने हो । देश हुने खानेको मात्र होइन हुँदा खानेको पनि हो । सत्तामा बस्नेको मात्र होइन, सत्ता बाहिर बस्नेको पनि हो । लुटेरा तस्करको मात्र होइन, गरिब र निमुखाको पनि हो ।
नीति र थिति बसाल्न यिनीहरूलाई पठाएको हो । गास बास कपासको ग्यारेण्टी होला भनेर चुनेको हो । दुःख र दरिद्रता हट्ला भनेर राज्य सुम्पेको हो । अहिले त हरेक गाउँमा मान्छे पनि बण्डासी गरेका छन् । भूगोल बण्डासी छ, स्वास्थ्य, शिक्षा, शिक्षक, वकिल, पत्रकार सबै भागबण्डामै अगाडि बढ्दै छ । यो बण्डासीको चलन कहिलेसम्म रहने हो ? संबिधानमा लेखिएको समाजवाद उन्मुखले यो अबस्थालाई नामेट गर्नेछैन, समावेशी र समानताको शब्द उल्लेख गर्दैमा संबिधानले त्यसको प्रत्याभूत गराउने छैन । चुच्चे नाक र थेप्चे नाक, पहाडे र मधिशे शब्दले यसको डोरोमेलो लाउने छैन । यदि उचित ठाउँमा उचित मान्छेलाई स्थान दियो भनेमात्रै राहत हुन सक्नेछ । अन्यथा भागबण्डामै रमाएकाले आप्mनो भाग खोसिएको अनुभूत नगरी अगाडि बढेमामात्र सर्बजन हिताय हुने हो । तर, सत्तामा जानेहरूको चरित्र देख्दा फेरि पनि यिनीहरू भागबण्डामा नै देश चलाउँदै छन् यो पीडा कहिलेसम्म सहनु पर्ने हो ? [email protected]