© २०२३
गोपाल प्रसाद बस्याल
आमा भन्नासाथ दश महिनासम्म गर्भमा राखेर, जीवन मरणको प्रसव पीडा सहेर जन्म दिने, आफ्नै गुन्युमा पिसाब फेर्दा होस् वा डाइपर फेरिदिँदा हाँसिरहने, धुँवाधूलो सहेर खाना तयार गर्ने, को खाइ को खाइ गर्दै खाना खुवाउने, फोहर कपडा धोइदिएर सुन्दर पार्ने, झोला टिफिन तयार गरी जुत्ताको तुना बाँधिदिने र डो¥याउँदै स्कूल गेट पु¥याउने, आफू भोकै रहेर छोराछोरीलाई खुवाउने, माया ममताकि खानीका रूपमा तस्वीर सिर्जना हुन्छ । अचेल आमाको यस्तो ब्याख्या गर्दा झर्को लाग्न पनि सक्दछ । तर, आमाहरूले भगवानको सुन्दर सृष्टिको सञ्चालनमा मुख्य भूमिका खेलेका छन् भन्ने मान्नुपर्छ । मलाई एउटा बालककि परी शिर्षकको कथा संझना भयो । जब भगवानले एउटा बालकको सृष्टि गरी पृथ्वीमा पठाउने निश्चय गर्नुभयो बालकले जिज्ञासा राख्यो । उ स्वर्गमा खूशी थियो । उसलाई त्यहाँ भगवानको संरक्षण थियो । पृथ्वीमा मानिसहरू खराव हुन्छन् । उसलाई कसले संरक्षण गर्छ ? उसलाई भगवानसँग कुरा गर्न कसले सिकाउला ? आदि प्रश्नहरू सोध्यो । भगवानले त्यहाँ उसका लागि एउटा परी पठाइदिएको र तिनै परीले उसको सहयोग गर्ने बताउनुभयो । आखिर ती परी को हुन् त ? बालकको अन्तिम प्रश्न थियो । भगवानले भन्नुभयो ती परी तिम्री आमा हुन् । अर्थात् आमा बालकलाई खूशी पार्ने, बालकको सहयोग र संरक्षण गर्ने, बालकलाई बोलिब्यवहार सिकाउने लगायत कार्य गरी भगवानले बालकलाई स्वर्गमा दिने आनन्ददायी वातावरण दिने भगवानको दूतका रूपमा आमाको सिर्जना गरिएको हो । त्यसो त वनको राजा सिंहको शासनमा समेत बच्चालाई बचाउन आमा भाले सिंहसँग लड्छे वा बच्चाहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्छे । यो प्राकृतिक नियम हो कि बालकको पहिलो सुरक्षाकर्मी आमा नै हुन् । बच्चा जन्मेको छ महिनासम्म सम्पूर्ण आहार हुने आमाको दुधको ठूलो महत्व छ । आमाको दुध शिशुका लागि पोषिलो, रोग प्रतिरोधक र शारीरिक बृद्धि तथा मानसिक विकासका लागि अति आवश्यक हुन्छ । यसप्रकारका महत्वपूर्ण योगदानका बारेमा आमाहरूलाई कृतज्ञतास्वरूप आमा शिक्षाको आवश्यकता छ ।
आमा बालबालिकाको सुसारे मात्र होइनन्, पहिलो शिक्षक हो । प्राकृतिक सामिप्यताका कारण बच्चाको पहिलो गुरू आमा हो । त्यसो त बच्चाले गर्भावस्थामा नै पनि आमाका माध्यमबाट शारीरिक, मानसिक साथै मनोसामाजिक प्रबृत्तिहरू सिकिरहेको हुन्छ भनी विज्ञानले समेत भनेको छ । मानिसको ब्यवहार भनेको वंशाणुगत र वातावरणीय प्रभावको नतिजा हो । यस क्रममा जैविक वंशाणुगत हिसाबले आमा र बाबु दुवैको भूमिका बराबर