© २०२३
गोपाल प्रसाद बस्याल
लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) मा र मृत्यु १४ सेप्टेम्बर १९५९ (भाद्र १६, २०१६) मा भएको थियो । पण्डित तीलमाधव र अमर राज्य लक्ष्मी देवीका साहिँला पुत्र लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी पुजाका दिन जन्मिएका कारण लक्ष्मी अर्थात् धनको आगमनका रूपमा उनको नाम नै लक्ष्मी प्रसाद राखिदिए । राणा शासन चलिरहेको त्यस बेलाको नेपालमा दरबार स्कूलमात्र एउटा विद्यालय थियो । बडो मेहनतकासाथ त्यहाँ भर्ना भएका लक्ष्मी प्रसादले स्कूलदेखि नै कविता लेख्न शुरू गरेका हुन् । देवकोटाले कक्षामै कविता सुनाउँथे । केहि विद्यार्थीहरूले उनले बाबुका कविता वाचन गर्छन् भन्ने आरोप लगाउँदै उल्क्याउन लागेपछि कक्षाकोठामै बसेर १० मिनेटमा दरबार हाइ स्कूल नामक कविता रचना गरेर वाचन गरे । यस कवितामा विद्यार्थीका बानी ब्यवहार, शिक्षकका शिक्षण शैली र विद्यालयको चित्रण र समीक्षात्मक विश्लेषण थियो । यो कविता सुनेपछि भने विद्यालयका विद्यार्थीहरू र शिक्षकहरू देवकोटाको सिर्जनाशक्तिको प्रशंसा गर्न थालेको लक्ष्मी प्रसाद देवकोटाका सहपाठी चन्द्रबहादुर श्रेष्ठले लेख्नुभएको छ । लक्ष्मी प्रसाद देवकोटाका लागि कविता लेख्न पिता तिलमाधवको प्रत्यक्ष शिक्षण नभएपनि उनले पाएको सरस्वतीको वरदानलाई विद्वान तिलमाधवका प्रारम्भिक वातावरणीय सहयोगले पनि सहयोग पक्कै ग¥यो । रविन्द्रनाथ टैगोरका घरमा पुतलीहरू पनि दार्शनिक थिए भन्छन् रे बंगालीहरू । त्यस्तै लक्ष्मी प्रसादका बहिनी लोकप्रिया देवी, छोरा प्रा. डा. पद्म प्रसाद देवकोटा पनि काब्यकलाका धनि हुनुहुन्छ । देवकोटाले आफ्नो सिर्जनाशक्तिका बारेमा नकारात्मक टिप्पणी भारतमा पनि सुन्नुप¥यो र त्यहाँ पनि उनले आफ्नो क्षमता देखाइदिएका थिए । उनले भारतमा पढ्दासमेत कक्षाकोठामै कविता रचना गरेर वाचन गर्नुपरेको थियो । लक्ष्मी प्रसाद देवकोटाले पहिलो महाकाब्य शाकुन्तल तीन महिनामा लेखेका हुन् । उनलाई पुष्कर शमशेरले अर्को महाकाब्य एक महिनामा लेख्न चुनौती दिए । देवकोटाले यो चुनौती सहर्ष स्वीकारमात्र गरेनन्, १० दिनमा सुलोचना महाकाब्य लेखेर पाण्डुलिपी बुझाए । यी दुवै महाकाब्यहरू नेपाली साहित्यका महत्वपूर्ण अमर कृतिहरू हुन् ।
त्रिचन्द्र कलेजबाट आइएस्सी गरेका देवकोटाले अंग्रेजीमा स्नातक र पटनाबाट बिएल उत्तीर्ण गरेका हुन् । तीस वर्षे उमेरताका दुई वर्षभित्र देवकोटालाई पितृशोक, मातृशोक र दुई महिनाको छोरीसमेतको मृत्यु भएको थियो । देवकोटाका जीवनमा दुःख वेदनाका धेरै अनुभूति भए, तथापि उनीमा बौद्धिक र सौन्दर्य क्षमताले भरिएको थियो । उनी पठित विद्वान त हुन् नै । उनले अंग्रेजी साहित्यका शेक्सपियरका कृति पढे र एज यु लाइक इटलाई नेपाली भाषामा अनुवादसमेत गरेका थिए । त्यसैगरी उनी बिस्तारै लर्ड बायरन, रबर्ट ब्राउनिङ्गका रचना अध्ययनबाट रोमान्टिक साहित्य आन्दोलनको प्रशंसक बने । देवकोटाले अंग्रेजी कवितालाई नेपाली र नेपाली कवितालाई अंग्रेजीमा रूपान्तरण गरे । त्यसभन्दा माथि उनले अंग्रेजी भाषा र नेपाली भाषामा एउटै आदर्शसारमा कविता लेखे । उदाहरणका लागि ‘पागल’ नेपालीमा र ‘दि ल्यून्याटिकÒ’ अंग्रेजी भाषामा लेखेका छन् । उनले आफूले लेखेका कविताहरूलाई आफैले अंग्रेजी भाषामा अनुवादसमेत गरेका छन् । उनी भाषा अनुवाद परिषदको जागिरे पनि थिए । उनी निकै मेहनत गरेर लेख्ने र ट्युशन पढाउने गर्दथे ।