होला वातावरणीय हिसाबले आमाको महत्व तुलनात्मक हिसाबले बढी र महत्वपूर्ण हुन्छ । गर्भाधानपछि भ्रुणको सुरक्षा र विकासका लागि आवश्यक खाना र पारिवारिक वातावरण निर्माण, जन्मपछि आमाको दुध, छ महिनापछि आमाको दुधका साथै अन्य खानेकुरा, हात समाएर तातेताते देखि असल बानी ब्यहोरा, असल बोलिचाली, असल चरित्र, असल कार्य, परम्परागत सिपको विकास, परीवार र समाजमा स्थापित संस्कारजन्य सिपहरू आदिको विकास गर्नमा आमाको प्रत्यक्ष भूमिका हुन्छ । आमा शिक्षक हुन् । आमा मेन्टर हुन् । आमा कोच हुन् । संसारमा औपचारिक शिक्षाको विकास पूर्व मानिसहरू आमाबाट नै शिक्षित हुने गरेका थिए । आज धेरै विश्वविद्यालय खुले पनि आमाबाट प्राप्त शिक्षा नै जीवनयापनको बलीयो आधार हो । आमाले हात समाएर धेरैपटक जोड लगाएर सिकाएका सिपहरू साथै आमाबाट अदृश्य वा अब्यक्त रूपमा सिकिने ब्यवहारहरू धेरै छन् । बालकले आफूबाट सबैभन्दा नजीकको पात्र र अनुभवजन्य परिवेशबाट पहिलो र दिगो सिकाइ गर्ने भएकाले आमाले आफ्नो महत्व बुझेको हुनुपर्छ । सन्तानको भविष्यबारे दिशानिर्देश गर्ने कार्य आमाबाट नै हुने भएकाले आमाबाट प्राप्त हुने बाल्यकालको वातावरणले बालबालिकाको भविष्य निर्धारण गर्ने भएकाले आमाहरू सन्तानको भविष्यका खातिर बढी जिम्मेवार, सिपयुक्त र संवेदनशील हुनु आवश्यक छ । तसर्थ परिवर्तित समाज, सभ्यता र विज्ञानप्रविधिका सन्दर्भमा उपयुक्त सिकाइ ब्यवहारका सन्दर्भमा आमाहरूमाझ सचेतना बृद्धि गर्न समेत आमा शिक्षाको आवश्यकता छ ।
आफ्ना छोराछोरीको शैक्षिक उपलब्धी र सुन्दर भविष्यको सुनिश्चितताका लागि हरेक बाबुआमाको चिन्ता हुन्छ । सानो उमेरदेखि असाध्य नजीक रहेर बच्चा हुर्काउने आमा विशेष गरी बढी जिम्मेवार ठानिनुहुन्छ । बालकलाई समयमा खाना तयार गर्ने, कापीकिताब ठीक पारिदिने, खाजा तथा टिफिनको ब्यवस्था गर्ने, विद्यालय ठीकठीक समयमा जाने आउने, बैयक्तिक स्वास्थ्य, सामाजिक सम्बन्ध, सभ्यता र आचरण जस्ता असल बानीको विकासमा सँधै प्रशिक्षित गर्ने आमा एउटा स्वयम्सेवी गुरू हुन् । सन्तानको स्वस्थ बृद्धि र विकासका लागि आवश्यक पोषणयुक्त खानाको ब्यवस्थापनमा आमालाई थाहा हुनु आवश्यक छ । सामान्य विरामीबाट जटील परिणाम निस्कने भएकाले उपचारभन्दा पनि रोकथामका उपायहरू आमालाई थाहा हुनुपर्छ । त्यसो त गर्मीमा शीतल र जाडोमा न्यानो महसूस हुने आमाको काख र स्पर्श स्वयम् एउटा उपचार पद्धति हो । यसैगरी भाषा सिकाउने पहिलो गुरू नै आमा भएकाले हामीले परीवारमा सिक्ने भाषालाई मातृभाषाका नामले चिनिन्छ । भाषिक शिष्टता, मिठास र शैलीको सिकाइ आमाबाट हुन्छ । आमाले बच्चालाई गर्ने भाषिक कोचिङ्गबाट बच्चाले आदरार्थी वा खस्रो भाषा छनौट गर्दछ । खाने कसरी, लगाउने कसरी, बोल्ने कसरी आदि ब्यवहारको सिकाइ आमाबाट सरल तरिकाले हुन्छ । यतिमात्र होइन बालबालिका विद्यालय जाने उमेरमा उनीहरूको शैक्षिक क्रियाकलाप र प्रगतिको अनुगमन गर्न निरक्षर आमाको समेत भूमिका रहन्छ । उदाहरणका लागि छोराछोरी विद्यालय नियमित समयमा जानेआउने, गृहककार्य गर्ने, पाठ पढ्ने, गृहकार्यमा ठीक चिन्ह पाउने, परीक्षामा नतीजा राम्रो ल्याउने, विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागी हुने, विद्यालयबाट विभिन्न कार्यका लागि छनोट हुने, पुरस्कृत हुने गरेका हुनुपर्छ । यी ब्यवहार जान्नका लागि केहि पढ्नु पर्दैन ।
बालबालिकाको पढाइको बारेमा बालबालिका र उनीहरूका शिक्षकहरूसँग सोध्ने र जानकारी लिने गरेमात्र पुग्छ । विद्यालयले बोलाएका बखत उपस्थित हुने र चासो राख्ने हो भने शिक्षकहरू समेत बालबालिकाप्रति अझ बढी जिम्मेवार बन्ने छन् । त्यसैगरी छोराछोरीले बाबुसँगभन्दा आमासँग आफ्ना समस्या, रहर र आवश्यकता खुलेर भन्न सक्छन् । तुलनात्मक रूपमा छोराछोरीले आफ्नो माग आमासँग राख्न सजीलो मान्दछन् । यो सौभाग्य आमाको बच्चा प्रतिको नरम ब्यवहारले गर्दा प्राप्त भएको हो । बाबुहरू आमाहरूभन्दा कठोर नै हुन्छन् । यस्ले नकारात्मक प्रभाव पर्दछ । त्यस्तै खासगरी छोरीहरूमा हुने शारीरिक तथा भावनात्मक संवेगात्मक विकासका बारेमा आमासँग कुरा गर्न सजीलो मान्दछन् । उमेर अवस्थाअनुसारका परिवर्तनका बारेमा बालबालिका जानकार हुनु आवश्यक छ । यस्का लागि समेत आमाहरू बढी भूमिका खेल्दछन् । तसर्थ बालबालिकाको बृद्धि विकास, शिक्षादिक्षा, बानी ब्यहोरा, सिप तथा सभ्यताको विकासमा महत्वपूर्ण र नजीकको सहयोगीका नाताले खेल्नुपर्ने भूमिकाका बारेमा सबै आमाहरू जानकार हुनु आवश्यक छ । परम्परागत सुसारे भूमिकामा सिमित हुँदा परिवर्तित परिवेशमा सफलतापूर्वक बाँच्ने आधार निर्माण भएन भने भविष्यमा आफ्नै सन्तानको गाली खानुपर्ने भएकाले पनि आमा शिक्षा आजको आवश्यकता भएको छ । अझ अचेल धेरै बाबुहरू रोजगारीको खोजीमा विदेशिने भएकाले आमा नै बालबालिकाको अभिभावकीय भूमिकामा हुने हुनाले आमाको महत्व झन् बढी छ ।आमा एक्लैले आमा र बाबुको भूमिका खेल्नुपर्ने भएको छ । तसर्थ आमाले आफ्ना सन्तानको असल बृद्धि विकास गरी सुन्दर भविष्य निर्माणमा योगदान गर्ने सिपहरूको निर्माण गर्न पनि आमा शिक्षाको आवश्यकता छ । आमा स्वयम् सक्षम बनी छोराछोरीलाई सक्षम बनाउन लाग्नुपर्ने भएको छ ।à