देवकोटाले भाषिक स्वतन्त्रता र दूरदृष्टियुक्त सारसहित रचना गर्दथे । उनले भावनाको मूर्त अभिब्यक्तिका लागि शब्द निर्माणसमेत गरेका छन् । देवकोटाले वनारसमा बसेर युगवाणि पत्रिकाको सम्पादन गरे । उनले पहाडी पुकार कृति प्रकाशन गरी नेपाली समाजमा ब्याप्त गरिबीको चित्रण गरेका थिए । राणाहरूले यो पुस्तक बिक्रीमा प्रतिबन्ध लगाएका थिए । वि.सं. २००७ मा राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्याससँगै देवकोटा नेपालमै आए र इण्द्रेणी द्वैभाषिक पत्रिकाको सम्पादनमा लागे । उनी लक्ष्मीपुजाका दिन जन्मिएका र उनको नाम नै लक्ष्मी प्रसाद राखिएको भए तापनि उनको जीवनमा धनको सँधै अभाव भयो भनिन्छ । त्यसो त उनी धन सम्पत्तिको प्रवाह गर्दैनथे । भनिन्छ जाडो समयमा एकजना भिखारी सडकमा लुगलुग काँपिरहेको देखेपछि देवकोटाले आफूले लगाएको कोट फुकालेर लगाइदिएका थिए । उनले आफूले बुझेको तलबसमेत दीन दुःखीहरूलाई बाँडिदिन्थे ।
देवकोटामा राजनैतिक चेत थियो । सामाजिक जागरणका लागि पुस्तकालय स्थापनाको प्रयासका एक सदस्य देवकोटा भिम शमशेर राणाबाट दण्डित भएका थिए । निरंकुश राणा शासनमा उनी भारतमा निर्बासित थिए । राणा शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयपश्चात् उनी २०१३ मा शिक्षा मन्त्रीसमेत भएका थिए । दुर्भाग्य उनलाई क्यान्सर भयो । उपचारका लागि आवश्यक रकम समेत थिएन । राजालाई नसोधिकन सोभियत संघमा भएको साहित्यिक सम्मेलनमा सहभागी भएको आरोपमा प्रज्ञा प्रतिष्ठानले उनको तलबसमेत रोकिदिएको थियो । पत्रपत्रिकामा ब्यापक दबाबपछि राजा महेन्द्रले रू ५००० सहयोग गरेका थिए भनिन्छ । देवकोटाको अन्तिम दिनहरू उनकालागि असाध्यै पीडादायी थिए भनिन्छ । शान्तभवन अस्पतालमा उनले आफ्नै मृत्युको समय आएको आभास गरेका र भनेका थिएः मेरासामु मृत्यु उभिएको छ । म आकाशमा तारापुञ्ज खोजिरहेछु तर कुनै भेटेको छैन । मैले स्वयम्लाई शान्ति दिन सकेको छैन । यदि म उठ्न सक्ने भए म आफैलाई र मेरा सन्ततिको हत्या गर्ने थिएँ । देवकोटाले नेपाली साहित्यलाई यति धेरै गुन लगाएर पनि अझ धेरै गर्न बाँकी रहेको भन्ने महानता प्रकट गरेका हुन् यहाँ । उनले भनेका छन् मुनामदन बाहेक अरू सबै कृतिहरू नष्ट भए पनि फरक पर्दैन । अर्थात् उनकाअनुसार मुनामदन नै उनको सर्बोत्कृष्ट कृति हो । झ्याउरे भाषामा लेखिएको मुनामदनमा गरीवीबाट पार पाउन रोजगारीकालागि भोट पुगेका मदनको पीडा र उनकि श्रीमति मुनाबीचको प्रेम वास्तवमै नेपाली साहित्यको अद्वितीय कृति हो । उनका समकालीन श्यामदासका अनुसार उनी आफ्नो देहको प्रवाह नगरी महिनौं कोठामा थुनिएर लेखिरहन्थे । रचनाले समाजमा जागरण ल्याउनुपर्छ भन्ने उदारवादी सोंच भएका देवकोटाको बौद्धिक क्षमताबारे तत्कालीन सरकारले कुनै सहयोग गरेको थिएन ।
लक्ष्मी प्रसाद देवकोटा नेपालमा जन्मनु भौगोलिक त्रुटि थियो भन्ने मत राख्नेहरू धेरै छन् । अंग्रेजी रोमान्टिक साहित्य र भारतीय पन्त, प्रसाद र निरालाका योगदान बराबरको साहित्यिक योगदान गरेका लक्ष्मी प्रसाद देवकोटाले विश्व साहित्यमा देखिने विविध वादहरूमध्ये कुनैपनि वाद छुटाएर सिर्जना गरेको देखिँदैन । मानवतावाद, स्वच्छन्दतावाद, प्रकृतिवाद, रोमान्टिक, प्रगतिवाद, नास्तिक, ईश्वरवाद, यथार्थवाद, शुन्यवाद, माक्र्सवाद, प्रजातन्त्रवाद, राष्ट्रवाद, उत्तरआधुनिकतावाद आदि सबै वादको चुरो उनका कृतिमा पाइन्छ । मानिस ठूलो दिलले हुन्छ जातले हुदैन मुनामदनमा उनले जातीय भेदभावलाई चिर्दै मानवमानवबीचको समानता ल्याउने आधार भनेकै मानिसका भावना र ब्यवहारले हो भनेका छन् । यात्री कवितामा ईश्वरभक्ति भनेको दुःखीहरूको सेवा गर्नु हो र त्यस्ता निर्धाहरूको सेवाकालागि आव्हान गर्दछन् । पागल कवितामा समाजले कविलाई हेर्ने दृष्टिकोणप्रति गरेको ब्यंग्यवाण कुनैपनि ब्यंग्यकारिता र विनिर्माणवादीताको अभिब्यक्तिले माथ गर्न सक्दैन । मुनामदनको झ्याउरे शैली लोकसाहित्यको गुरू कृति हो । यो एउटै कृतिमा गरीवीको पीडाको गहिराइ कुनै माक्र्सवादीले मापन गर्न सक्दैन भने मुना र मदन बीचको प्रेम अंग्रेजी साहित्यका शेक्सपियरका रोमियो र जुलियटकोभन्दा कम छैन । नेपाली साहित्यको सदाबहार बेस्टसेलर मुनामदन जुनसुकै साक्षर नेपालीले पढेकै हुन्छ । शाकुन्तल महाकाब्यमा दुष्यान्तले शकुन्तलालाई चिन्न नसकेको र शकुन्तलाको पुनः वन प्रस्थानका समय सबै पाठकलाई राजा दुष्यान्तले शकुन्तलालाई चिनुन् र श्रीमतिका रूपमा स्वीकार गरून् भन्ने कामना गर्दछन् । काब्यमा राजा दुष्यान्त र शकुन्तलाको पुनःमिलन र सुखान्त अनुभूति एकप्रकारको आत्मिक सन्तुष्टि प्राप्त हुने आधार बन्दछ । संस्कृत भाषा र शैलीको बलीयो संगम भएको शाकुन्तल महाकाब्य देवकोटाको एउटा मुख्य कृति हो । दश दिनमै लेखिएको सुलोचना महाकाब्य देवकोटाको औपन्यासिक महाकाब्य हो । यो कृति जीवन दर्शन र सौन्दर्यको पर्याय बनेको छ । उनले कुञ्जिनी काब्य एकैदिनमा लेखेका थिए । वन, किसान, बादल जस्ता कविताका माध्यमबाट उनले मानव र प्रकृतिको सम्बन्ध र महŒवलाई देखाएका छन् । विश्व एक घर भनी विश्वब्यापीकरणको दूरदृष्टि प्रस्तुत गरेका छन् । उनी अंग्रेजी रोमान्टिक कवि शेलीका रचना मन पराउँथे । उनले शेलीको प्रमिथल अन्बाउण्डको अनुवाद गरेका छन् । उनको निबन्ध के नेपाल सानो छ ? मा राष्ट्रवादको उत्कृष्ट परिचय छ । वास्तवमा रचनामा विधागत, स्वरूपगत र सारगत विविधताका धनी देवकोटालाई कुनै साहित्यिक वा दार्शनिक धारमा सिमित गर्नु उनको अवमूल्यन गरेको ठहर्छ । देवकोटा महाकाब्यका रचयीताका नाताले भन्दा पनि नेपाली साहित्यमा पु¥याएको योगदानका आधारमा महाकवि हुन् । महाकविको पदवी सार्थक छ ।
घनघोर दुःख सागर संसार जान भाइ, नगरे घमण्ड कहिलै मर्नु छ हामीलाई । यहि थियो देवकोटाको पहिलो कविता । कवि शिरोमणि लेखनाथ पौड्यालले फलेको बृक्षको हाँगो ननुगेको कहाँ छ र ? भनेका छन् । देवकोटामा यो चेत थियो । उनले खेप्नुपरेको अभाव, अपमान, समाजमा ब्याप्त अमानवीय चरित्रहरूलाई आफ्ना शब्द सिल्पले प्रहार गरे तर घमण्ड कहिल्यै गरेनन् । मृत्यु शैयामा पुग्दा पनि उनमा यो उदार विचार ब्याप्त थियो । मानव जीवनको समीक्षा गर्दै भनेका छन् रहेछ सारा निशा समान, आएन ज्यूँदै नि ज्ञान, आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक ।। यो श्लोकमार्फत ज्ञान र विवेक आर्जन गर्नमा नै जीवन समर्पण गर्नु नै भगवान भक्ति हो भन्ने भावसहित सबैलाई आग्रह गरेका छन् महाकविले । यो कालजयी परामर्श सबैकालागि आज पनि सान्दर्भिक छ ।à